काठमाडौं : बिहीवार बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकले नक्कली भूटानी शरणार्थी प्रकरणका बारेमा दोषीलाई उम्कन नदिने र निर्दोष पर्न हुँदैन भन्ने निष्कर्ष निकालेको छ।
पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकमा नक्कली भूटानी शरणार्थी प्रकरणका दोषीलाई छाडन नहुने, पार्टी केन्द्रीय समिति र नीति अधिवेशनको तयारी तथा भ्रातृ र शुभेच्छुक संस्थाका विषयमा छलफल भएको थियो। कांग्रेस नेता बालकृष्ण खाण यही मुद्दामा पक्राउ परेपछि कांग्रेस छलफलमा जुटेको हो। बैठकमा खाणलाई निलम्बन गर्नुपर्ने माग उठे पनि त्यसमा सहमति जुटेन।
‘बैठकमा नेता बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने विषय कुरा उठेको थियो। तर कुनै निर्णय भएको छैन,’ बैठक बारेमा जानकारी दिँदै सहमहामन्त्री जीवन परियारले भने, ‘छानबिन प्रक्रिया जारी छ, अनुसन्धान नसकिएको हुनाले अहिले नै निष्कर्षमा पुग्नु उचित हुँदैन।’
पदाधिकारी बैठकमा कोशी प्रदेशमा केन्द्रमा रहेको सत्तारूढ गठबन्धनअनुसारको सरकार नभएको बारे गम्भीर छलफल भएको र राष्ट्रपति कार्यालयमा रहेको नागरिकता विधेयकका विषयमा पनि बैठकमा छलफल भएको उनले बताए।