PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

गाउँमा पाहुना नअटाएपछि २५ करोड लगानीमा घान्द्रुक कल्चर रिसोर्ट



रिना थापा

गाउँमा पाहुना नअटाएपछि २५ करोड लगानीमा घान्द्रुक कल्चर रिसोर्ट

पोखरा : प्रकृतिमा रमाउन चाहानेका लागि प्रवेशद्वार हो घान्द्रुक । अन्नपूर्ण र पुनहिल उक्लिने बाटो यतै। घलेक र आफनो मौलिक गुरुङ पोशाकमा ठाँटिने गाउँलेको पहिरनले थप सुन्दरता थपिदिन्छ यहाँ। यहीँ सुन्दरतामा लालायित छन् पर्यटक पनि। विशेषगरि आन्तिरक पर्यटक।

पर्यटनले धानेको गाउँमा पर्यटकको चाप बाक्लै हुन्छ। शहरको कोलाहाल बिर्सिन बिदाका दिन पोखरा र आसपासबाट उक्लिने पर्यटक बेसी हुन्छन्। यसबाहेक गुरुङ संस्कृतिमा रमाउन चाहेका पाहुनाले गाउँ भरिभराऊ हुन्छ।

बिदाको दिन गाउँमा पर्यटकको चाप थेग्न गाह्रो पर्छ। ढुंगैढुंगा बिछ्याएर बनाएको परम्परागत घरमा पाहुना अटाउन मुश्किल हुन्छ। त्यसैले पछिल्लो समय गाउँमा कंक्रिटका संरचना ठडिँदै छन्। भलै,यसले गाउँको परम्परागत घरलाई छोप्दै गएको छ।

कंक्रिटका संरचनामा थपिएको छ कुलप्रसाद गुरुङको संस्कृति जोगाउन बनेको घान्द्रुक कल्चर रिर्सोट। घुमाउने घर। घर छेउमा संग्राहलय। जहाँ छन् ढिकी, जाँतो, कसौँडी, आरी र ताउलो।

पर्यटक बढेसँगै नयाँ संरचना थपिदै गए। थपिएका संरचनाले गाउँको संस्कृति मेट्दै लगे। जसलाई समेटेर रिर्सोट बनाएका छन् कुलप्रसादले।

‘घान्द्रुकमा नेपाली पर्यटकहरु अनौठो आउँछ। पर्यटक आयो मात्र। घान्द्रुक आएर मान्छेलाई इन्जोय गर्ने ठाउँ भएन। संस्कृति हराउने डर भयो। यहाँ भएको सबै कल्चर देखाउने विचार छ,’उनले भने।

गाउँलेले बिर्सदै गएको संस्कृति जीवन्त राख्न कुलप्रसादले १७ करोड लगानी लगाई सकेका छन्। २५ करोड अनुमानित लगानीमा बन्न लागेको रिसोर्टको ८५ प्रतिशत काम सकिइसकेको छ।

पर्यटक बढेसँगै घान्द्रुकमा सभाहलको खाँचो थियो। जसलाई पूरा गर्न सेमिनार हल पनि बनेको छ रिर्सोटमा। २५० जना अटाउने हलको स्तरोन्नति गर्दै ४ सयजना अटाउने बनाउने तयारी छ उनको।

दुईसय बढी संख्यामा पर्यटक अटाउने रिसोर्ट सञ्चालनमा ल्याए पनि विद्यार्थी र अन्य पर्यटक होमस्टेकै प्याकेजमा बास बस्न पाउँछन्। घान्द्रुकको अन्य होटलमा पर्यटक भरिभराउ भए उनको होटलमा बस्ने सुविधा पाउने छन् पर्यटकले।

‘सक्नेले रिसोर्टको सुविधा पनि पायो। विद्यार्थी आयो भने होमस्टेको प्याकेटमा बस्न पायो। बिहान एक टाइम कल्चर कार्यक्रम देखाएपछि घान्द्रुकको अन्य होटलमा बस्ने पर्यटक हेर्ने आए भनेपनि राम्रो हुन्छ,’ उनले भने।

घान्द्रुक पुग्नले गुरुङ संस्कृतिको मज्जा लिन खासै पाउँदैनन् आजभोलि। त्यसैले प्रत्येक दिन सभाहलमा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने तयारी छ उनको। कृष्ण चरित्र लगायत बिर्सिदै गएका संस्कृति देखाउने भएका छन् कुलप्रसादले।

‘कृष्णचरित्र अरुको भन्दा यहाँको फरक छ। यहाँ देखाउनको लागि युवाहरुलाई सिकाउँदै छु। आफनो संस्कृति युवाहरुलाई सिकाए संरक्षण हुन्छ। पर्यटक हेर्ने र भुल्ने भइहाले,’ उनले भने।

घान्द्रुकमा पर्यटक बढे पनि यहाँ पुग्न कच्ची बाटो सकस बनेको छ उनीहरुका लागि। अन्नपूर्ण पदमार्गमा पर्ने भएकाले सुरुवातमा घान्द्रुकमा सडक सञ्जाल जोड्दा निकै समस्या भोग्नुपर्‍यो। सडक सञ्जाल जोडे पर्यटकको बहाव कम हुने आशंका थियो गाउँका बासिन्दालाई। तर, त्यसको ठिक विपरीत बन्यो। आन्तिरक पर्यटकको बहाव सडक सञ्जालले बढायो। घान्द्रुकमा बाटो लैजाने कसरत उनै कुलप्रसादको थियो। त्यतिबेला अमेरिकामा रहेका उनले गाउँमा बाटो पुर्याउन व्यक्तिगत तीन करोड सहयोग गरेका थिए। अहिले नेपाल फर्किएपछि सडकको स्तरोन्नितमा उनै लागेका छन्।

पर्यटकको आगमन भए पनि पाहुनाको सत्कारमा कमी नबनाउने सोचमा छन् उनी। आएका पर्यटकलाई हिमालको आनन्द बाहेक अरुमा पनि भुलाउन चाहान्छन् उनी। जसले गर्दा पर्यटकको बसाइँ घान्द्रुकमा एकदिन बढी भए पनि लम्बिओस्। ठाडो भाका, कृष्ण चरित्र देखाएर पर्यटकलाई भुलाउन चाहान्छन् उनी। साथै हराइसकेको गाउँको अर्गानिक स्वादपनि फर्काउन खोज्दै छन् उनी।

‘पर्यटक आयो। हिमाल हेर्‍यो सिद्दियो। विस्तारै अर्गानिक खाना पनि खुवाउने। अरु होटलहरुलाई असर नपर्ने गरि व्यवसाय चलाउने। घान्द्रुकको ठाडो भाका कृष्णचरित्र देखाउने अरुको भन्दा यहाँको फरक छ। संस्कृति संरक्षण गर्ने,’ उनले भने।

गाउँमा पाहुना नअटाएपछि रिर्सोट सञ्चालनमा ल्याएका कुलप्रसाद आफै पनि हराउँदै गएको ढुंगे घरबारे चिन्तित छन्। त्यसमाथि आजभोलि गाउँमा युवा छैन। सक्ने विदेश जान्छ कोही पोखरा झर्छन। संस्कृति हस्तान्तरण गर्नका लागि युवा छैन गाउँमा। रिर्सोटमा गाउँकै युवालाई रोजगारी दिएका छन्। रोजगारी दिएका युवालाई आफनो संस्कृति पनि सिकाउँदै छन् उनी।

‘सांस्कृति कार्यक्रम गर्नका लागि कलाकार गाउँको युवा राखेको छु। सञ्चालनमा आएपछि उनीहरुलाई पनि रोजगारी हुन्छ। यो बाहेक रिर्सोटमा रोजगार सबै गाउँको भाइबहिनीहरुलाई दिँदै छु। सकेसम्म गाउँकै मान्छे राखे रोजगारी पाउँछन्,’ उनले भने।

गाउँमा अवसरसँगै विकास भित्रिए युवाहरु गाउँ फर्किनेमा आशावादी छन् उनी।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell