काठमाडौं : रातोपुलस्थित ओजस थिएटर (शैली थिएटर) मा अहिले ‘मृत्यु कुण्ड’ मञ्चन भइरहेको छ। वैशाख २० गतेबाट मञ्चन भइरहेको सो नाटकमा आफ्नो सपना मारेर विदेश जाने युवाको कथा समेटिएको छ। रविन दोङको लेखन र निर्देशन रहेको नाटकले वर्तमान नेपाली समाजको वास्तविकता उजागर गर्ने प्रयास गरेको छ।।
काठमाडौंबाट ‘टेकअफ’ हुन लागेको हवाइजहाजसँगै सुरु हुन्छ ‘मृत्यु कुण्ड’ को कथा। एयरहोस्टेसले जहाजका नियमहरु उद्घोष गरेसँगै विमानले उडान भर्न थाल्छ। विमानमा भएका नेपाली युवाहरु कोही कतार जाँदैछन् त कोही मलेसिया र दुबई। अनि कोही पढाईकै सिलसिलामा अष्ट्रेलिया। यसरी विदेशिनु पछाडि सबै युवाका आ-आफ्नै कारण र बाध्यता छन्।
विमानमा यात्रा गरिरहँदा ती युवाहरु ‘फ्ल्यासब्याक’मा जान्छन्। नेपालमा बाँचेको जीवन, साँस्कृतिक तथा सामाजिक परिवेशलाई नाटकमा देखाइएको छ। र, विदेश जान बाध्य भएसँगै दृश्यसँगै उनीहरु वर्तमानमा फर्किन्छन्। एउटै मञ्चमा दुई कालखण्डको कथा देखाएका छन् निर्देशक दोङले।
नाटकले नेपालको राजनीतिक प्रणालीमाथि पनि तिखो प्रहार गरेको छ। सरकारले स्वदेशमै रोजगारी दिन नसकेको, जागिर खान पनि आफ्नै मान्छे हुनुपर्ने समस्यालाई नाटकमा देखाइएको छ। त्यस्तै, भारतबाट तरकारी ल्याउँदा नेपाली तरकारीले मूल्य नपाएको कुराहरु नाटकमा अटाएका छन्। युवाहरु विदेशिनुमा विचौलियाको सास्ती र राजनीतिक प्रणाली कारक भएको देखाएको छ नाटकमा। विदेश जान गरिने ‘प्रेपर म्यारिज’को प्रसंगलाई पनि समावेश गरिएको छ।
अहिले धेरै युवाहरु आफ्ना सपनाहरु मारेर विदेश पलायन भइरहेका छन्। नेपालको माया हुँदाहुँदै पनि विदेशिनुको निराशता नाटकमा पोखिएको छ। नेपालको समसामयिक विषयवस्तुलाई टपक्कै टिप्नु नाटकको सबल पक्ष हो।
नाटकमा विदेश जानुहुँदैन भन्दै अरुलाई ‘मोटिभेट’ गर्ने तरकारी फार्महाउसका सञ्चालक सुजित पनि अन्त्यमा विदेशिन्छन्। आफ्नो बाध्यता सुनाउँदै उनी भन्छन्, ‘मैले अन्तिमसँग प्रयास गरेँ। लगानी गरेर तरकारी फार्महाउस खोलें। तर, व्यापार नहुँदा लगानी डुब्यो। सहकारीको ब्याज तिर्न नसकेर फार्म लिलामी हुँदैछ। मर्नुभन्दा बौलाउनु बेस भनेर विदेशिएँ। यो देशमा चर्चित हुन पनि मर्नु पर्दोरहेछ।’
नाटकले पुर्वदेखि पश्चिम नेपालसँगको कथालाई समेट्न सफल भएको छ। कर्णाली र सुदूरपश्चिमको ठेट भाषा,संस्कृति र समाजलाई उतारिएको छ नाटकमा। मैथिली भाषाको प्रयोगले नाटकमा विविधता ल्याउँछ। नाटकमा युवायुवतीले देउडा खेलेको दृश्यले पनि नाटकलाई रोचक बनाएको छ।
नाटकको सुरुकै दृश्यमा मञ्चभरि खालि बाकसहरु देखिन्छन्। विदेश जाने युवाहरु आफूलाई मन परेका सामानहरु बाकसमा फाल्छन्। सामानको माध्यमबाट रातो बाकसमा सपनाहरु मार्नुपरेको कुरालाई बिम्बात्मक रुपले देखाइएको छ। त्यसैगरि, विमान ल्यान्डिङ हुँदा सबै यात्रुहरुलाई स्वास फेर्न कठिन हुन्छ। उनीहरु अक्सिजनको सहारा लिन्छन्। नेपालमा मात्र नभई विदेशमा पनि बाँच्न गाह्रो भएको अवस्था त्यस दृश्यबाट थाहा हुन्छ। बिम्बहरुको प्रयोगले नाटकलाई सुन्दर बनाएको छ।
२०७० सालदेखि रंगमञ्चमा सक्रिय रविन दोङले नाटक ‘मृत्यु कुण्ड’ मार्फत निर्देशनमा डेब्यू गरेका हुन्। आफ्ना वरपरका घटनाहरुलाई नाटकमा प्रस्तुत गरेको रविनले बताए।
उनले भने,‘कलाकारिता क्षेत्रमा लागिरहँदा पुर्वदेखि पश्चिमसम्मका साथीहरु भेटिए। केही समयपछि साथीहरुले कलाकारितालाई छोडेर विदेशिएको देखेँ। अहिले विदेशिने क्रम निकै बढ्दो छ। प्राय युवाहरुमा कतिखेर पार्सपोर्ट बनाउँ र विदेश जाउँ भन्ने मनस्थितिमा हुन्छन्। त्यही विदेशिने बाध्यतालाई नाटकमा ढालेको हुँ।’
नेपालीको वास्तविकतासँग नाटक नजिक रहेको उनको दाबी छ।
‘मेरो आफ्नै दाइदिदी पनि विदेशमा हुनुहुन्छ। दिदीले संगीत क्षेत्रमा ५ वर्ष संघर्ष गर्नुभयो। तर, अन्त्यमा केही सम्भावना नदेखेर नाटकको प्रिमियरकै दिन उहाँ विदेश लाग्नुभयो। विदेशिनुको कथा भन्ने बेला नै दिदी विदेशिदा निकै मन पोलेको थियो। अहिले हरेक घरका मानिसहरु विदेशमा छन्। मैले तिनै विदेशिने मानिसहरुको बाध्यताको कथालाई नाटकमा समेटने कोसिस गरेको छु। यो नाटक प्रत्येक दर्शकसँग कनेक्ट हुन्छ।’ उनले भने।
नाटकबाट उनले मृत्युको परिभाषा बुझाउन पनि खोजेका छन्।
भन्छन्, विदेशमा जानु र बाकसमा फर्कनु मात्रै मान्छे मर्नु होइन्। कोही विदेशमा जाँदैछ भने उसको सपना मर्दैछ। भविष्य अनि सम्भावना मर्छ। संस्कृति मर्छ। किनकी उसले विदेश गएपछि जिरो लेबलबाट करियर सुरु गर्नुपर्छ। मान्छे मर्नु मात्र नभई सपना र भावना मर्नुलाई पनि हामीले मृत्यु हो भनेर देखाउन खोजेका छौं।’
यस नाटकमा सविना पाख्रिन तामाङ, राजु खतिवडा, हेमन्त लामिछाने, बिटी महर, एलिशा न्यौपाने, ओसन कार्की, बसन्त पोखरेल, वीरेन्द्र सिंह कुशवाह, विशाल महर्जन, सानुमाया तामाङ, अजय बान्तवा राई, शालु रौनियार, उदिप शिवाकोटी लगायतका कलाकारहरुको अभिनय छ। प्रमोद बावु निर्माता रहेको यो नाटक जेठ १५ गतेसम्म मञ्चन हुनेछ।