
काठमाडौं : आफ्नो नजिकका व्यक्तिको निधन भएपछि आमिर खान आज भारत फर्किएका छन्। विपश्यना गर्न आइतवार काठमाडौं आइपुगेका बलिउडका चर्चित अभिनेता आमिर खान राजीव लुथराको मृत्यु भएपछि बिचमा नै फर्किएका हुन्।
बिहीवारसम्म ध्यानमा सक्रियताका साथ सहभागी भएका आमिर शिविरमा आम मानिस सरह सहभागी भएका थिए। ध्यान केन्द्रमा प्रारम्भिक तीन दिनको आनापाना कोर्स पूरा गरिसकेपछि बिहीवार उनी विपश्यना दिवसमा सहभागी भएका थिए।
कर्पोरेट लयर तथा खानका व्यवसायिक साझेदार राजीवको हिजो नयाँ दिल्लीमा अन्त्यष्टि भयो। पछि फेरि ध्यान शिविरमा सहभागी हुने भन्दै उनी फर्किएको विपश्यनाका गुरु डा रुप ज्योतिले पहिलोपोस्टलाई जानकारी दिए।
आमिरले बाँकी कोर्स पछि पूरा गर्ने वाचाका साथ भारत फर्केको रुप ज्योतिले बताए। 'उहाँ बिचमा नै जानुपर्ने अवस्था आयो। यसमा उहाँको निजी कारण रह्यो। पछि पूरा गर्न आउँछु भन्नुभएको छ,' रुप ज्योतिले भने।
आमिर शुक्रवार बिहान पौने ११ मा इन्डिगो एअरलाइन्सबाट भारत फर्किएका हुन्। गत आइतवार विमानस्थलबाट सोझै बुढानीलकण्ठस्थित विपश्यना केन्द्रमा पुगेका थिए।
'राजीव लुथराको निधन भएको छ। उहाँ वकिल पनि हो। आज नयाँ दिल्लीमा अन्तिम संस्कार छ,' उद्योगी समेत रहेका रुप ज्योतिले पहिलोपोस्टसँग भने।
गत बुधवार ६७ वर्षीय लुथराको मेदान्त अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इकोनोमिक टाइम्सले जनाएको छ। चर्चित कर्पोरेट लयर समेत रहेका लुथरा भारतका केही ठूला मर्जरमा जोडिएको नाम हो। कर्पोरेट लयरको पहिलो पुस्ताका अग्रणी कानुन व्यवसायीका रुपमा उनको पहिचान छ।