बुटवल : गुल्मीको रेसुंगा विमानस्थलमा शुक्रवारदेखि व्यावसायिक उडान सुरु भएको छ। रेसुंगा नगरपालिका-१० सिमिचौरमा निर्माण भएको विमानस्थलमा लामो समयपछि नेपाल एयरलाइन्सको जहाजले व्यावसायिक उडान सुरु गरेको हो।
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रवार बिहान साढे ६ बजे उडेको निगमको जहाज बिहान साढे ७ बजे रेसुंगा विमानस्थलमा अवतरण भएको थियो। चालक दलका सदस्य बाहेक १४ यात्रु बोकेर रेसुंगा विमानस्थलमा अवतरण भएको जहाज काठमाडौं फर्किँदा पनि १४ यात्रु बोकेर फर्किएको विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर आयुशा कार्कीले जानकारी दिइन्।
नियमित उडान भरेर पहिलो पटक रेसुंगा विमानस्थल आइपुगेका यात्रुहरुलाई रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थी लगायतले स्वागत गरेका थिए। नगर प्रमुख पन्थीले शुक्रवारदेखि सुरु भएको नियमित उडानपछि जहाज चढ्ने वर्षौँदेखिको गुल्मेलीको सपना पूरा भएको बताए।
हाललाई सातामा एउटा उडान गर्ने गरी नेपाल एयरलाइन्ससँग सम्झौता गरिएको नगर प्रमुख पन्थीले जानकारी दिए। उनले यात्रुहरुको संख्याको आधारमा सातामा दुई उडान सञ्चालन गर्ने तयारी गरिएको बताए।
अहिले रेसुंगा विमानस्थलबाट काठमाडौंसम्मको भाडा प्रतिव्यक्ति ६ हजार ३ सय रुपैयाँ तोकिएको छ। यसैगरी, काठमाडौंबाट रेसुंगा विमानस्थलसम्म ६ हजार ५ सय रुपैयाँ भाडा तोकिएको छ।
रेसुंगा विमानस्थलमा यसअघि तीन पटकसम्म परीक्षण उडान गरिएको थियो। २०७५ जेठ २५ मा तारा एयरले कच्ची धावनमार्गमा सफलतापूर्वक परीक्षण उडान गरेको थियो। त्यसको चारवर्षपछि गत २४ पुसमा पक्की धावनमार्गमा तारा एयरलेनै ‘डेमो फ्लाइट’ गरेको थियो।
नियमित उडानको लागि सबै अवस्थाको जाँच गर्न नेपाल एयरलाइन्सले यहि बैशाख १५ मा सफल रुपमा परीक्षण उडान गरेको थियो। २०६३ सालदेखि निर्माण सुरु गरिएको विमानस्थल १६ वर्षपछि सम्पन्न भएको हो।
विमानस्थल निर्माणको लागि अहिलेसम्म करिब ३५ करोड खर्च भएको छ। २०६३ सालमा तत्कालिन संस्कृति तथा पर्यटनमन्त्री प्रदीप ज्ञवालीले शिलान्यास गरेको विमानस्थलमा २०७१ सालपछि मात्र निर्माणको कामले निरन्तरता पाएको थियो। स्थानीय १७ परिवारको बसाईं अन्यत्र सारेर विमानस्थल निर्माण गररिएको हो।
१५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलमा ५२० मिटर लम्बाई र २० मिटर चौडाइको धावनमार्ग रहेको छ। जहाँ १८ सिट क्षमताका साना जहाज मात्र उड्न र अवतरण गर्न सक्छन्। रेसुंगा विमानस्थल समुन्द्री सतहदेखि १ हजार ५२६ मिटरको उचाइमा पर्छ।
अब जिल्लाबाटै जहाज चल्ने भएपछि गुल्मेलीले राहत महसुस गरेका छन्। विमानस्थल नियमित सञ्चालन भएमा जिल्लाको समग्र आर्थिक विकासले फड्को मार्ने तथा गुल्मीसहित छिमेकी जिल्ला अर्घाखाँची, प्यूठान, बागलुङ र पाल्पाका सर्वसाधरणले प्रत्यक्ष लाभ लिन सक्ने अपेक्षा गरिएको छ। यात्रु नहुने, भौतिक संरचनाको अभाव लगायतका कारणले नियमित उडानमा भने चुनौतिनै छ।