PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

शरणार्थी प्रकरण र रायमाझीका विषयमा किन बारम्बार बाझिँदैछ केपी ओलीका अभिव्यक्ति?



प्रकाश भण्डारी

शरणार्थी प्रकरण र रायमाझीका विषयमा किन बारम्बार बाझिँदैछ केपी ओलीका अभिव्यक्ति?

काठमाडौं: नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई हिरासत पुर्‍याइसकेको छ, नक्कली भुटानी शरणार्थी प्रकरणले। सचिव टेकनारायण पाण्डे पनि प्रहरी नियन्त्रणमै। यस प्रकरणका अर्को हाइ प्रोफाइल हुन् उनी। पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजीत राई त सुरुमै तानिए। हाइ प्रोफाइल अझै कतिको नाम आउने हो? हिसाब-किताब भइरहेकै छ। तर अहिले धेरैको चासोको विषय हो - प्रहरीको खोजी सूचीमा रहेका नेकपा (एमाले) का निलम्बित सचिव तथा सांसद टोपबहादुर रायमाझी।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त उनी नभाग्ने दाबी नै गरेका थिए, वैशाख २१ मा। ओलीको दावी मिलेन, रायमाझी भागेको भाग्यै छन्।

बरु केही अभिव्यक्तिहरुले ओलीमाथि नै प्रश्न खडा गरायो - के एमाले नै बचाउन त लागेन रायमाझीलाई? वैशाख अन्तिम सातामा हरेकजसो कार्यक्रममा ओलीले यसै विषयलाई लिएर प्रष्टिकरण दिनुपरिरहेको छ। ओलीको स्पष्ट दाबी छ - रायमाझी होइन, कोही अरु नै छन् प्रकरणमा। सरकारले रायमाझीलाई फसाउन खोज्यो।

अनि के हो त सत्य तथ्य?

‘जेठ ४ को संसदमा भन्छु,’ ओलीले बिहीबार घोषणा गरेका छन्।

ओलीले के के भन्ने हुन् त्यो त थाहा हुने नै छ। तर, उनले हप्ताभरी गरेको बचाउ र केही आरोप भने सुन्न र हेर्न लायक रहे जो यस प्रकरणमा महत्वपूर्ण पनि छन्। ओली प्रतिपक्षी दलको नेता त हुन् नै, भुटानी शरणार्थी प्रकरण विवाद हुँदाका प्रधानमन्त्री पनि।

रोचक पक्ष त के भने ओलीले जे जे भनिरहेका छन्, घटनाक्रम भने ठीक विपरीत विकास भइरहेको छ।

ओलीको दावीको उल्टो, टोपबहादुर फरारै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानको सुरुमै आक्रामक सुनिए ओली। टोपबहादुरविरुद्ध पक्राउ पूर्जी जारी भएको भोलिपल्ट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको ओलीको सोधखोज असामान्य थियो।

‘एउटा सांसद। पटकपटक मन्त्री भइसकेको। उप प्रधानमन्त्री भइसकेको पार्टीको नेता षडयन्त्रपूर्ण ढंगले बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने? त्यस्तो खालको रहस्यपूर्ण छ। किन त्यो भागेर उम्केर जाने मान्छे त होइन,’ओलीले यसै भनेका थिए।

तर रायमाझी फरार नहुने ओलीको दावी मिलेन।

रायमाझी भागेको भाग्यै भएपछि फेरि प्रश्न ओली माथि नै उठ्यो – उप प्रधानमन्त्री भएको मान्छे हराउँदैनन् भन्नुहुन्थ्यो हराए त? वैशाख २१ को भेटपछि पत्रकारसँग संक्षिप्त अन्तर्क्रिया गरेका ओली वैशाख २५ मा पत्रकारका प्रश्नबाट भाग्न चाहे।

‘तपाईँले खोज्नुस्। मैले भगाएको भन्ने पत्याउनुहुन्छ?,’ पत्रकारलाई नै प्रतिप्रश्न गरेर ओली सिंहदरबारबाट बाहिरिए। उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न पुगेका थिए जहाँ पत्रकारलाई फेस गर्न चाहेनन् उनले।

त्यसदिन ओलीको हाउभाउ रायमाझीलाई पक्राउ पुर्जी जारी भएपछि प्रचण्डसँग पहिलो भेट हुँदाजस्तो सहज देखिएन। किनभने त्यसदिन ओली र प्रचण्ड बिच नोकझोक नै भयो।

‘कसैले दबाब दिएको छैन भन्नुपर्छ नि प्रधानमन्त्रीले। उहाँले कसैका दबाबका अगाडि झुक्छु भन्नुभयो यसको अर्थ मैले दबाब दिएको भन्ने उहाँको इन्टर्प्रिटेसन भयो,’ वैशाख २५ मा युवा संघको कार्यक्रमा वैशाख २३ को प्रचण्डसँगको भेटमा भएको तिक्तता व्यक्त गरेका थिए ओलीले। वैशाख २१ को भेटमा भने उनले रायमाझीको पक्षमा बेलिबिस्तार लगाउन भ्याएका थिए।

‘तानिएको हो कि तनाइएको हो भनेर हामी अध्ययन गर्दै छौं। यो अध्ययन गरेपछि हामी निष्कर्षमा पुग्छौं। निर्दोष पर्न हुँदैन। दोषी उम्कन हुँदैन। दोषी उम्काउने हाम्रो प्रयास हुँदैन। निर्दोष फसाउन खोजियो भने हामी सहदैनौं,’ ओली रायमाझीको डिफेन्समा यसै भनेका थिए।

अर्कातिर ओलीले आफ्नै सक्रियतामा भुटानी शरणार्थी समस्या समाधानको पहल भएको बताइरहेका छन्।

‘भुटानी शरणार्थीको ‘थर्ड कन्ट्री सेटलमेण्ट’को इनिसियसन लिने मान्छ मै हो। अमेरिकी सरकारसँग कुरा गरेर सेटलमेन्टका लागि पठाइयो। र, अहिलेसम्म दुई चार हजार मानिस बाँकी होलान्। बाँकीलाई के गर्ने भन्ने बारेमा अन्तर्राष्ट्रिय कम्युनिटिसँग हाम्रो छलफल भएको थियो,’ ओलीले भनेका छन्।

ओलीले अन्तर्राष्ट्रिय कम्युनिटीसँग छलफल भएको दावी गरे पनि सन् २०१६ मै युएनएचसीआरले शरणार्थी लैजाने क्रम पूरा भइसकेको जनाएको छ। बाँकी रहेका भुटानीलाई के गरिन्छ भन्ने पहिलोपोस्टको प्रश्नको इमेलमार्फत् जवाफ दिँदै युएनएचसीआरले शरणार्थी लैजाने विषयमा पूर्णविराम लागिसकेको जनाएको हो।

अर्कातिर ओलीको दाबी पत्याउने हो भने अहिलेको प्रकरणबारे उनलाई त्यतिबेलै थाहा थियो जतिखेर उनी प्रधानमन्त्री थिए। तर, उनले यसबारे अनुसन्धान चाहिँ गर्न चाहेनन्।

‘अलि पछि सुन्नमा आयो नक्कली शरणार्थी खडा गर्ने कोसिस हुँदै छ रे ! मैले त्यतिबेला गृहमन्त्रीलाई बोलाएर सोधेँ - म यस्तो सुन्दै छु, अनुसन्धान विभागलाई बोलाएर यसबारे खोजिनीति गर्ने भन्ने कुरा गरियो। तर, त्यसपछि हामी सरकारमा रहेनौं,’ ओलीले उक्त प्रकरणबारे भनेका छन्। ओलीको सरकारका गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई पक्राउ परिसकेका छन् भने बादलका छोरा पनि अनुसन्धानमा तानिएका छन्।

ओली रायमाझीको सम्पर्कमा !

पत्रकारले रायमाझी कहाँ छन् भनेर गरेको प्रश्नलाई लत्याइरहेका ओली पटकपटक रायमाझीसँग सम्पर्क भइरहेको संकेत भने गरिरहेका छन्। यसमा पनि उनको बोली मेल खाएको देखिन्न।

पक्राउ पूर्जी जारी भएको पहिलो दिन नै ओलीले रायमाझी अर्घाखाँचीमै रहेका बेलामा फोन गरे। आइजीपीसँग कुरा गरिसकेको जानकारी टोपबहादुरले ओलीलाई गराए। त्यसपछि रायमाझी फरार छन्।

‘मैले बेलुका कुरा गरेको थिएँ। तपाईँलाई पक्राउ पूर्जी भनेको सुन्छु तपाईँलाई केही जानकारी छ? मैले आइजीपीलाई सोधेँ त्यस्तो होइन कुरा के भएको हो स्पष्ट पार्दिनुपर्ला भन्या छ। त्यस्तो होइन म भोलि काठमाडौं आउँदै छु भन्या’थ्यो। अहिले समात्यो भन्या पनि सुन्छु। फरार भन्या पनि सुन्छु,’ ओलीले रायमाझी फरार अघिको संवाद उल्लेख गर्दै भनेका छन्।

ओली - रायमाझीबीच कुराकानी भइरहेको अर्को उदाहारण पनि ओलीले नै दिएका छन्, बिहीबार केन्द्रीय कमिटीको बैठकमा सम्बोधनका क्रममा - उहाँको निकटको मानसले कताबाट फोन गर्‍यो। म फोन नम्बर राख्दिनँ। मलाई कतैबाट आयो के गर्ने हो भनेर? मैले पार्टीले फैसला गरेको सुनिहाल्नु भयो होला। उहाँले कानुनसमक्ष प्रस्तुत हुन राम्रो हुन्छ भनेर उहाँका निकटका मान्छेलाई बताइदिएँ। हिजो (बुधबार) उहाँ हाजिर हुन आउनुहुन्छ भन्ने सुनेको थिएँ। सरकारी स्रोतबाटै थाह पाएको, तर त्यो कुरा पूरा भएन।

एकातिर बचाउ, अर्कोतिर निलम्बन

रायमाझी सम्बन्धी ओलीले दिइरहेका अभिव्यक्ति एकपछि अर्को नमिलेको उदाहरण एमालेको वैशाख २७ को निर्णयबाट पनि छर्लङ्ग हुन्छ। जबरजस्ती फसाउन खोजेको ओलीले एकातिर दावी गरिरहेका छन्। अर्कातिर सचिवालयको बैठकबाट निलम्बन पनि गरिएको छ।

फरार रहेको हप्ता दिनसम्म पनि बचाउमै लागेको एमाले खाण पक्राउ परेपछि भने चर्को दबाबमा पर्‍यो। २६ गतेको सचिवालयको निर्णयलाई गोप्य राखेको एमालेले २७ गते भने एकाएक विज्ञप्ति जारी गरेर निलम्बनको जानकारी गरायो। २६ गतेको बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा पार्टी प्रवक्ता पृथ्वीसुब्बा गुरुङले र त्यसै साँझ जारी गरिएको विज्ञप्तिमा निलम्बनको निर्णय उल्लेख थिएन। खाण पक्राउपछि पहिला गुरुङले प्रहरीको सम्पर्कमा आउन निर्देशन दिएको संसदलाई जानकारी गराए। लगत्तै महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गरेर निलम्बनको निर्णय सार्वजनिक गरे वैशाख २७ मा।

प्रचण्डको चेतावनी, आक्रोशित ओली

प्रचण्ड-ओलीका एक्ला एक्लै वार्ताको विषयवस्तुलाई दुवैका सचिवालयले गोप्य नै राख्ने गरेका छन्। तर वैशाख २३ को भेटपछि प्रचण्डले ओलीको प्रतिवाद नै गरेका थिए। जसले ओलीले कतिसम्म दबाब दिइरहेका छन् भन्ने देखाउँछ।

‘अस्ति पनि यस विषयमा उहाँको कन्सर्न थियो। आज पनि कन्सर्न उहाँले राख्नुभयो। बचाउ भनेर त उहाँले भन्न सक्ने कुरा भए न नि ! प्रधानमन्त्रीसँग कुरा गर्दाखेरी,’ प्रचण्डले ओलीलाई भेटेलगत्तै भनेका थिए।

प्रचण्डले रायमाझी पक्राउ पुर्जी ट्रेलर मात्रै भएको र फिल्म हेर्न तयार रहन चेतावनी नै दिन भ्याएका थिए।

‘यो ट्रेलर मात्रै हो, हेर्दै जानुस् सिङ्गै फिल्म देखिन्छ। पक्कै पनि ठूल्ठूला घेराबन्दी होलान्। दबाब आउलान्। धम्की होलान्। धेरै चिज हुन सक्छन् यो बीचमा। जतिसुकै ठूला धम्की र घेराबन्दीको सामना गरिने छ,’ प्रचण्ड प्रतिवद्ध सुनिएका थिए।

टोपबहादुरको बचाउमा किन?

ओलीको भनाइमा यस प्रकरणका दोषीलाई कारवाही गर्न एमाले सघाउन तयार छ। तर टोपबहादुरको हकमा ओली प्रश्न गर्छन् - हामी हेरिरहेका छौं कसैलाई फसाउने सन्दर्भमा कता कता लान पर्छ त्यो प्रयास पनि भइरहेको छ।

आफ्ना पार्टीका नेतालाई ओलीले नक्कली शरणार्थी प्रकरण के हो भन्नेबारे केन्द्रीय कमिटीको बिहीवारको बैठकमा ब्रिफिङ गरेका थिए। उक्त ब्रिफिङमा २०७९ जैठ ३० मा पक्राउ परेकालाई छोड्नु नै राजनीतिक प्रतिशोध साध्नु भएको ओलीले उल्लेख गरेका छन्।

‘गएको जेठ ३० मा धेरै उजुरी परे हामी ठगियौं भनेर। प्रहरीमा निवेदन परेपछि मान्छेहरु पक्राउ परे। जो मान्छे हुन् खास मान्छेहरु पक्राउ परे। त्यसबेला अनुसन्धान महाशाखाको एसएसपी को थियो? कसले छोड्यो? गृहमन्त्रीले एउटा बयान दिए। बदलियो। अर्को यस्तो प्रमाण निस्कियो कि आगो जस्तो निस्किएपछि बदलिएका बयान खेर गए,’ ओलीले नक्कली शरणार्थी प्रकरणबारे भनेका छन्।

ओलीले अहिलेको प्रकरण सरकारको इच्छा अनुरुप मात्रै नभएको बताइरहेका छन्। तर कसको इच्छामा भन्ने बोलिरहेका छैनन्।

‘हामीले सोचेका थिएनौं टोपबहादुरजी कति संलग्न हुनुहुन्छ/हुनुहुन्न भन्ने। उहाँ संलग्न हुनुहुन्छ भन्ने सोचेका पनि थिएनौं। आश्चार्य चकित भएका छौं। उहाँलाई पक्राउ पुर्जी जारी गरियो। अलीअली केस बुझेको हुनाले खास सोझै पैसा समाउने छोड्ने अनि टोपबहादुरलाई पक्राउ पुर्जी किन जारी गर्‍यो होला?,’ ओलीको भनाइ थियो।

प्रहरीले अभद्र व्यवहार गर्ने थाहा पाएर रायमाझी फरार भएको भन्दै ओलीले पछि चाहिँ उनी फरार होलान् भन्ने कल्पना नगरेको बताए।

‘मैले सोचेको थिइन टोपबहादुरजी त्यसरी बाहिर जानुहुन्छ भनेर। मैले पछि सुनेँ प्रहरीले अभद्र व्यवहार गर्न खोज्यो अनि टोपबहादुरजी अदालतमा उपस्थित हुने विचार गरेँ भनेर भनेको मैले सुने,’ उनले भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell