
इण्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत गएराति सम्पन्न खेलमा मुम्बई इण्डियन्सले गुजरात टाइटन्सलाई हराएको छ। मुम्बईस्थित वानखेडे स्टेडियममा सम्पन्न खेलमा मुम्बईले शीर्ष स्थानको गुजरातमाथि २७ रनको जित निकालेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय १८ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको गुजरात ८ विकेट गुमाएर १९१ रनमा समेटियो।
सानदार ब्याटिङ गरेको मुम्बईका लागि आक्रामक ब्याटिङ गर्दै सूर्यकुमार यादवले शतकीय इन्निङ्स खेले। ४९ बलमा ११ चौका र ६ छक्काको सहायतामा १०३ रन बनाएर उनी अविजित रहे। त्यस्तै इशान किसनले ३१, विष्णु विनोदले ३०, कप्तान रोहित शर्माले २९ तथा नेहाल वदेराले १५ रन बनाए। बलिङतर्फ गुजरातका राशिद खानले ४ तथा मोहित शर्माले १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको गुजरातको शीर्षक्रमको ब्याटिङ जम्न सकेन। ओपनर द्वय ऋद्धिमान शाह र शुभमन गिल क्रमश २ र ६ रनमै आउट हुँदा कप्तान हार्दिक पाण्ड्या पनि ४ रन बनाएर आउट भए। ३.५ ओभरमा २६-३ को अवस्थामा रहेको गुजरातलाई डेभिड मिलरले ४१ तथा विजय शंकरले २९ रनको योगदान दिए। बलिङमा ४ विकेट लिएरका राशिद खानले ब्याटिङमा पनि सानदार प्रदर्शन गर्दै ३२ बलमा ३ चौका र १० छक्काको सहायतामा अविजित ७९ रन बनाए पनि टोलीको हार भने टार्न सकेनन्।
मुम्बईका लागि आकाश मधवलले सर्वाधिक ३ विकेट लिँदा पियुश चावला र कुमार कार्तिकेयले समान २ विकेट तथा जेसन बेहरेनड्रोफले १ विकेट लिए।
जितसँगै १२ खेलबाट १४ अंक जोडेको मुम्बई तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। हारका बावजुत गुजरात १६ अंक जोडेर तालिकाको शीर्ष स्थानमा कायम छ।