PahiloPost

Jan 13, 2025 | २९ पुष २०८१

शेखर कोइरालाले भने : नेपाली कांग्रेस दुबो हो, सकिनेवाला छैन, समानुपातिक प्रणाली हटाउन जोड



पहिलोपोस्ट

शेखर कोइरालाले भने : नेपाली कांग्रेस दुबो हो, सकिनेवाला छैन, समानुपातिक प्रणाली हटाउन जोड

काठमाडौं : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपाली कांग्रेस दुबोजस्तै भएको बताएका छन्। नेपाल ट्रेड युनियन कांग्रेस कोशी प्रदेशको सातौं अधिवेशनलाई शनिवार इटहरीमा सम्बोधन गर्दै डा कोइरालाले उक्त भनाई राखेका हुन्। उपनिर्वाचनपछि धेरैले कांग्रेस सकिएको टिप्पणी गरेको विषयलाई लक्षित गर्दै कोइरालाले भने, 'नेपाली कांग्रेस सकिँदैन। कांग्रेस दुबो हो,' कोइरालाले भने, 'बाटो बिराएको हुन सक्छ। यसमा म दोषी होइन म भन्दिनँ।'

नेता कोइरालाले पार्टी अब बीपी कोइरालाले देखाएको बाटोतिर लागे सुधार हुनसक्ने बताए। 'जननायक बीपी कोइरालाले देखाउनुभएको पुरानो बाटोतिर फर्कनुपर्छ। त्यो बाटोलाई हामीले पछ्याउनुपर्ने देखिन्छ। टोलका जनताका दुखसँग जोडिनुपर्छ,' उनले भने।

नेता कोइरालाले आउँदो चुनावमा कांग्रेस कसैसँग तालमेल नगरी एक्लै लड्नुपर्नेसमेत बताए। त्यसैगरी उनले आगामी चुनावबाट समानुपातिक प्रणाली हटाउनतिर लाग्नुपर्ने सुझावसमेत दिए। 'समानुपातिक प्रणाली हटाएर प्रत्यक्ष निर्वाचनलाई कसरी सुदृढ गरी कम खर्चमा निर्वाचन गर्नुपर्छ भन्नेमा लागौ। चुनाव धेरै खर्चिलो भइसकेको छ,' डा कोइरालाले भने।

कोइरालाले नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने घृणित कार्यले विदेशीसँग कुरा गर्ने आँट पनि नेपालीसँग नभएको समेत बताए। 'विदेशी एम्बासडरसँग कुरा गर्नुपर्दा लज्जाबोध भएको छ। एयरपोर्टमा भेट हुँदा,' कोइरालाले भने। उनले यो प्रकरण त्यसै सामसुम नहुने र दोषीलाई कारबाही गर्न राज्य अघि बढिसकेकोसमेत बताए। 'अब राज्य फर्किन मिल्दैन। यो अन्तर्राष्ट्रिय स्तरमा यो विषय गइसकेको छ। त्यतिकै सामसुम हुँदैन यो विषय,' कोइरालाले भने।

कांग्रेसले अब चाँडै नीति अधिवेशन गर्ने र श्रमिकको माग पनि पुरा हुने उनको भनाई थियो। 'कांग्रेसको नीति अधिवेशन हुँदैछ। केन्द्रदेखि गाउँसम्म श्रमिकको मुद्दा पुर्‍याउँछौ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell