काठमाडौं : नक्कली शरणार्थी प्रकरणमा अनुसन्धान अघि बढेसँगै नागरिक समाज भ्रष्टाचारविरुद्धको खबरदारी अभियानमा जुटेको छ। शनिवार नागरिक समाज काठमाडौंको नारायणटारमा नागरिकहरु स्वतस्फूर्त रुपमा उत्रिए।
नागरिक समाजको प्रदर्शनमा एक्यबद्धता जनाउन राजनीतिक दलका नेताहरुसमेत पुगे। पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्व गृहमन्त्री रवि लामिछानेलगायत नेताहरु खबरदारी अभियानमा पुगे।
नारायणचौरको प्रदर्शनमा नेपाली कांग्रेस युवा पुस्ता लेखिएको प्लेकार्डमा 'दाइ भाउजुबाट देशलाई सास्ती भो', 'दाइ भाउजुमात्र हैन, भ्रष्टाचारी भए, मेरै आमाबुवालाई पनि कारबाही गर' जस्ता नारा लेखिएको थियो। प्रदर्शनकारीले नेपाल प्रहरीलाई धन्यवाद दिनुका साथै पछिल्लो भ्रष्टाचार प्रकरणमा पछि नहट्नसमेत आग्रह गरेका थिए। पछिल्लो प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ पर्दा एमाले नेतासमेत रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी भने फरार छन्। यो प्रकरणमा खाणपत्नी मञ्जु खाणदेखि अख्तियार प्रमुख प्रेमप्रसाद राई र कांग्रेस नेतृ डा आरजु देउवाको नामसमेत चर्चामा आएको छ।