
काठमाडौंः नेकपा एमालेले नेपालीलाई नक्कली शरणार्थी बनाइ अमेरिका लैजाने प्रकरणको निष्पक्ष छानबिनको माग गरेको छ। शनिबार सम्पन्न केन्द्रीय कमिटी बैठकले समसामयिक विषयका १६ प्रस्ताव पारित गर्दै निष्पक्ष छानबिनको माग गरेको हो। एमालेले माओवादी शिविरमा लडाकुलाई राज्यले उपलब्ध गराएको रकमबारे पनि छानबिन माग गरेको छ।
केन्द्रीय कमिटीको निर्णयमा भनिएको छ, ‘नेपाली समाजमा भ्रष्टाचार र अनियमितता सङ्क्रामक रोगका रुपमा रहँदै आएको छ। यस्ता घटनाहरुको निष्पक्ष छानबिन र दोषीहरुलाई कानुनको दायरामा नल्याउँदा यसले लोकतान्त्रिक प्रणाली, राजनीतिक नेतृत्व र पार्टीहरुमाथि नै प्रश्न उठ्ने स्थिति सिर्जना भएको छ। यो बैठक लडाकु शिविर घोटाला काण्ड लगायत चर्चामा आएका सबै काण्डहरुको निष्पक्षतापूर्वक छानबिन अघि बढाउन सम्बद्ध निकायसमक्ष आह्वान गर्दछ। यस्ता छानबिनमा पार्टीको पूर्ण सहयोग रहने विश्वास दिलाउन चाहन्छ।’
यस्तै, केन्द्रीय कमिटीले मिटरब्याज पीडितको समस्या तत्काल सम्बोधनको माग पनि गरेको छ। केन्द्रीय कमिटीले मिसन ग्रासरुट अभियान सफल भएको समीक्षा गरेको छ।
बैठकले वार्षिक कार्यजना पनि पारित गरेको छ।
कार्ययोजना अनुसार मिसन ग्रासरुटपछि अब पार्टी सदस्यता शुद्धीकरण र विस्तार अभियान सञ्चालनको निर्णय गरेको छ । सदस्यसता नवीकरण बाँकी रहेकालाई असार मसान्तसम्मको समय एमालेले दिएको छ।
यस्तै, प्रदेश, जिल्ला स्थानीय तह तथा टोलस्तरमा पनि अधिवेशन गर्ने निर्णय एमालेले गरेको छ। पार्टी कमिटी भद्धा भएको भन्दै अधिवेशन गर्ने निर्णय बैठकले गरेको हो।
यस्तै, वैचारिक–राजनीतिक प्रशिक्षणलाई नियमित बनाउने पनि केन्द्रीय कमिटीले निर्णय गरेको छ। जनसंंगठनहरूको सुदृढीकरण तथा विस्तार अभियान चलाउने पनि बैठकले निर्णय गरेको छ । स्थानीय तहका कामलाई प्रभावकारी बनाउन जनप्रतिनिधिलाई क्रियाशील बनाउने निर्णय बैठकले गरेको छ।
यस्तै, बैठकले आगामी मंसिरमा मध्यपहाडी लोकमार्ग केन्द्रित रहेर जनतासँग एमाले अभियान सञ्चालनको निर्णय गरेको छ।
केन्द्रीय कमिटीले मिसन योङ्ग अभियान सञ्चालनको निर्णय गरेको छ। देशैभरि छोराछोरीको नारामा नेता कार्यकर्ताको घरबाटै युवा कार्यक्रम सञ्चालनको निर्णय पनि बैठकले गरेको छ।
निर्णयमा भनिएको छ, '‘युवाहरूका बीचमा पार्टी कामको विस्तार (मिसन योङ्ग) अभियान सञ्चालन गरिने छ। मिसन ग्रासरुटको दुई महिने अभियानले पार्टीमा युवा आकर्षण र युवा सहभागिता विस्तार गर्न जरूरी देखिएको हुँदा नयाँ अभियान सञ्चालन गरिने छ। साथै, ‘देशैभरि–छोराछोरी’को नारामा पार्टीका नेता कार्यकर्ताको घरघरबाटै युवा–कार्यक्रम सञ्चालन गरिने छ।'