काठमाडौं : 'मोखा चक्रवात'को प्रभाव नेपालमा नपर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दैनिक मौसम बुलेटिनमार्फत महाशाखाले बंगालको खाडीमा विकसित भइरहेको ‘मोखा’ को प्रभाव नेपालमा नहुने जनाएको हो।
‘मोखा नामक चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएको छ। उक्त चक्रवात उत्तर-उत्तर-पूर्व दिशातर्फ उन्मुख हुँदै बंगलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेको हुनाले नेपालमा यसको उल्लेखनीय प्रभाव नरहने देखिन्छ,’ बुलेटिनमा लेखिएको छ।
यस्तै, महाशाखाले हाल देशभर स्थानीय वायुको सामान्य प्रभाव रहेको र पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ। अहिले बिहान गण्डकी तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ महाशाखाले जनाएको छ। यस्तै, आज राती कोशी प्रदेश तथा गण्डकी प्रदेशको थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ बुलेटिनमा उल्लेख छ।