
इण्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफ पुग्ने होडबाट दिल्ली क्यापिटल्स बाहिरिएको छ। गएराति दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा पञ्जाबले ३१ रनको जित निकालेसँगै दिल्ली प्लेअफको होडबाट बाहिरिएको हो।
टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६७ रन बनाएको थियो। जसका लागि ओपनर प्रभसिरन सिंहले शतकीय इन्निङ्स खेल्दै सर्वाधिक १०३ रन बनाउँदा साम करनले २० तथा शिकन्दर राजाले अविजित ११ रनको योगदान दिए।
बलिङतर्फ दिल्लीका खलिल अहमेदले २ विकेट लिँदा अक्षर पटेल, प्रविन दुवे, कुलदीप यादव र मुकेश कुमारले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको दिल्ली ८ विकेट गुमाएर १३६ रनमा समेटियो। दिल्लीका लागि डेभिड वार्नरले सर्वाधिक ५४ रन बनाउँदा फिल साल्टले २१, अमन हाकिम खान र प्रविन दुवेले समान १६ तथा कुलदीप यादवले अविजित १० रन बनाए पनि टोलीलाई लक्ष्यसम्म पुर्याउन सकेनन्।
बलिङतर्फ पञ्जाबका हरप्रीत ब्ररले सर्वाधिक ४ विकेट लिँदा नाथन इल्लिस र राहुल चहरले समान २ विकेट लिए।
पराजयसँगै दिल्ली प्लेअफको होडबाट बाहिरिएको छ। १२ खेलबाट ८ अंक जोड्दै तालिकाको पुछारमा रहेको दिल्लीले जारी सिजन ४ खेलमात्र जित्न सकेको छ। पञ्जाब भने दिल्लीलाई हराएर १२ अंक जोड्दै तालिकाको छैटौँ स्थानमा उक्लिएको छ।