भारतको कर्नाटक विधानसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)लाई धक्का लागेको छ। गत साता भएको निर्वाचनको मत गणना अनुसार विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले १३५ सिट जित्दै बहुमत हासिल गरेको छ। भाजपाले भने ६६ सिट जितेको छ।
यता, जनता दल ‘सेक्युलर’ - जेडी(एस) ले १९ सिट जितेको छ। अन्य दलले ४ सिट जितेका छन्।
यसअघिको विधानसभा निर्वाचनमा भाजपा कर्नाटकमा सबैभन्दा ठूलो दल बनेको थियो। यसपटक भाजपाले ३८ सिट गुमाउँदा जेडी(एस)ले १८ सिट गुमाएको छ। यसपटक सरकार बनाउने जनादेश पाएको कांग्रेसले भने ५६ सिट बढी जितेको छ। लामो समयपछि कांग्रेसले कुनै ठूलो प्रदेशमा जित हासिल गरेको हो।
कर्नाटकको चुनावी प्रसारमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नै सहभागी भएका थिए। मोदीले कर्नाटकका विभिन्न क्षेत्रमा पुगेर धेरै प्रचार गरेका थिए। उनको प्रचारमा प्रमुख 'टार्गेट' नै कांग्रेस थियो। यसपटक पनि त्यहाँ भाजपाकै सरकार गठन हुने नेता कार्यकर्ताको विश्वास थियो। तर, ‘ब्यालेट’ले उनीहरुको सपना पूरा नहुने देखाएको छ। मोदीको प्रचारप्रसार पनि कर्नाटकमा 'फेल' भएको छ।
कर्नाटकमा कांग्रेसको जितसँगै विपक्षी दलहरुको मनोबल भने बढेको छ। अर्को वर्ष हुने लोकसभा निर्वाचनमा भाजपाको विपक्षमा रहेको दलहरुको नेतृत्व कांग्रेसले लिन सक्ने अनुमान छ। यद्यपि, अन्य दलका नेताहरु पनि नेतृत्वका लागि ‘लबिङ’मा छन्। मोदीको दुई कार्यकाल सकिन लाग्दा विपक्षीहरु अर्को वर्ष एकजुट भएर लाग्ने देखिएको छ।
कांग्रेस नेता राहुल गान्धीलाई सन् २०२४ मा प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अहिले प्रस्तुत गरिएको छ। कर्नाटकमा कांग्रेसको जितको श्रय राहुललाई नै दिइएको छ। पछिल्लो समय भारत जोडो यात्राबाट चर्चा कमाएका राहुललाई मोदीविरुद्ध दिएको अभिव्यक्तिको आधारमा अदालतले दोगी ठहर गरेपछि उनलाई सांसद पदबाटै निलम्बन गरिएको थियो। यस्तो अवस्थामा 'दक्षिण भारतको द्वार' भनेर चिनिने कर्नाटकमा विजयी हासिल गरेर राहुल अघि बढेको स्थानीय नेता बताउँछन्।
'कर्नाटकमा घृणाको बजार बन्द भयो। प्रेमको पसल अब खुला भएको छ। यो सबैको जित हो। सबैभन्दा पहिला यो कर्नाटकका जनताको जित हो,' राहलले भनेका छन्।
कर्नाटकका स्थानीय कांग्रेस नेताहरु भने अब राहुलले २०२४ को लागि अन्य दललाई मनाएर 'कमान्ड' सम्हाल्नुपर्ने मत राखिरहेका छन्। विभिन्न राज्यमा अहिले कांग्रेससहित अन्य दलहरुको गठबन्धन सरकार पनि छ। दिल्ली, पश्चिम बंगालमा कांग्रेस सत्तामा नभए पनि अरविन्द केजरीवाल, ममता बेनर्जी विपक्षी खेमामा नै छन्। बिहारका मुख्यमन्त्री नितिश कुमार पनि पछिल्लो समय भाजपाको साथ छाडेर अघि बढेका छन्। उनी पनि अहिले कांग्रेससहितका विपक्षी दलहरुसँग छलफलमा छन्।
सन् २०२४ मा पनि भाजपाको प्रधानमन्त्री उम्मेदवार नरेन्द्र मोदी नै हुने प्रबल सम्भावना छ। भारतमा अहिले मोदीको 'क्रेज' घटेको छैन। त्यसैले विपक्षीहरु मोदीको विरुद्धमा उठाउन अनुहारको खोजीमा छन्। कांग्रेसमा सो अनुहार भनेकै राहुल हुन्। चर्चामा ममता, नितिशको नाम भए पनि अन्य दल यस विषयमा खुलेका छैनन्। विपक्षी दलहरु अर्को लोकसभा निर्वाचनमा फेरि मोदीलाई आउन दिने पक्षमा छैनन्। त्यसैले अन्त्यसम्म एकजनाको अनुहारमा सबै दल सहमत हुन सक्ने बताइन्छ।
अर्को वर्ष लोकसभा निर्वाचन अघि केही राज्यहरुमा विधानसभा निर्वाचन हुने तय छ। हाल कांग्रेसको सरकार रहेको छत्तीसगढ र राजस्थानका साथै भाजपाको सरकार रहेको मध्यप्रदेशमा पनि निर्वाचन हुनेछ। यस्तै, मिजोरम, तेलंगाना, सिक्किम, अरुणाचल र ओडिशामा पनि विधानसभा निर्वाचन हुनेछ। यी प्रदेशको निर्वाचनले पनि लोकसभा निर्वाचनको विश्लेषण गर्न सहज हुने चुनावी विश्लेषक बताउँछन्।
विधानसभा निर्वाचनको नतिजालाई लिएर लोकसभामा खस्ने मतको ‘ट्रेन्ड’ हेर्ने हो भने त्यो फरक देखिन्छ। भारतमा विधानसभामा एउटा पार्टी जित्दा लोकसभामा अर्को पार्टी जित्ने ‘ट्रेन्ड’ देखिन्छ। त्यसैले लोकसभा निर्वाचनका लागि विपक्षीहरुले थप मिहिनेत गर्नुपर्ने हुन्छ।