PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

प्रदेशको राजधानीमै रोकिएन बाल विवाह, हेटौंडामा ९ महिनामा २० वर्ष मुनिका २२५ जना बने आमा



निशा गुरुङ

प्रदेशको राजधानीमै रोकिएन बाल विवाह, हेटौंडामा ९ महिनामा २० वर्ष मुनिका २२५ जना बने आमा

हेटौंडा : मकवानपुरमा बाल विवाह नरोकिँदा सानो उमेरमा नै किशोरीहरु आमा बन्ने गरेका छन्। स्थानीय सरकारले बाल विवाह रोक्न विभिन्न कार्यक्रम संचालन गरे पनि जिल्लामा यस प्रकारका विवा रोकिएको छैन जसकारण कलिलो उमेरमै विवाह हुँदा २० वर्ष मुनिका किशोरीहरु आमा बन्नेको संख्या बढ्दो अवस्थामा रहेको छ।

सिविन बाल हेल्पलाइन मकवानपुरका संयोजक झविन्द्र ज्ञवालीका अनुसार मकवानपुरमा आर्थिक वर्ष २०७८/७९ मा यसखाले ४७ वटा विवाहका घटना दर्ता भएको थियो। चालु आर्थिक वर्ष २०७९/८० मा हालसम्म ४२ वटा बालविवाहका घटना दर्ता भइसकेको उनले बताए। यी त दर्ता भएका घटनामात्र भए गाउँहरुमा हुने बालविवाहको रेकर्ड यसमा जोडिएको छैन। भागेर विवाह, परिवारबाट जबर्जस्ती गराइएका विवाहको तथ्यांक नभएको उनले बताए ।

मकवानपुरमा गरिवी, जनचेतनाको अभाव, विभिन्न वाध्यात्मक कारण, सामाजिक सञ्जाल लगायतको बढ्दो प्रयोगसँगैपरिवारको स्वीकृति बिना नै भागेर बाल विवाह हुने गरेको छ।

‘भागेर विवाह हुने गर्दा पनि हामीलाई थाहा नहुने अवस्था हुन्छ। पछि थाहा पाउँदा किशोरीहरु आमा बन्ने तयारी भइसकेको हुनेगर्छ,’ उनले भने, ‘जसका कारण बाल विवाह धेरै भए पनि हामीसँग यकिन तथ्याङ्क हुँदैन।’

जिल्ला प्रहरी कार्यालय मकवानपुरले बालविवाहका घटना जर्वजस्ती करणी घटनाको रुपमा दर्ता हुने जनाएको छ। जसकारण पनि बालविवाहकै घटनाको यकिन तथ्याङ्क भने नहुने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए।

मकवानपुरमा जिल्ला बालविवाह रोक्न विभिन्न संघसस्था कार्यरत छन्। समाजमा उनीहरुको कार्यक्रमको केही सकारात्मक प्रभाव परे पनि बाल विवाह निर्मूल भने हुनसकेको छैन। यस्ता संस्थाहरुको औपचारिक कार्यक्रम बजार क्षेत्रमामात्रै सीमित छन्।

वाग्मती प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकाभित्र किशोरीहरू आमा बन्ने क्रम पनि बढेको तथ्याङ्कले देखाएको छ।

हेटौंडा अस्पतालका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को ९ महिनाको अवधिमा २० वर्षमुनिका २२५ जना किशोरी आमा बनेका छन्। उक्त ९ महिनाको अवधिमा हेटौंडा अस्पतालमा ३ हजार २६५ जना सुत्केरी भएका थिए। हेटौंडा अस्पतालमा चालु आर्थिक वर्षको साउन महिनामा मात्रै २० वर्ष मुनिका २८ जना आमा बनेका थिए। त्यसैगरी, भदौ महिनामा ३० जना किशोरी आमा बनेका थिए भने असोज महिनामा २४ जना किशोरी आमा बनेको हेटौंडा अस्पतालको तथ्याङ्कले देखाएको छ।

कार्तिक महिनामा २३ जना, मंसिरमा १५ जना, पुस महिनामा ३१ जना किशोरी आमा बनेका थिए। त्यसैगरि , माघ महिनामा २५ जना, फागुन महिनामा २४ र चैत्र महिनामा २५ जना किशोरी आमा बनेका थिए।

‘यो तथ्याङ्कले बालविवाहसँगै कम उमेरमै गर्भवती हुँदा र गर्भमा रहेको शिशुको जोखिमलाई सहज ढंगले बुझ्न सकिन्छ,’ हेटौंडा अस्पतालका सुचना अधिकारी राजीव झाले भने, ‘बाल विवाहका कारण गर्भवती महिला र शिशु उच्च जोखिममा छन्।’

गर्भावस्थाबारे पहिलोपटक परीक्षण गर्नेको संख्या उल्लेख्य भए पनि स्वास्थ्यका दृष्टिले आवश्यक ४ पटक गर्भ जाँच गराउने महिलाको संख्या भने निकै कम देखिन्छ। चार पटक गर्भ जाँच गराउने गर्भवतीलाई सरकारले प्रोत्साहनस्वरूप यातायात खर्चसमेत प्रदान गर्ने गरेको छ। नियमित गर्भ जाँच गर्ने क्रममा गर्भमा रहेको भ्रूणको अवस्था, गर्भवतीको अवस्थाका बारेमा जाँच गर्ने गरिन्छ साथै आवश्यकताअनुसार गर्भवतीलाई सुई लगाउने, औषधि खुवाउने र पोषणसम्बन्धी अभिमुखीकरणसमेत गराउने गरिन्छ।

संविधानको धारा ३९ को उपधारा ५ ले बाल विवाह, गैर कानुनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न नपाइने गरि हक स्थापित गरेको छ। नेपालको मुलुकी ऐनको नयाँ व्यवस्थाले विवाह गर्ने उमेर महिला तथा पुरुष दुवैका लागि २० वर्ष हुनुपर्ने व्यवस्था गरेको छ। बीस वर्षभन्दा कम उमेरमा गरिने विवाह कानुनतः दण्डनीय हुने व्यवस्था छ। यी सबै ऐन, कानुन, नीति, कार्यविधिको व्यवस्था भए पनि बालविवाह कम हुन सकेको छैन। संघीय राजधानी नजिकै र वाग्मती प्रदेशकै राजधानी रहेको स्थानमा बालविवाह बढ्ने ‘ट्रेन्ड’ले नकारात्मक सन्देश दिएको छ।

अहिले हेटौंडा उपमहानगरपालिकालाई पनि बालमैत्री उपमहानरपालिका घोषणा गर्ने तयारीमा छ। सरकारले २०८७ सम्म नेपाललाई बालमैत्री घोषणा गर्ने लक्ष्य अनुरुप कार्यान्वयका लागि उपमहानगरपालिकाले २०८० सालसम्म बालमैत्री घोषणा गर्न हरेक वडामा बाल सञ्जाल गठन गरि कार्यक्रमहरुलाई तिब्र पार्दै आएका छन्। तर, हेटौंडा अस्पतालको ९ महिनाको तथ्यांकले सरकारको सो लक्ष्यलाई चुनौती दिएको छ।

हेटौंडा उपमहानगपालिकाका प्रवक्ता एवं हेटौंडा-१ का वडा अध्यक्ष सबिन न्यौपानेले पालिकालाई बालमैत्री घोषणा गर्ने तयारीका लागि हरेक वडामा गइरहेको बताए। तर त्यहाँ जाँदा बालविवाहको विकराल रुप देखेको उनी बताउँछन्।

प्रवक्ता न्यौपानेले हेटौंडा-१ का ग्रामीण भेगका किशोरीहरु आमा बन्ने तयारीमा देखेको र उनीहरुलाई सुरक्षित र पोषणयुक्त खाद्य सामग्री वितरण गरि सचेतना कार्यक्रम दिएको बताए। उनले अन्य किशोरीलाई बालबिवाह गर्न बाट रोक्न सचेत गराएको पनि बताए।

हेटौंडाभित्र विकट र साबिकका ६ गाविस मिसिएर हेटौंडा उपमहानगरपालिका बनेकाले त्यस्ता विकट स्थानमा शिक्षा र चेतनाको कमीका कारण बालविवाह कायमै रहेको उनले बताए। हेटौंडा उमहानगरपालिका १९ वडामा विभाजित छ। उपमहानगरपालिकाभित्र विकट ग्रामीण बस्ती छन्। मकवानपुरको उत्तरी पश्चिमी क्षेत्रमा पर्ने राक्सिराङ, कैलाश गाउँपालिका र पूर्वी क्षेत्रमा पर्ने बकैया र वाग्मती गाउँपालिकामा कलिलै उमेरमा आमा बन्नेको संख्या बाक्लो छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell