PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

पाकिस्तानकी नैला कियानी सगरमाथाको चुचुरोमा पुग्ने यो सिजनको पहिलो अन्तर्राष्ट्रिय आरोही



रासस

पाकिस्तानकी नैला कियानी सगरमाथाको चुचुरोमा पुग्ने यो सिजनको पहिलो अन्तर्राष्ट्रिय आरोही
फाइल फोटो : नैला कियानी/इन्स्टाग्राम

काठमाडौं : थप दुई आरोही सगरमाथाको चुचुरोमा पुगेका छन्। आइतवार बिहान ८:०२ बजे नेपाली र पाकिस्तानी आरोही सगरमाथाको चुचुरोमा पुगेका हुन्।

सन् २०२३ को सगरमाथा आरोहणमा पहिलो अन्तर्राष्ट्रिय पर्वतारोही पाकिस्तानकी नैला कियानीले सफल आरोहण गरेकी हुन्। त्यस्तै, नेपाली आरोही पासाङतेम्बा शेर्पाले सगरमाथा आरोहण गरेका छन्।

दुवै आरोही इमेजिन नेपाल ट्रेक्स एण्ड एक्सपिडिसन कम्पनीबाट आरोहणमा गएका थिए। कम्पनीका कार्यकारी निर्देशक दावाग्याल्जे शेर्पाले यो यामको सगरमाथा आरोहणमा पहिलो आरोहण महिला अन्तर्राष्ट्रिय पर्वतारोहीबाट भएको बताए।

उनका अनुसार अहिले कतिपय आरोही सगरमाथाको हिलारी स्टेप पुगिसकेका छन् भने धेरै आरोही साउथकोल र आसपासमा छन्। आइतवार साँझसम्म धेरै आरोही सगरमाथाको चुचुरोमा पुग्ने कार्यकारी निर्देशक शेर्पाले जानकारी दिए।

वसन्त ऋतुको यो यामको सगरमाथा आरोहण शनिवारबाट सुरु भएको थियो। सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने काम) गरेपछि आरोहणको ढोका खुलेको हो। रोप फिक्सिङपछि पहिलो औपचारिक आरोहण सुरु भएको सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमेजिन नेपाल ट्रेक एण्ड एक्सपिडिसन कम्पनीले जनाएको छ।

यतिबेला सगरमाथाको आधार शिविर र दोस्रो शिविर आसपास आरोहणका लागि सयौँ सङ्ख्यामा आरोही प्रतिक्षारत छन्। पर्यटन विभागका अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका चार सय ६७ जनाले अनुमति लिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell