
काठमाडौं : कांग्रेसका पूर्व सांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
जिल्ला अदालत काठमाडौंबाट प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी लिएको हो। शेर्पा पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएपछि प्रहरीले उनलाई खोजी गरिरहेको थियो। शेर्पा केही समयदेखि सम्पर्क विहिन छन्। उनी कांग्रेस नेता हाल हिरासतमा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणसँग नजिक छन्।
चैत ११ गते यस प्रकरणमा केही मानिसलाई समातेपछि खाणलाई बयानमा नतान्नका लागि दवाव दिएको खुलेको छ।
'पहिले देखिनै हामीले उनलाई अनुसन्धानको निगरानीमा राखेका थियौं। अहिले आवश्यक भएर नै पुर्जी लिएको हो,' प्रहरी स्रोतले भन्यो।
अहिलेसम्म शरणार्थी प्रकरणमा प्रहरीले पूर्व गृहमन्त्री, सचिव लगायत १२ जनालाई पक्राउ गरेको छ। त्यस्तै केही मानिसलाई पुर्जी लिएर खोजी गरिरहेको छ। खोजी सुचीमा एमालेका निलम्बित सांसद टोपबहादुर रायमाझी समेत रहेका छन्।