PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

मह बनाउने डेराबाट ५० किलो चिनी बरामद, ७ जना भारतीय पक्राउ



रमेश पराजुली

मह बनाउने डेराबाट ५० किलो चिनी बरामद, ७ जना भारतीय पक्राउ

बुटवल : बुटवलमा लामो समयदेखि नक्कली मह बनाउने काममा सक्रिय रहँदै आएको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। बुटवल उपमहानगरपालिका वडा ११ सिर्जनानगरमा कोठा भाडामा लिएर बसी नक्कली मह बनाउने समूहलाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको विहार वीरपुरका ५२ वर्षीय मनिस धामी, सोही ठाउँका ५५ वर्षीय इन्द्रजित धामी, २१ वर्षीय पिन्टु धामी, ३१ वर्षीय सुधीर धामी, २० वर्षका रविन धामी, ४८ वर्षका अरुण धामी र २८ वर्षका बुदुवा धामी रहेका छन्। वडा प्रहरी कार्यालय बुटवल रामनगरका प्रमुख प्रहरी निरीक्षक अर्जुन पौडेलका अनुसार शनिबार राति बिशेष सुचनाको आधारमा पुगेको प्रहरी र जनप्रतिनिधिको संयुक्त टोलीले उनिहरुलाई नक्कली मह बनाउने सामानसहित पक्राउ गरेको जनायो।

बुटवल ११ सिर्जनानगरस्थित पंकबहादुर घर्ती, कुमारी क्षेत्री, शोभा बराल र रामेश्वर मानन्धरको घरमा कोठा भाडामा लिएर बस्दै आएका उनीहरु लामो समयदेखि नक्कली मह बनाउन सक्रिय रहँदै आएको प्रहरी निरीक्षक पौडेले बताए। उनीहरुले महको मुल्य भने सक्कली सरह नै लिने गरेको बताइएको छ।

प्रहरीले पंकबहादुरको घरमा डेरा गरी बस्ने बुदुवा र मसिनको कोठाबाट ५ पोका प्लाष्टिकभित्र रहेको महजस्तो देखिने तरल पदार्थ र २ टिन चाका, कुमारीको घरमा डेरा गरी बस्ने अरुणको कोठाबाट ३ पोका प्लाष्टिकभित्र रहेको महजस्तो देखिने तरल पदार्थ र २ बाल्टी चाका बरामद गरेको छ।

यस्तै रामेश्वरको घरमा डेरा गरी बस्ने ईन्द्रजित र पिन्टुको कोठाबाट ९ पोका प्लाष्टिकभित्र रहेको महजस्तो देखिने तरल पदार्थ र शोभाको घरमा डेरा गरी बस्ने सुधिर र रवीनको कोठाबाट १० पोका प्लाष्टिकभित्र रहेको महजस्तो देखिने तरल पदार्थ, २ टिन चाका र ५० किलो चिनी बरामद भएको प्रहरी निरीक्षक पौडेले बताए।

शनिबार राति ७ जना पक्राउ परेपछि यस्तो मह बनाउन लगाउने गिरोह भागेको बताइएको छ। महजस्तै देखाउन नक्कली महको चाकासमेत भारतबाटै ल्याउने र चिनीमा उक्त चाका पकाएपछि नक्कली मह बन्ने गरेको भेटिएको वडा ११ का सदस्य नहकुल शाही ठकुरीले बताए। ‘मौरीको मह भन्ने गराउन दुईचार वटा मौरी त्यही राख्ने। अनि भारतबाटै मौरीको चाकाजस्तै देखिने वस्तुलाई चिनी पानी बनाएर पगालेपछि महजस्तै बनाएर रुपन्देही तथा जिल्ला बाहिरसमेत बजारमा पुर्‍याएर उनीहरुले बेच्ने गरेको पाइयो’, शाहीले भने।

पक्राउ परेकाहरूलाई थप अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ। बरामद गरिएको मह कारबाहीका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवामा पठाइएको प्रहरी निरीक्षक पौडेलले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell