काठमाडौं : प्रहरी नियन्त्रणमा रहेका पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले आफू शरणार्थी ठगी प्रकरणमा संलग्न नभएको बताएका छन्। आइतवार सरकारी वकिल कार्यालयमा उपस्थित गराउँदा सञ्चारकर्मीसँगको संक्षिप्त प्रतिकृयामा उनले आफू सो प्रकरणमा संलग्न नभएको बताएका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नेता खाणलाई आइतवार दिउँसो ४ बजेतिर सरकारी वकिल कार्यालयमा उपस्थित गराएको थियो। त्यहाँबाट उनलाई म्याद थप गर्नको लागि जिल्ला अदालत काठमाडौं लगिएको हो। नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा प्रहरीले बैशाख २७ गते खाणलाई काठमाडौंको चुच्चेपाटीबाट पक्राउ गरेको थियो। प्रहरीलाई अनुसन्धानको लागि अदालतले खाणलाई थप चार दिन हिरासतमा राख्ने अनुमति दिएको छ।
यस प्रकरणमा सरकारका वहालवाला सचिव टेकनारायण पाण्डे लगायत १२ जना समातिएका छन्। त्यस्तै, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी लगायत अन्य फरार रहेका छन्। उनीहरुविरुद्ध पक्राउ पुर्जी गरी भएको छ।