PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

नक्कली शरणार्थी प्रकरणले कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अनिश्चित, खाण जोगाउन देउवाकहाँ नेताहरुको ‘डेलिगेसन’



नेत्र तामाङ

नक्कली शरणार्थी प्रकरणले कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अनिश्चित, खाण जोगाउन देउवाकहाँ नेताहरुको ‘डेलिगेसन’

काठमाडौं : कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउपछि नेपाली कांग्रेसको केन्द्रीय समिति अनिश्चित बनेको छ। कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले बैशाख मसान्तसम्ममा केन्द्रीय समिति बस्ने दाबी पटकपटक गर्दै आएका थिए।

महामन्त्री थापाले यही बैशाख १८ गते नयाँबानेश्वरमा आयोजना गरिएको श्रमिक सभामा बोल्दै केन्द्रीय समिति बैठकबारे भनेका थिए, ‘बैशाख मसान्तमा गर्ने केन्द्रीय समिति बैठकबाट नीति अधिवेशनको मिति तय गर्छ।’ अर्का महामन्त्री शर्माले पनि बैशाख अन्तिममा केन्द्रीय समिति बस्ने बताएका थिए।

गत भदौबाट कांग्रेसको केन्द्रीय समिति बैठक बस्न सकेको छैन। गत भदौ ५ यता कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पटक-पटक डाकिएपनि बस्न नसकेको हो। कांग्रेस नेता एवं समाजवादी चिन्तक डा प्रदीप गिरीको निधनपछि उक्त दिन कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमिति बैठक डाकेको थियो।

बैठक नेता गिरीको निधनप्रति श्रद्धाञ्जली दिन केन्द्रित भयो। त्यसपछि निर्वाचन लाग्यो। निर्वाचनका विषयमा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति र पदाधिकारी बैठकबाट नै निर्णय गर्‍यो।

निर्वाचनपछि पुस २२ गतेका लागि डाकिएको केन्द्रीय समिति स्थगित भयो। पुस २८ गतेका लागि बोलाइयो। उक्त दिनका लागि डाकिएको बैठक फेरि स्थगित गरी माघ १५ गतेका लागि सारियो। माघ १२ गते अर्को सूचना जारी गर्दै कांग्रेसले केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित गर्‍यो।

उपनिर्वाचनमा हार ब्योहोरेपछि कांग्रेसमा केन्द्रीय समितिको माग बढेको थियो। तर नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्ना नेताहरु तानेपछि केन्द्रीय समिति बोलाउनेबारे सभापति शेरबहादुर देउवा अलमलमा परेका हुन्।

अहिले पूर्व गृहमन्त्रीलाई जोगाइदिन भन्दै खाण निकट नेताहरु धुम्बाराहीमा डेलिगेसनसमेत जान थालेका छन्। मञ्जु खाण निकट नेतासमेत रहेकी कांग्रेस केन्द्रीय सदस्य सुशीला थिङ शनिवारमात्र खाणलाई जोगाउन भन्दै देउवा भेट्न पुगेकी थिइन्। उनीसँगै नागिनाकुमारी यादव, कान्तिका सेजुवाल, रूपा विक पनि धुम्बाराही पुगेका थिए।

खाणपत्नी मञ्जु अहिले फरार छिन्। यता अर्का केन्द्रीय सदस्य डा आरजु देउवाको नाम पनि मुछिएको छ यस प्रकरणमा।

अब बस्ने केन्द्रीय समितिले नीति अधिवेशन तय गर्ने तयारी थियो। केन्द्रीय समितिको नै टुंगो नलागेपछि नीति अधिवेशन अनिश्चित बनेको छ।
कांग्रेस केन्द्रीय समिति बैठकको टुंगो अझै नलागेको केन्द्रीय सदस्य नैनसिंह महर बताउँछन्।

‘केन्द्रीय समिति केही दिनमा बोलाउने भन्ने कुरा छ। त्यसमा नीति अधिवेशनको कुरा छलफल होला, तर कहिले होला भन्ने टुंगो छैन,’ महरले भने।

केन्द्रीय समितिको टुंगो अहिलेसम्म नलागेको अर्का केन्द्रीय सदस्य मधु आचार्यले बताए। ‘अहिलेसम्म कुनै निम्तो आएको छैन,’ आचार्यले भने।

केन्द्रीय समिति बैठकबारे अहिले छलफल भइरहेको र मिति तय भइनसकेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

‘अहिले केन्द्रीय कार्यसमिति बैठकबारे छलफल भइरहेको छ,’ मुख्य सचिव पौडेलले भने।

१७ महिनाअघि भएको १४औँ महाधिवेशनमा विविध कारण देखाउँदै कांग्रेसले नीति तय गर्न सकेको थिएन। त्यतिबेला महाधिवेशन नेतृत्व चयनमा केन्द्रित भयो।

आउने नयाँ कार्यसमितिले नीति अधिवेशन गर्ने गरी नेताहरु सहमतिमा पुगेका थिए। देउवाको नेतृत्वमा नयाँ कार्यसमिति आयो। देउवाको पहिलो कार्यकालजस्तै कांग्रेस फेरि सुस्ताउन थालेको छ।

देउवा सरकारमा छँदै गठबन्धनमा निर्वाचनमा गएको कांग्रेसले नतिजा ९२ क्षेत्रमा उम्मेदवार उठाउँदा ५७ मा मात्र जित निकाल्यो। यो जितलाई कांग्रेसले ठूलै सफलता मान्यो। किनकि, अघिल्लो निर्वाचनमा कांग्रेसले २३ सिट मुस्किलले जितेको थियो। निर्वाचनमा जितेपछि ढुक्कले सरकारको नेतृत्व ताकेको कांग्रेसले केन्द्रीय समिति भने ‘फ्रिज’मा राखेको छ। 

पछिल्लोपटक कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउपछि कांग्रेस पदाधिकारी बैठकमै केन्द्रित छ। केन्द्रीय समिति बैठक राख्न नसक्दा कांग्रेसले आफ्ना विभिन्न निर्णय केन्द्रीय कार्यसम्पादन समितिबाट गर्दै आएको छ।

नक्कली शरणार्थी प्रकरणकै बिच नेकपा (एमाले)ले भने केन्द्रीय समितिको बैठक गरेको छ। शनिवार सम्पन्न एमालेको बैठकले नेपालीलाई नक्कली शरणार्थी बनाई अमेरिका लैजाने प्रकरणको निष्पक्ष छानबिनको माग गरेको छ।

समसामयिक विषयका १६ प्रस्ताव पारित गर्दै एमालेले निष्पक्ष छानबिनको माग गरेको हो। एमालेले माओवादी शिविरमा लडाकुलाई राज्यले उपलब्ध गराएको रकमबारे पनि छानबिन माग गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell