PahiloPost

Jan 13, 2025 | २९ पुष २०८१

शीर्षस्थानको जावलाखेल मनाङसँग रोकियो, पेनाल्टीमा चुक्दा एनआरटीले फ्रेन्ड्ससँग अंक बाँड्यो



पहिलोपोस्ट

शीर्षस्थानको जावलाखेल मनाङसँग रोकियो, पेनाल्टीमा चुक्दा एनआरटीले फ्रेन्ड्ससँग अंक बाँड्यो
Photo: ANFA

काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिगमा आइतवार सम्पन्न दुबै खेल बराबरीमा रोकिएका छन्। दुबै खेलमा २-२ गोलको बराबरी हुँदा जावलाखेल युथ क्लबले मनाङ मर्स्याङदी क्लबसँग र न्युरोड टिम (एनआरटी)ले फ्रेन्ड्स क्लबसँग बराबरी खेलेको हो।

च्यासल मैदानमा सम्पन्न खेलमा एनकोटो मासोअबीको गोलमा जावलाखेलले ३३ औँ मिनेटमा अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले अघि रहेको लिग लिडरका लागि दोस्रो गोल ७५ औँ मिनेटमा हिसुब थपलियाले गरे। तर, अन्तिम १० मिनेटमा सम्हालिन नसक्दा जावलाखेल अंक बाँड्न पुग्यो। खेलको ८० औँ मिनेटमा बिसोन गुरुङले गोल गर्दै मनाङको खाता खोले। त्यस्तै ९० औँ मिनेटमा सुमित श्रेष्ठले गोल थप्दा खेल २-२ गोलको बराबरीमा रोकियो।

त्यस्तै एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा २८ औँ मिनेटमा रफिक अमिनुको गोलमा फ्रेन्ड्स क्लबले अग्रता बनाएको थियो। दोस्रो हाफमा फ्रेन्ड्स क्लबका अमित तामाङले आत्मघाती गोल गर्दा एनआरटी बराबरीमा आयो। तर, तामाङले नै ६६ औँ मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल थपे। तर, एनआरटीका निकोलस सङले ८९ औँ मिनेटमा गोल फर्काएपछि खेल २-२ को बराबरीमा रोकिएको हो। त्यसअघि खेलको ८० औँ मिनेटमा पाएको पेनाल्टीको अवसरमा एनआरटीका जिन एनिसेट एमबोउमी चुकेका थिए।

योसँगै १८ औँ चरण चलिरहँदा ३१ अंक जोडेर जावलाखेल शीर्ष स्थानमा कायम छ भने २२ अंक जोडेको मनाङ तालिकाको सातौँ स्थानमा छ। त्यस्तै २० अंक जोडेको फ्रेन्ड्स क्लब ११ औँ स्थानमा तथा २२ अंक जोडेको एनआरटी ८ औँ स्थानमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell