PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

भैरहवाबाट प्रहरीसँग सम्पर्कविहीन भएका टोपबहादुर १० दिनपछि कसरी बुढानिलकण्ठबाट समातिए?



सविन ढकाल

भैरहवाबाट प्रहरीसँग सम्पर्कविहीन भएका टोपबहादुर १० दिनपछि कसरी बुढानिलकण्ठबाट समातिए?

काठमाडौं: नेपाल प्रहरीले नेकपा (एमाले) का सांसद टोपबहादुर रायमाझी पक्राउ गरेको छ। आइतबार साँझ काठमाडौंको बुढानिलकण्ठस्थित एक घरबाट रायमाझीलाई प्रकाउ गरिएको प्रहरीले जानकारी दिएको छ।

नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुबेरबहादुर कठायतले रायमाझी काठमाडौंबाट समातिएको पुष्टि गरे। 'हामीले बुढानिलकण्ठबाट नियन्त्रणमा लिएका हौं,' प्रवक्ता कठायतले भने।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा अदालतबाट प्रहरीले पक्राउको अनुमित लिएसँगै उनी फरार भएका थिए। वैशाख २० गतेदेखि उनी फरार थिए। 

जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिँदा गृहजिल्ला अर्घाखाँचीमा रहेका उनी काठमाडौं फर्कने क्रममा भैरहवाबाट सम्पर्कविहीन भएका थिए। सोही दिन राति ९ बजेबाट राइमाझीको मोबाइल अफ भएको थियो।

उनी भारतमा लुकेर बसेको सूचना प्रहरीले पाएको थियो। तर एक्कासी १० दिनपछि उनी काठमाडौंमा समातिएको प्रहरीको दाबी रहेको छ। नेपाल प्रहरीको विषेश टोलीले उनलाई पक्राउ गरेको हो। प्रहरीको दाबी अनुसार उनी पोखराबाट काठमाडौं आएका हुन्।

केन्द्रीय अनुसन्धान व्यूरोको टोली भारतमा समेत पुगेको प्रहरी उच्च स्रोतले जानकारी दिएको थियो। ७७ वटै जिल्ला प्रहरीले खोजी गरिरहेको बेला उनी भैरहवाट काठमाडौं कसरी प्रहरी आँखा छलेर आए भन्ने जवाफ प्रहरीले दिइसकेको छैन।

तत्कालीन नेकपा विवादपछि एमाले रोजेका रायमाझी पूर्वमाओवादी नेता हुन्। २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा अर्घाखाँचीबाट उनी निर्वाचित भएका थिए।  एमालेको दशौं महाधिवेशनबाट उनी सचिव चुनिएका थिए। शरणार्थी प्रकरणमा मुछिएपछि पार्टीले जिम्मेवारीबाट निलम्बन गरिसकेको छ। 

रायमाझीका छोरा सन्दीपलाई प्रहरीले वैशाख २० गते नै बुटवलबाट पक्राउ गरेको थियो। टोपबहादुरका छोराको नाममा डेढ करोडको तीन वटा चेक ठगी गिरोहले काटेको भेटिएको छ।

शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण पनि वैशाख २७ गते समातिएका छन्। त्यस्तै सचिव टेकनारायण पाण्डेसहित १३ जना अहिलेसम्म समातिको प्रहरीले जनाएको छ। अन्य तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell