काठमाडौं: शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा (एमाले) का सांसद टोपबहादुर रायमाझीलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासत कक्षमा राखिने भएको छ।
आइतबार साँझ बुढानिलकण्ठस्थित एक घरबाट प्रकाउ परेका उनलाई परिसरमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा मुछिएपछि रायमाझी फरार थिए। वैशाख २० गते जिल्ला अदालत काठमाडौंबाट प्रहरीले पक्राउ पुर्जी लिएसँगै उनी फरार भएका थिए।
सोही प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण पनि वैशाख २७ गते नै पक्राउ परिसकेका छन्। खाणलाई पनि परिसरमा नै राखिएको छ। उनलाई डिएसपीको कक्षमा राखिएको छ।
रायमाझीलाई अन्य कैदीसहर राखिने वा खाणजस्तै छुट्टै व्यवस्था हुने प्रहरीले यकिन गरेको छैन।
शरणार्थी प्रकरणमा अहिलेसम्म दुई पूर्वमन्त्रीसहित १३ जना पक्राउ परिसकेका छन्। अन्य तीन जनाविरुद्ध प्रहरीले पक्राउ अनुमति लिइसकेको छ।