PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

सकियो यसवर्षको सिकार याम, तीन झारलको सिकार भएन



रासस

सकियो यसवर्षको सिकार याम, तीन झारलको सिकार भएन
प्रतीकात्मक फाइल फोटो।

बलेवा : ढोरपाटन सिकार आरक्षमा यस वर्षको सिकार याम सकिएको छ। सिकारीले नाउर र झारलको सिकार गरेर फर्किएसँगै सिकार याम अन्त्य भएको हो।

दोस्रो सिकार याममा ढोरपाटनमा १२ नाउर र छ झारलको सिकार भएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दोस्रो सिकार यामको लागि नौ झारलको कोटा निर्धारण गरे पनि तीन झारलको कम सिकार भएको हो।

हिमालयन सफारिज प्रालिबाट आएका तीन विदेशी सिकारीले यस पटक निर्धारित कोटामा तीन झारलको सिकार गर्न नसकेको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले बताए। बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत आठ देशका पेसेवर विदेशी सिकारीले यस वर्षको दोस्रो याम (फागुन-बैशाख)मा सिकार गरेका थिए।

यस पटक सिकारीले एक नाउरको पाँच लाख २० हजारदेखि सात लाख ८० हजारसम्म र झारलको तीनदेखि तीन लाख १० हजार रुपैयाँसम्म राजस्व तिरेका थिए। पहिलो याममा एक नाउरको २० लाख पाँच हजार रुपैयाँ र झारलको छ लाख रुपैयाँ राजस्व बुझाइएको थियो। सिकारको माग बढी हुँदा राजस्वको दर पनि बढ्ने र माग घट्दा राजस्व पनि घट्ने गरेको छ।

यस वर्षको पहिलो सिजनमा आठ नाउर र छ झारलको सिकार कोटा निर्धारण गरिए पनि सात नाउर र पाँच झारलको सिकार भएको थियो। आरक्षमा सिकार गरेपछि अधिकांश सिकारीले मासु खान्छन् भने सिङ, खुर र छाला मात्रै आफ्नो देशमा लैजान्छन्। अन्तर्राष्ट्रिय तहमा हुने प्रतियोगितामा उनीहरुले सिङको प्रतिस्पर्धा गरेर ट्रफी जित्ने गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell