PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

गृह प्रशासन नै ‘कब्जा’मा लिएर ठगी धन्दा चलिरहँदा कसरी चोखै निस्किए बादल?



सविन ढकाल

गृह प्रशासन नै ‘कब्जा’मा लिएर ठगी धन्दा चलिरहँदा कसरी चोखै निस्किए बादल?

काठमाडौं : नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै २०७४ सालदेखि नै ठगी सुरु भएको अनुसन्धानमा खुलेको छ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा २०७६ जेठमा भुटानी शरणार्थी समस्या समाधानका लागि पूर्व सहसचिव बालकृष्ण पन्थीको अध्यक्षतामा कार्यदल गठन भएको थियो।

कार्यदलले केही शरणार्थीको प्रमाणिकरण छुटेको प्रतिवेदन बुझाएपछि ठगी गिरोहले ठाउँ बनाएको थियो। कार्यदल बनाउँदा नै गिरोहले चलखेल सुरु गरिसकेका थिए।

यो सबै भइरहँदा गृह मन्त्रालयको बागडोर भने रामबहादुर थापा ‘बादल’ले सम्हालिरहेका थिए। एमाले र नेकपा (माओवादी केन्द्र) एक भएपछि बादल गृहको जिम्मेवारीमा पुगेका थिए।

२०७४ फागुनमा बादल गृहमन्त्री भए। अहिले नक्कली भुटानी शरणार्थी प्रकरण बाहिरिँदा उनी भने अनुसन्धानको दायरभन्दा बाहिर नै छन्। त्यतिमात्र होइन पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परिसकेका छन्।

जुन समयमा गिरोहले धेरै जसो ठगीको कारोबार चलाएको थियो त्यतिखेरका गृहमन्त्री बादल भने अप्रत्यासित हिसाबले ‘चोखा’ देखिएका छन्। तर उनका टिमका सदस्यहरु भने भटाभट मुछिइरहेका छन् यस प्रकरणमा।

पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’। फाइल फोटो।


‘गृहमन्त्रीज्यू यस्तो विषयमा धेरै चासो देखाउने मान्छे होइन। उहाँका सहयोग झन् छोरा नै चम्बु हुन्,’ गृह मन्त्रालयका एक कर्मचारीले बादलको कार्यकालको अवस्था सुनाए।

बैशाख १९ गतेदेखि बादलका सल्लाहकार डा इन्द्रजीत राई प्रहरी हिरासतमा छन्। प्रहरीले उनलाई १९ गते बिहान ललितपुरबाट समातेको हो।

त्यस्तै, उनका छोरा नीरज राई पनि यसै प्रकरणमा मुछिएका छन्। बादल गृहमन्त्री हुँदा इन्द्रजीत गृहमा पुगे। त्यसैको फाइदा उठाएर बाबु छोरा नै ठगी प्रकरणमा संलग्न भएको देखिन्छ।

उनीहरूले नक्कली शरणार्थी गिरोहका विभिन्न मानिससँग भेट गरेर पटक-पटक साढे ४ करोड रुपैयाँ लिएको खुलेको छ। पक्राउ परेका अभियुक्तको डायरीमा राई बाबुछोराले काठमाडौंको विभिन्न रेस्टुरेन्ट र होटेलमा पुगेर रकम बुझेको खुल्छ।

इन्द्रजीत हिरासतमा भए पनि उनका छोरा भने फरार छन्। यस प्रकरणमा मानिसहरु समातिन थालेपछि व्यवसायी समेत रहेका निरज भारत पुगेको खुलेको छ।

बादलका सल्लाहकार डा इन्द्रजीत राईलाई आइतवार अदालतमा पेस गरिँदै गर्दा।


त्यसो त बादल गृहमन्त्री हुँदा यस प्रकरणमा सल्लाहकार राई र उनका छोरा मात्र होइन, बादलका छोरा पनि मुछिएका छन्। प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएर खोजी गरिरहेको छ बादलका छोरालाई। तर छोरा प्रतीक थापा भने भेटिएका छैनन्।

केही दिनअघि मात्र उनले विज्ञप्ति जारी गर्दै घटनामा आफू संलग्न नभएको र प्रहरीको अनुसन्धानमा सहयोग गर्ने बताएका थिए। तर उनी अहिले प्रहरीको सम्पर्कमा नै छैनन्। बाबु गृहमन्त्री हुँदा छोरा प्रतीकले लाभ लिने गरेका आरोप नलाग्ने गरेको भने होइन।

बादल गृहमन्त्री हुँदा गृह सचिव भने प्रेमकुमार राई थिए। उनी गृहमन्त्री भएको एक महिनामा नै राई गृहसचिव भएर गृहमा टेके। २०७४ चैत २६ गतेदेखि २०७६ माग २० गतेसम्म उनी गृह मन्त्रालयमा रहे। राई पनि यस प्रकरणमा चोखा छैनन्।

अभियुक्तको बयानबाट उनी पनि पोलिएका छन्। राई हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त हुन्। तर प्रहरीले राईविरुद्ध गतिलो प्रमाण फेला पारेको छैन। उनी पनि अनुसन्धानको घेरा भन्दा बाहिर भने छैनन्।

‘बादल भन्दा त राई कै आशङ्का बढी छ,’ एक उच्च तहका प्रहरी अधिकृतले सुनाए।

रामबहादुर थापापछि गृह मन्त्रालयको जिम्मेवारी बालकृष्ण खाणको हातमा पुग्यो। २०७८ असार २९ गते उनी गृहमन्त्री भए। चार महिना अघिसम्म उनी गृहमन्त्री नै थिए। गत पुसमा मात्र उनी हटेका हुन्।

बादलका छोरा प्रतीक थापा। फाइल फोटो।


अहिले खाण प्रहरी हिरासतमा छन्। बैशाख २७ गते उनलाई प्रहरीले काठमाडौंको चुच्चेपाटीबाट पक्राउ गरेको हो। खाँण गृहमन्त्री भएपछि गृहसचिव बनेका थिए टेकनारायण पाण्डे। पाण्डे पनि अहिले प्रहरी हिरासतमा छन्। बैशाख २० गते उनलाई प्रहरीले नियन्त्रणमा लिएको सार्वजनिक गरेको थियो।

बालकृष्ण खाण गृहमन्त्री हुँदा स्वकीय सचिव (पीए) बनेका नरेन्द्र केसी पनि सोही दिन समातिए। खाणकी श्रीमती मञ्जुको पनि यही प्रकरणमा रकम लिएको अडियो बाहिरिएको छ। मञ्जु हाल सम्पर्कविहीन छिन्।

यसरी हेर्दा खाण गृहमन्त्री हुँदा गृहका कर्मचारीदेखि आफन्तसँग जोडिएका छन्। जुन बादलको भन्दा फरक छैन। फरक यति मात्र हो बादल अहिलेसम्म अनुसन्धानबाट चोखा देखिएका छन्।

यस प्रकरणमा कांग्रेस सांसद आरजु देउवाको पनि नाम नआएको भने होइन। तर प्रहरीले प्रमाण फेला पार्न नसक्दा ‌औपचारिक रुपमा पुष्टि गर्ने आधार भने छैन।

उता खाणका निकट सहयोगी पूर्व सभासद् आङटावा शेर्पा पनि जोडिएका छन्। शेरबहादुर देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकबाट रामेछाप कांग्रेसको जिल्ला सभापति भएका आङटावा शेर्पा यस प्रकरणमा तानिएका पछिल्ला पात्र हुन्।

म्याद थपको लागि आइतवार पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई अदालतमा पेस गरिँदै।


गिरोहले गृह प्रशासनलाई नै हातमा लिएर ठगी धन्दा चलाएको अहिलेसम्मको प्रहरी अनुसन्धानमा खुलेको छ। जति खेरसम्म उनीहरूले ठगी धन्दा चलाएर त्यति समय उनीहरूले गृहका कर्मचारी, मन्त्री, सचिवलाई हातमा लिएको देखिन्छ।

उनीहरूले पनि गिरोहबाट लाखौँ रकम बुझेका थिए। तर त्यही अवधिमा गृहमन्त्री भएका बादल भने चोखा देखिएका छन्। अहिलेसम्म प्रहरीले बादलसम्म पुग्ने लहरो भेटेको छैन। तर उनका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी भइसकेकोले पक्राउपछि बादलसँगको थप ‘कनेक्सन’ नखुल्ला भन्ने अवस्था भने छैन।

त्यस्तै, प्रहरीले तत्कालीन गृह मन्त्रालयमा रहेका कर्मचारीहरुमाथि पनि अनुसन्धान तथा सोधपुछ गरिरहेको छ। यहाँबाट पनि बादलको ‘कनेक्सन’ जोडिन सक्ने सम्भावना जीवितै छ।

नक्कली शरणार्थी प्रकरणमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ। केही फरार छन्। प्रहरीले सङ्गठित अपराधमा म्याद थप गरेर अनुसन्धान गरिरहेका छ।

अबको केही दिनमा प्रहरीले ठगी, सङ्गठित अपराध र कीर्तेमा अनुसन्धान गरेर फाइल सरकारी वकिल कार्यालयमा बुझाउने छ। त्यसपछि मात्र सरकारी वकिल कार्यालयले फाइल अदालतमा लैजाने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell