PahiloPost

May 23, 2026 | ९ जेठ २०८३

मोरङमा एक बङ्गुर फर्ममा भेटियो ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण



रासस

मोरङमा एक बङ्गुर फर्ममा भेटियो ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण
प्रतीकात्मक तस्विर।

बेलबारी (मोरङ) : मोरङको बेलबारीस्थित एक बङ्गुर फर्ममा ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण देखापरेको छ। सो फर्मका बङ्गुर मर्न थालेपछि नमूना परीक्षणका लागि प्रयोगशाला पठाइएको छ।

बेलबारी-४ मा रहेको ठूली एकीकृत कृषि फर्ममा रहेको बङ्गुरमा सो रोगको लक्षण देखापरेको हो। चारो नखाने, पानी हल्का खाने र ज्वरो आउने लक्षण देखिने फर्मका सञ्चालक धीरेन लिम्बूले बताए।

‘केही दिनमै खोरै रित्तियो, लाखौँको लगानी खेर गयो’, वैदेशिक रोजगारीको सिलसिलामा नौ वर्ष कोरियामा बिताएका उनले भने।

उनले विदेशमा सिकेको सीप स्वदेशमै गर्नुपर्छ भनेर पुँजीसँगै सीप भित्र्याएका थिए। २५ लाख रुपैयाँभन्दा धेरैको नोक्सानी भएको उनले जानकारी दिए।

छेउमै रहेका बाख्रा फर्म र माछा पोखरीमा भने उक्त रोगले असर नदेखाएको जनाइएको छ। उनले २२ कट्ठा जमिनमा तीन वर्षअघिदेखि फर्म सञ्चालन गर्दै आएका छन्।

बेलबारी नगरपालिकाका पशु विकास अधिकृत बाबुराम बस्नेतले भने, ‘अफ्रिकन स्वाइन फिभरको लक्षण देखिएपछि प्रयोगशाला परीक्षणका लागि विराटनगर हुँदै काठमाडौं पठाइएको छ।’

रोगको लक्षण हेर्दा अफ्रिकन स्वाइन फिभर नै हुनसक्छ तर प्रयोगशालाको विस्तृत प्रतिवेदन नआउञ्जेल यकिन भन्न नसकिने उनले बताए। उनका अनुसार यो रोगको लक्षण दुई वर्षअघिमात्र नेपालमा भित्रिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell