काठमाडौं : बैशाख २७ गतेदेखि प्रहरी हिरासतमा रहेका कांग्रेस नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई बयानको लागि सरकारी वकिलको कार्यालय काठमाडौं लगिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंमा रहेका खाणलाई सोमवार बिहान बयानको लागि सरकारी वकिल कार्यालय लगिएको हो। पक्राउ गरेको ६ दिन बितिसक्दा पनि खाणको बयान भएको थिए। दोस्रो पटक जिल्ला अदालत काठमाडौंले खाणलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिइएको छ।
नक्कली भुटानी शरणार्थी बनाएर करौडौं रुपैयाँ ठगी गरेको प्रमाण भेटिएपछि प्रहरीले खाणलाई काठमाडौंको चुच्चेपाटीबाट नियन्त्रणमा लिएको हो। यस प्रकरणमा अहिलेसम्म १३ जना समातिएका छन्।
आइतवार साँझ मात्र प्रहरीले नेकपा (एमाले) सचिव एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई पक्राउ गरेको थियो। उनलाई सोमवार अदालतमा हाजिर गराइदैँछ।
सोही प्रकरणमा नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलगायतलाई प्रहरीले पक्राउ गरिसकेको छ। उनीहरुविरुद्ध ठगी र संगठित अपराधमा अनुसन्धान भइरहेको छ।