PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

थाइल्यान्डका मतदाताद्वारा सैनिक समर्थित शासन अस्वीकार, तर के जनमतको कार्यान्वयन होला ?



पहिलोपोस्ट

थाइल्यान्डका मतदाताद्वारा सैनिक समर्थित शासन अस्वीकार, तर के जनमतको कार्यान्वयन होला ?
पहिलो दल बनेको मुभ फर्वार्ड पार्टीका नेता। Photo : Reuters

थाइल्यान्डका जनताले सैनिक समर्थित शासन व्यवस्थालाई अस्वीकार गरेका छन्। आइतवार भएको मतदानमा सत्तारुढ सुनाइटेड थाइ नेश्नल पार्टीलाई मतदाताले अस्वीकार गरेका हुन्।

थाइल्यान्डको निर्वाचन आयोगका अनुसार निर्वाचनबाट मुभ फर्वाड पार्टी पहिलो दल बनेको छ। सो पार्टीले ११२ क्षेत्रमा जित निकालेको छ भने ३९ 'पार्टी लिस्ट' सिट जितेको छ। दोस्रोमा फिउ थाइ पार्टी रहेको छ। यो पार्टीले ११२ क्षेत्रमा जित निकाल्दै २९ पार्टी लिस्ट सिट जितेको छ। फिउ थाइको नेतृत्व पेतङतरन सिनावात्राले गरेकी छिन्। उनी पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी हुन्।

६८ क्षेत्र र ३ पार्टी लिस्ट सिटसहित भुमजेथाइ पार्टी तेस्रो, ३९ क्षेत्र र १ पार्टी सिटसहित पलाङ प्रजारथ पार्टी चौथो बनेको छ। वर्तमान प्रधानमन्त्री प्रयुथ चन ओचाको पार्टी युनाइटेड थाइ नेश्न पार्टीले २३ क्षेत्रमा जित र १३ पार्टी लिस्ट सिट जित्दै पाँचौ दल बनेको छ।

प्रयुथले सन् २०१४ मा 'कू'को नेतृत्व गर्दै थाइल्यान्डमा सैनिक शासन लागू गरेका थिए। आइतवारको निर्वाचनमा भने सत्तारुढ गठबन्धनले मात्र १५ प्रतिशत सिट जित्न सफल भयो।

यो मतदानले जनता 'प्रयुथ शासन'को पक्षमा नरहेको देखिएको छ। मतदातले आफ्नो मतबाट परिवर्तन खोजेको थाइल्यान्डका राजनीतिक विश्लेषकले बताएका छन्।

सबैभन्दा ठूलो दल बनेको मुभ फर्वार्डका ४२ वर्षीय पिता लिमजारोएनराटले अब देशको ३० ‍औं प्रधानमन्त्री बन्न तयार भएको बताएका छन्। निर्वाचनको समयमा यो दलले यति धेरै सिट जित्छ भनेर कसैले आकंलन गरेका थिएनन्।

तर, सैनिक समर्थित सरकारले जनताले दिएको परिवर्तनको 'म्यान्डेट' पालना गर्छ कि गर्दैन भनेर प्रश्न उठ्न थालेको छ। संसदमा अर्को सरकार गठनका लागि हुने मतदानमा प्रधानमन्त्री प्रयुथको नेतृत्वमा रहेको सैनिक सरकारले नियुक्त गरेका २५० जना सिनेटरले मतदान गर्न पाउनेछन्। त्यसले मुभ फर्वार्ड पार्टी र फिउ थाइ पार्टीबिच गठबन्धन रोक्न सक्ने जनाइएको छ। यी दुई पार्टी बिच राम्रो सम्बन्ध पनि छैन। सिनेटमा संख्या जुटाउन उनीहरुले तेस्रो दलसहित अरुलाई पनि आफ्नो पक्षमा ल्याउनुपर्ने हुन्छ। तर, त्यसको सम्भावना निकै न्यून रहेको बताइन्छ। यद्यपि, विपक्षी दलहरु गठबन्धन बनाउन छलफलमा भने छन्।

यो जनमतपछि फेरि 'कू' हुने सम्भावना नरहे पनि मुभ फर्वार्ड पार्टीलाई नै अदालतले प्रतिबन्ध लगाउन सक्ने समेत आशंका गरिएको छ। सन् २०२० मा फ्युचर फर्वार्ड पार्टीलाई त्यसरी नै प्रतिबन्ध लगाइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell