PahiloPost

Jan 13, 2025 | २९ पुष २०८१

लुम्बिनी प्रदेश : आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी धनबहादुर मास्कीलाई



पहिलोपोस्ट

लुम्बिनी प्रदेश : आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी धनबहादुर मास्कीलाई

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले धनबहादुर मास्कीलाई अर्थमन्त्रीको जिम्मेवारी दिएका छन्।

मास्कीलाई सोमबार आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको हो। मास्की नेकपा माओवादी केन्द्रबाट दाङ ३ (२) बाट निर्वाचित भएका हुन्।

मुख्यमन्त्री चौधरीसँगै गत वैशाख १५ गते तीन जना मन्त्रीले बिना विभागीय मन्त्रीका रुपमा शपथ लिएका थिए। मास्कीले जिम्मेवारी पाएपनि उनिसँगै मन्त्री बनेका नागरिक उन्मुक्ति पाटीका धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डेको अझै जिम्मेवारी तोकिएको छैन।

वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका चौधरीले ६ दिनमै विश्वासको मत लिएका थिए। तर, सत्ता साझेदार दलहरुबिच मन्त्रालयको भागबन्डा नमिलेको र दलहरुले मन्त्री छनोट गर्न नसक्दा सरकार विस्तारमा ढिलाइ भएको हो।

दुईजना बिना विभागीय मन्त्रीलाई पनि एकदुई दिनभित्र मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ। साथै नयाँ मन्त्री थप गर्ने तयारीमा मुख्यमन्त्री चौधरी छन्।

बजेट बनाउने बेलामा मन्त्रालय मन्त्रीबिहीन भएपछी आर्थिक मामिला मन्त्रीको मात्रै जिम्मेवारी तोकिएको र बाँकी मन्त्रीको जिम्मेवारी र विस्तार अब केही दिन भित्र गरिने सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले जानकारी दिए। सबै दललाई सरकारमा सहभागी गराउनुपर्ने भएकाले भागबन्डामा सहमति जुटाउन समय लागेको उनको भनाई छ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा आठ राजनीतिक दल र एक स्वतन्त्रगरी ५३ जना सांसदले सरकारलाई समर्थन गरेका छन्‍। दलहरुबिच कांग्रेसबाट मुख्यमन्त्रीसहित ४ जना, माओवादीबाट ३ जना र अन्य साना दलबाट चार जना मन्त्री बन्ने सहमति भएको छ। तर कुन दललाई कुन मन्त्रालय दिने भन्ने अझै टुंगो लाग्न बाँकी छ।

यसअघि एमालेबाट मुख्यमन्त्री बनेका लिला गिरीले प्रदेशका मन्त्रालय १३ बाट १० मा झारेका थिए। तर कांग्रेस-माओवादीसहितको सरकारले भने भागवण्डा मिलाउन मन्त्रालय थप्ने तयारी गरेको छ। स्रोतका अनुसार सरकारलाई समर्थन गरेका दललाई मन्त्रालयको भागबन्डा मिलाउनुपर्ने भएपछि मन्त्रालय थप्ने तयारी गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell