काठमाडौं : नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले भुटानी शरणार्थी प्रकरणमा आफ्नो चरित्र हत्या गरिएको बताएकी छन्। सोमवारको प्रतिनिधिसभा बैठकमा सांसद राणाले यस्तो बताएकी हुन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा राणाको नाम पनि मुछिएको छ। उनले पनि रकम लिएको भन्दै अडियो बाहिरिएको छ, सो अडियोलाई आरजुले 'फेक' भन्दै आएकी छिन्।
सोमवार प्रतिनिधिसभामा पनि उनले उक्त अडियो ‘फेक’ भएको जिकिर गरिन्। उक्त अडियो जाँच गर्न सीआइबी र साइबर क्राइम्स ब्युरोमा रिपोर्ट दिएको पनि उनले बताइन्।
‘छ दिनअगाडि मेरो नाम लिएर बनाइएको भुटानी शरणार्थीमा संलग्न भनेर बनाइएको फेक अडियोको फरेन्सिक टेस्टको लागि सीआइबी र साइबर क्राइम्स ब्युरो लाई दिएको थिएँ। दर्ता गर्न पनि मानिएको थिएन। तीन घण्टा लाग्यो त्यो दर्ता गराउन। त्यसको पनि जवाफ म गृह मन्त्रालयबाट चाहन्छु,’ उनले भनिन्।
यो प्रकरणमा आफ्नो चरित्र हत्या भएको उनको भनाइ थियो। उनले भनिन्, ‘दिस इज अ रेप अफ माइ क्यारेक्टर। महिला राजनीतिमा आउँदा सबैकुरा बेहोर्नुपर्छ, म बेहोरिराछु। यस्तो कदम महिलाप्रति नगरियोस्।’
यो प्रकरणमा छिट्टै अनुसन्धान गर्न उनले सरकारको ध्यानाकर्षण समेत गरिन्। यो प्रकरण देशकै लागि लज्जास्पद रहेको उनले बताए।
‘यो केसको फाइनल रिपोर्ट आओस् भनेर म जतिको आतुर कोही छैन,’ राणाले संसदमा भनिन्।
यो प्रकरणमा हालसम्म प्रहरीले १३ जनालाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ। प्रहरीले पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायतलाई पक्राउ गरेको छ।