काठमाडौं : आइतवार पक्राउ परेका नेकपा (एमाले) सचिव एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले सरकारी वकिल कार्यालयमा उपस्थित गराएको छ। हिरासतबाट सोझै ल्याइएका उनी सरकारी वकिल कार्यालयमा आत्मविश्वासका साथ उपस्थित भएको देखियो।
बालकृष्ण खाणलाई जस्तै उनलाई पनि हतकडीबिना नै यहाँ पुर्याइएको हो। यतिसम्म कि उनले मुहारमा मास्क समेत लगाएका थिएनन्।
चिटिक्क मिलेको कोट-पाइन्ट र ढाका टोपीमा सजिएर उनी कार्यालय पुगेका हुन्। उनको हाउभाउ देख्दा ११ दिनदेखि फरार रहेका व्यक्ति भन्ने खालको थिएन।
बैशाख २० गते उनलाई जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर प्रहरीले आइतवार नियन्त्रणमा लिएको थियो। नक्कली शरणार्थी प्रकरणमा उनले लाखौं रुपैयाँ लिएको प्रहरीको दावी छ।