PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रचण्डको दूतका रुपमा पूर्वसभामुखको भँडास, टोपबहादुर र बालकृष्ण कौडीमा पनि लिलाम नहुने विप्लवको टिप्पणी



प्रकाश भण्डारी

प्रचण्डको दूतका रुपमा पूर्वसभामुखको भँडास, टोपबहादुर र बालकृष्ण कौडीमा पनि लिलाम नहुने विप्लवको टिप्पणी
विप्लवको फेसबुकबाट

काठमाडौं : सोमवार जमलस्थित राष्ट्रिय नाचघरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइपुग्ने प्रचार थियो। ५९ औं विद्यार्थी दिवसको अवसरमा माओवादी सम्बद्ध चार विद्यार्थी संगठनले संयुक्त रुपमा आयोजित ‘विद्यार्थी दिवस र अबको बाटो’ कार्यक्रमका प्रमुख अतिथिका रुपमा निम्त्याइएका प्रचण्ड नाचघरको कार्यक्रममा पुगेनन्। उनले आफ्नो साटो पूर्व सभामुख अग्नि सापकोटालाई पठाए।

कार्यक्रममा पूर्वप्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराई अतिथि बन्दा नेकपाका महासचिव नेत्रविक्रम चन्दले पनि मञ्च सेयर गरे। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र भट्टराई सुरुमै बोले। अरु नेता कार्यक्रम अवधिभर बसे। अनौठो त के भने ३ वर्ष सभामुख भएका सापकोटाले भँडास नै पोखे। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली माथिमात्रै होइन माओवादीप्रति नै निर्मम देखिएका थिए, सापकोटा आज।

‘टोपबहादुर रायमाझी भनेको कुन खालको अवसरवादी हो’

उनको आक्रोशको तारोमा आफ्नै पूर्व सहयात्री टोपबहादुर रायमाझी पनि परे। एमालेका ‍निलम्बित सचिव तथा सांसद टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा सोमवारसम्म फरार थिए, आज प्रहरीले म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखेको छ उनलाई।

फोटो : अटल सी को फेसबुकबाट। अग्नि सापकोटा सम्बोधन गर्दै।


विप्लवलाई साक्षी राखेर सापटकोटा रायमाझी माथि खनिए। युद्धकालदेखि नै रायमाझी अवसरवादी भएको आरोप सापकोटाको थियो। ‘अरु मान्छेलाई त भ्रम छ, विप्लवलाई र हामीलाई त धेरै राम्रोसँग थाहा छ। टोपबहादुर रायमाझी भनेको कुन खालको अवसरवादी हो। त्यसले कतिसम्म पहिलेदेखि गरिरहेको थियो भन्ने हामीलाई थाहा थियो,’ उनले भने। वाहानावाजी गरेर सधैं दिल्लीमा बसेको सापकोटाले रायमाझीलाई आरोप लगाए। आफूले दिल्ली, बेइजिङ र वासिङट्न डिसीलाई सभामुख भएर राम्ररी बुझेको सापकोटाको भनाइ छ। ‘मैले दिल्लीलाई जे बुझे, बेइजिङलाई जे बुझे, वासिङ्टन डिसीलाई जे बुझे हामी एकताबद्ध भए धर्तीको कुनै पनि तागतले हामीलाई परास्त गर्न सक्ने छैन।'

‘माओवादीलाई अहिले घृणा र तिरस्कारको थुक थुकिरहेका छन्’

एमालेले आफ्ना तत्कालीन सांसदलाई गरेको कारवाहीको सूचना संसदमा नटाँसेकोमा ओलीले लगातार आक्रमण गरेको सापकोटाले बताए। उनले दुईपटक संसद पुनर्स्थापना हुदा आफू विजयी भएको दाबी गरे।  ‘विघटन त मूर्खहरुले गरे तर हाम्रो विजय पुनर्स्थापना भयो। विश्व इतिहासको रेकर्डमा भेट्नुहुन्न एकै वर्षमा दुई पटक संसद पुनर्स्थापना भएको,’ सापकोटाका भनाइ रह्यो।

माओवादी अर्कै धातुले बनेका हुन्छन् भन्ने आफूले पुष्टि गरेको पनि उनको दाबी छ। ‘माओवादीहरु अर्कै धातुले बनेका छन् भन्ने मैले पुष्टि गरेर आए। चक्रब्युहमा बसेर आएको छु,’ सापकोटाले भने। 

सापकोटाले अहिले माओ‌वादीलाई मान्छेले घृणाले थुकिरहेको टिप्पणी गरे। ‘कुनै दिन नेकपा माओवादीको नेता भनेर मान्छेहरुले सम्मान गर्थे भने अहिले घृणा र तिरस्कारको थुक थुकिरहेका छन्,’ माओवादीको विगत कोट्याए सापकोटाले।

टोपबहादुर र बालकृष्ण दुई कौडीमा पनि लिलाम नहुने बस्तु!

सापकोटामात्रै होइन पूर्व माओवादीका नेताको  प्रवृतिप्रति नेकपाका महासचिव विप्लव पनि निर्मम सुनिए। रायमाझीजस्ता युद्ध लडेका नेता पनि लिलाम नहुने वस्तुको रुपमा परिणत भएको टिप्पणी विप्लवको थियो।

‘हिजोसम्म मन्त्री उपप्रधानमन्त्री भएका मानिसहरु आज दुई कौडीमा बिक्री नहुने, लिलामी नहुने वस्तुका रुपमा फ्याँकिएका छन्,’ विप्लवको भनाइ थियो। नक्कली भुटानी शरणार्थी प्रकरण खोतल्दै जाँदा त्यसको लहरो कहाँ पुग्ने हो त्यसको सीमा नभएको उनको भनाइ छ। ‘हामीले खोतल्दै गयौं भने यसको के हुने हो कुनै सीमा छैन,’ अहिलेको व्यवस्थामाथि नै प्रश्न उठाइरहेका विप्लवको भनाइ छ, ‘संसदीय व्यवस्था भनेको यस्तो मेसिन बनेको छ कि असल मान्छे पनि यसमा हाले सिङ पुच्छर उम्रिन्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell