इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा सनराइजर्स हैदराबादलाई हराउँदै गुजरात टाइटन्सले प्लेअफमा स्थान पक्का गरेको छ। ३४ रनको पराजय ब्यहोरेसँगै १२ खेलबाट ८ अंक जोडेको हैदराबाद दिल्लीपछि प्लेअफको होडबाट बाहिरिने दोस्रो टोली बनेको छ।
अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सम्पन्न खेलमा टस हारेर ब्याटिङमा उत्रिएको गुजरातले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८८ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको हैदराबाद ९ विकेट गुमाएर १५४ रनमा समेटियो।
गुजरातका लागि शुभमन गिलले शतकीय इन्निङ्स खेल्दै सर्वाधिक १०१ रन बनाउँदा साइ सुदर्शनले ४७ रन बनाए। त्यसबाहेकका अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न नसक्दा ५ ब्याट्स्म्यानको खातामा शुन्य रनमात्र रह्यो। बलिङतर्फ हैदराबादका भुवनेश्वर कुमारले ५ विकेट लिँदा माक्रो जोनसेन, फजलहक फारोकी र टी नटराजनले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको हैदराबादको ब्याटिङ जम्न सकेन। हेनरिक क्लसेनले सर्वाधिक ६४ रन बनाउँदा भुवनेश्वर कुमारले २७ रन बनाए। त्यस्तै मयंक मारकण्डेय १८ रनमा अविजित रहँदा एइडन माक्रमले १० रन बनाए। बलिङतर्फ गुजरातका मोहित शर्मा र मोहम्मद शमीले समान ४ विकेट लिँदा यश डायलले १ विकेट लिए।
जितसँगै १३ खेलबाट १८ अंक जोडेको गुजरात प्लेअफमा स्थान सुरक्षित गर्ने पहिलो टोली बनेको छ। त्यस्तै हैदराबाद दिल्ली पछि प्लेअफको होडबाट बाहिरिने दोस्रो टोली बनेको छ।