PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

आउँदैनन् दर्शक, बनेन क्रेज : के शीर्ष डिभिजन लिग अनुत्पादक बन्नै लागेको हो?



मुकुन्द घिमिरे

आउँदैनन् दर्शक, बनेन क्रेज : के शीर्ष डिभिजन लिग अनुत्पादक बन्नै लागेको हो?

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगको १७औँ चरण सकिँदा शीर्ष स्थानको टोली र तालिकाको पुछारको टोलीबिचको अंक दुरी थियो - १३। अर्थात्, शीर्ष स्थानको जावलाखेलले ३० अंक जोड्दा तालिकाको पुछारमा रहेको एफसी खुमलटारको १७ अंक छ।

अझ १७औँ चरणसम्म शीर्षस्थानमा वर्चस्व कुनै क्लबको छैन। यही क्लब यसपाला च्याम्पियन बन्ला या रेलिगेशनमा जाला भनेर प्रक्षेपण गर्न सहज छैन। न त रेलिगेशनमै कुनै प्रक्षेपण गर्न सकिने अवस्था छ।

दश अंक अर्थात् तीन खेलभित्र त तेस्रोदेखि १४औँ स्थानभित्रका टोली छन्। १७औँ चरण सकिँदाको टेबलमा तेस्रो स्थानमा रहेको मछिन्द्रले २७ अंक जोड्दा पुछारको खुमलटारको खातामा १७ अंक छ।

शीर्षस्थानको प्याटर्न हेर्दा १६ चरणसम्म ‘भेरिएसन’ देखिन्छ। नौवटा चरणमा जावलाखेल युथ क्लब शीर्ष स्थानमा रहँदा चर्च ब्वाइज पाँच पटक तथा सातदोबाटो युथ क्लब दुई पटक र मनाङ मर्स्याङदी क्लब एक पटक शीर्षस्थानमा अडिए।

तथ्याङ्क हेर्दा लाग्छ :  यसपाला ‘ए’ डिभिजन लिगमा प्रतिस्पर्धा तीव्र छ। यत्तिको प्रतिस्पर्धा हुँदा लिगको माहोल पक्कै तातेकै अनुमान गर्नु भयो होला। त्यसो हो भने तपाईँको अनुमान सही नहुन सक्छ।

कागजी रुपमा प्रतिस्पर्धात्मक देखिएको यो लिगमा मैदानी अवस्था अलग छ।

खेलकुद पत्रकार हिमेशरत्न बज्राचार्यको शब्दमा ‘उपाधि होड’लाई मात्र आधार बनाएर भन्ने हो भने २०५३/५४ साल यताकै प्रतिस्पर्धात्मक लिग हो अहिलेको।

‘लिगको टेबल हेर्ने हो भने एकदम इन्ट्रेस्टिङ छ। २०५४ सालपछि यति कम्पिटिसन भएको। त्यतिबेला अन्तिम दिन अगाडि पाँच वटा टोलीले उपाधि जित्ने सम्भावना हुन्थ्यो’, फुटबलमा दख्खल राख्‍ने पत्रकार बज्राचार्यले भने, ‘यसपाली पनि त्यसरी नै गइरहेको छ। यसपाली एउटा टिमले लिड गर्ने तर होल्ड गर्न नसकेको अवस्था छ।’

तथ्याङ्कलाई कागजमै राखेर मैदानमा हेर्ने र समर्थकको मनोविज्ञानलाई आधार बनाउने हो भने लिगले फिटिक्कै माहोल बनाउन सकेको छैन। लिगमा स्तरीय प्रदर्शन गरिरहेका खेलाडी विदेशिँदा न त लिगको स्तर कायम भएको छ, न त दर्शकहरु तानिएका छन्।

‘कागजी रुपमा हेर्दा लिग रोमाञ्चक छ। तर, भित्र त्यस्तो छैन। नियमहरु लागू भएको छैन’, उनले भने, ‘हाफ टाइममा टिकटक बनाउनेदेखि सबैकुरा भइरहेका छन्। लिगलाई लिएर गाम्भीर्यता छैन।’

खाली रंगशाला, किन आउँदैनन् दर्शक?

लिगको तथ्याङ्कले दिएको ‘इमेज’लाई मैदानी यथार्थले तहसनहस पार्छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स, त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र च्यासल स्टेडियममा लिगका खेल चलिरहेका छन्।

शीर्ष डिभिजनको लिग चल्दा गुलजार बन्नुपर्ने रंगशालामा दर्शकको उपस्थित शून्य प्राय छ। दर्शकको हुटिङ गुञ्जिनुपर्ने ठाउँ टोलीले नै समर्थनमा ल्याएका बाजागाजा बाहेक मैदान भित्रका खेलाडीकै आवाज सुनिन्छ। मैदानको अवस्था त अझ टीठलाग्दो छ। रेफ्री विवादित बन्दै गर्दा हात हालाहाल हुनु ख्यालख्याल बन्दै गएको छ।

सामाजिक सञ्जालबाट र केही समर्थकलाई भेटेर लिगमा दर्शक नआउनुको कारण के होला भनेर प्रश्न गर्दा अधिकांशको उत्तर तीन विषयमा केन्द्रित पाइयो - पहिलो नेपाली लिगमा दर्शकको चासो घटेको छ। दोस्रो एन्फा र क्लबहरुले दर्शक तान्न सकेका छैनन्। तेस्रो काठमाडौं उपत्यकाभित्रै ‘ए’ डिभिजन लिगका क्लबहरु समेटिँदा बाँकी देश प्रतियोगितासँग जोडिएको छैन।

फुटबल क्षेत्रलाई नियाल्दै आएका जानकारहरुमाथि उल्लेखितबाहेक अन्य कारण पनि रहेको बताउँछन्। पूर्व अन्तर्राष्ट्रिय खेलाडी राजेश शाहीका अनुसार लिगको टाइमिङ पनि गलत हो। उनले दर्शक नआउनुका माथि उल्लेखित कारणमाथि विमति नरहेको जनाए।

‘तीमध्ये अलि बढी चाहिँ मार्केटिङ नपुगेको जस्तो लाग्यो। दर्शक तान्नका लागि धेरै गर्न सकिन्थ्यो’, प्रशिक्षकसमेत रहेका शाहीले भने, ‘दर्शकलाई पुरस्कार राखेर होस् या उनीहरुको समय मिलाएर होस्, गर्ने ठाउँ धेरै थिए। शनिवार र शुक्रवारमात्र लिग गराउँदा पनि मानिस रंगशालासम्म पुग्न सक्थे।’

पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक मिलन हाडा सिंगो टोल नै खेल हेर्न आएको विगत सम्झेर नोस्टालिक हुन्छन्। समुदायले नै फुटबल र टिममा अपनत्व लिने विगत कोट्याउँदै उनले नयाँ प्रविधिले मानिसहरुलाई खुम्च्याएको तर्क गरे।

‘हामी खेल्दा मनोरञ्जनका लागि यति 'भेराइटी' थिएन। रमाउन कि त सिनेमा जानुपर्थ्यो, कि त फुटबल हेर्न। नत्र नयाँ शहरतिर घुम्न’, हाडाले भने, ‘अहिले जनसंख्या त धेरै छ। त्यस हिसाबले रंगशालामा टन्नै मानिस हुनुपर्थ्यो। फुटबल र क्रिकेटको फ्यान फलोइङ पनि बढेको छ। तर इन्टरनेट र मोबाइलले हातहातमै विश्वस्तरको खेलहरु हेर्न पाउने अवस्था छ। त्यसले पनि दर्शक पनि घटेको हो कि जस्तो लाग्छ।’

राष्ट्रिय खेलकुद परिषद्बाट मुख्य फुटबल प्रशिक्षक रहिसकेका हाडा अन्तर्राष्ट्रिय प्रतियोगितामा दर्शक आइरहे पनि स्थानीय प्रतियोगितामा समर्थक घटेको बताउँछन्।

‘स्थानीय खेल र खेलाडीप्रति मान्छेको विशेष चासो देखिएन। मेस्सी र एम्बाप्पेको कुरा गर्न छाडेर नेपाली खेलाडीमा चासो कम दिएको देखिन्छ’, हाडाले आफ्नो अब्जरभेसन सुनाए, ‘उनीहरु आकर्षित हुन सकेनन्। यो भनेको नेपालमा विदेशी सिनेमा हेर्नेहरुले त नेपाली सिनेमाको गफ गर्दैनन् भनेजस्तै भयो।’

हाडाको भनाइमा पत्रकार बज्राचार्य फरक मत राख्छन्। २०५७ सालयता फुटबलको रिपोर्टिङ गरिरहेका उनी समर्थकहरुलाई लिगले तान्न नसक्नुको पछाडि नेतृत्वको गैर जिम्मेवार प्रवृतिदेखि सामाजिक संरचनासम्मका पक्षहरु रहेको उनको ठम्याई छ।

रंगशाला पहिला भरिभराउ भएको तर अहिले त्यस्तो नभएको भन्ने तर्क गर्नेहरु पनि छन्। त्यसखाले तर्क राजनीति प्रेरित ठान्छन् बज्राचार्य।

‘गणेश थापाले दुई चारवटा फोटो हालेर मेरो पालामा यस्तो थियो भन्ने गरेका छन्। तर, त्यतिबेला पनि मैले नै स्टोरी गरेको छु, दर्शक भएन भनेर’, बज्रचार्यले भने, ‘जस्तै मनाङ र थ्री स्टारको खेलमा यसको इतिहास बुझ्ने हो भने त्यसको रौनकता अर्कै हुन्थ्यो होला। नेपाली फुटबलको साहित्य कम भइरहेको छ। इङ्ग्ल्याण्डमा म्यानचेस्टर युनाइटेड र लिभरपुलको म्याच हुँदा सबैले हेर्छ। नेपालमा बुझाउनै सकिएको छैन।’

उनी लिग फुटबललाई परम्परा र इतिहाससँग जोडेर हेर्नुपर्ने बताउँछन्। लिगको मर्म खस्कनुको पछाडि कर्माछिरिङ शेर्पा नेतृत्वमा रहँदा गरेको रेलिगेशन बिनाको लिगलाई एउटा ‘फ्याक्टर’ मान्छन् बज्राचार्य।

‘नेपालमा रेलिगेशनबिनाको लिग पनि गराइयो। त्यसले नेपाली फुटबलमा भएको सबैभन्दा ठूलो 'ब्लन्डर' थियो’, उनले भने, ‘यसले लिगको मुल मर्ममै आघात भयो। लिगको महत्व घटाउँदै लग्यो।’

रोचक के छ भने अहिले फुटबलको रजनीति गर्नेहरु त परको कुरा नेतृत्व लिएकाहरु पनि रंगशालामा खासै देखिँदैनन्। जसले नेतृत्व लिन्छ उसले नै हेर्दैन भने दर्शक आउन् कसरी?

अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी समेत रंगशालामा नदेख्दा बज्राचार्य अचम्मित छन्। यसअघिका एन्फा नेतृत्व लिगप्रति यतिधेरै उदाशीन नभएको उनको अनुभव छ।

‘नेतृत्व तहबाटै ब्लन्डर भएपछि लिग खस्किएको हो। लिगको गणितमाथि पत्रकारको लेखाइ पनि कम भएको छ’, उनले भने, ‘फुटबलको पनि त साहित्य छ, जुन यतिखेर निक्कै कमजोर भएको छ।’

लिगमा दर्शक नआउनुका कारणलाई फुटबल संस्कृतिसँग पनि जोडेर हेर्छन् बज्राचार्य। उनी विद्यार्थी छँदा स्कुलबाट फर्किनसाथ टुँडिखेल गएर फुटबल खेल्थे। अहिले कति छन् यसरी फुटबल खेल्न पुग्ने?

काठमाडौंमा रैथाने धेरै नरहँदा अरु संस्कृतिमा जस्तै फुटबल पनि प्रभावित बनेको उनको विश्लेषण छ।

‘तेबहालकै कुरा गर्दा त्यहाँको सुद्ध रैथाने मान्छे घटे’, हिमेश तर्क गर्छन्, ‘समृद्ध इतिहास भएको आरसीटी भनौ न। असनतिर जति पनि पुराना खेलाडी थिए उनीहरु असनबाट ठाउँ सरे। सामाजिक संरचनाले पनि फुटबललाई फेवर गरिरहेको छैन।’

दर्शक नहुँदा लिग खल्लो भएको भनेर ‘ए’ डिभिजन लिगकै प्रशिक्षकहरुले पनि बताउँदै आएका छन्। थ्री स्टारसँगको पहिलो खेलपछि मछिन्द्र क्लबका प्रशिक्षक किशोर कुमार केसीले दर्शकबिनाको खेल नरमाइलो हुने सुनाएका थिए।

‘माथिल्लो स्तरको फुटबल खेल्न दर्शक चाहिन्छ। थ्रीस्टार मछिन्द्र जस्तो क्लब खेलेको छ, दर्शक छैन। यसले खेलको उर्जा कम भएको जस्तो लाग्छ। दर्शक छैनन्। क्लबले पनि नसकेकै हो,’ उनले भनेका थिए।

नेपाली लिगको स्तर किन माथि उठिरहेको छैन?

शहीद स्मारक ‘ए’ डिभिजन लिग सुरु हुने समयसम्म अघिल्लो सिजनमा लिग खेलेका र प्रभाव छाडेका तीन दर्जन हाराहारीमा खेलाडी विदेश पलायन भइसकेका थिए। लिग चलिरहँदा यो क्रम रोकिएन।

सुजल श्रेष्ठ, रजीन धिमाल, सुनिल बलजस्ता खेलाडी यही क्रममा बाहिरिए। नाम चलेका खेलाडी बाहिरिँदा लिगको स्तरलाई लिएर प्रश्न लिग सुरुहुनु पूर्व नै उठेको थियो। खेलाडी पलायनको प्रत्यक्ष दबाब लिगमा परेको छ। खेलमा विदेशी खेलाडीकै मात्र दबदबा छ।

‘लिगको स्तर विदेशी खेलाडीमै निर्भर छ, आर्मीलाई छाड्ने हो भने। पुलिसको टिम कस्तो थियो? विदेशी खेलाडी ल्याउनसाथ औशत बन्यो’, पूर्व खेलाडी शाहीले भने।

उनका अनुसार विदेशीलाई खेलाउनसाथ एउटा स्तरको टिम बन्यो। सशस्त्र प्रहरीको एपीएफले अघिल्लो सिजनको आखिरितिर विदेशी खेलाडी भित्र्याएर रेलिगेशनबाट जोगिने उपाय लिएको थियो।

मिलन हाडा विदेशी खेलाडी ल्याएर लिग गराउँदैमा फुटबलको स्तर माथि नजाने विश्लेषण गर्छन्। उनी भारतीय फुटबलको उदाहरण दिन्छन् त्यसका लागि।

इण्डियन सुपर लिग (आईएसएल)मा विदेशी खेलाडी ल्याएर खेलाए पनि लिगमा भारतीय र विदेशी खेलाडीको स्तर अलग्गै छुट्टिने गरेको उनले देखेका छन्। विदेशी खेलाडीबाट केही टेक्निकल ज्ञान लिन सके राम्रो हुने भए पनि खेलमा तात्विक प्रभाव नपर्ने उनको बुझाइ छ।

फागुन १९ गतेबाट सुरु भएको ‘ए’ डिभिजन लिग जेठको मध्य नहुँदै सकिँदैछ। अर्थात् मुस्किलले ३ महिना। फुटबलको मेरुदण्ड मानिने लिगको हालत यस्तो छ।

लिगलाई राष्ट्रिय टोली निर्माणका लागि आधारशीला मानिन्छ। तर, कर्मकाण्डी हिसाबले गरिएको लिगले आधार तयार गर्ने कुनै छनक देखाइरहेको छैन।

लिगलाई यसरी सञ्चालन गर्दा फाइदा भन्दा धेरै घाटा गरिरहेको बुझाई छ पत्रकार बज्रचार्यको।

‘अनुत्पादक भइरहेको छ। यसले राष्ट्रिय टोलीलाई फाइदा गर्नुभन्दा घाटा गरिरहेको छ’, उनले भने, ‘खेलाडीको स्वास्थ्य महत्वपूर्ण हो तर खेलाडी घाइते भइरहेका छन्। यस्तो लिगले नेपाली फुटबलमा टेवा दिँदैन।’

विदेशी खेलाडीको उपस्थितिले भने लिगलाई घाटा नगर्ने बुझाइ छ, बज्रचार्यको।

‘निश्चित ३ दर्जन जति माथिल्लो स्तरका खेलाडी बाहिर गए। जसले गर्दा समान स्तरका खेलाडी लिग खेलिरहेका छन्। त्यसले गर्दा विदेशी खेलाडीको दबदबा रह्यो’, उनले भने, ‘विदेशी खेलाडी आएर डोमिनेट गरेर खेल्यो भने नेपाली टोलीलाई घाटा छैन। इङ्ग्लिस प्रिमियर लिग हेर्‍यो भने एउटा पनि इङ्ग्लिस खेलाडी नभएको टिम छन्। सिद्धान्ततः नमिल्न सक्छ तर नेपाली खेलाडीले आफूलाई रोक्नुपर्छ।’

लिग चलिरहँदा घाइते हुने खेलाडीको सूची लामो छ। राष्ट्रिय टोलीका खेलाडी नै यस सूचीमा पर्न थालेका छन्। अनन्त तामाङ, विमल घर्ती मगर, देवेन्द्र तामाङ, एरिक बिस्ट, मणिकुमार लामा, विकास खवास नियमित मैदानमा देखिँदैन। उनीहरु चोटसँग जुधिरहेका छन्। त्यसैले सक्नकै लागि सुरु गरिएको जस्तो देखिएको लिगले थप दबाब बढाएको छ।

चापाचाप लिगले नोक्सान मात्र

प्रशिक्षक शाही छोटो समयमा हतार गरेर लिग सक्दा फाइदाको सट्टा लिगप्रति नै बितृष्णा बढ्ने विश्लेषण गर्छन्।

‘लिग थोरै समयमा हतार गरेर सकेर केही फाइदा दिँदैन। लिगमा वितृष्णा दिन्छ। खेलाडीमा इन्ज्युरी बढाउँछ’, उनले भने, ‘रेस्टबिनै खेलाउँदा खेलाडीले खेल्न सकिरहेका छैनन्। यसले राष्ट्रिय टोलीको छनोटसमेत प्रभावित हुनसक्छ।’

प्रशिक्षक हाडा पनि रिकभरीका लागि समेत समय नहुँदा खेलको स्तर नसुध्रनेमा सहमत छन्। ‘खासमा लिगले फाइदा गर्नुपर्ने हो। रिकभरी टाइमहरु मिलाउन सक्नुपर्छ। एक्पर्टिज चाहिने त्यही भएर हो’, हाडाले भने, ‘व्यवस्थापनको हतारलाई मात्र हेरेर प्रतियोगिता राख्नु हुँदैन।’

पूर्व खेलाडी शाही लिगको अन्त्यमा साफ च्याम्पियनसीप भइदिँदा ठूलो प्रभाव पर्ने बताउँछन्। भन्छन्, ‘मुख्य कुरा भनेको साफ च्याम्पियनसीप बिचमा पर्ने हुँदा एकदमै ठूलो असर पर्छ। किनभने यसपटक तयारी राम्रो हुँदैन। त्यसमाथि यसपाला त साफमा दुई बाहिरका नयाँ टोली इन्भल्भ हुँदैछन।’

साफ च्याम्पियनसीप के होला?

साफ च्याम्पियनसीपमा जानु अघि नेपाली टोलीका प्रशिक्षकले दोहोर्‍याउने कुरा हो : यस पटक हामी च्याम्पियन बन्ने छौँ। अघिल्लो पटक नेपालले फाइनल खेल्यो। दावेदार सधैँ मान्ने र परिणाम चाहिँ निकाल्न नसक्ने प्रवृत्ति नेपालको फुटबलमा डेरागरी बसेको छ।

‘नेपालले लेख्दाखेरी या सुन्दाखेरी दक्षिण एसियाका अरु देश भन्दा राम्रो या बराबरी भनिन्छ। यो सुन्दामात्र राम्रो’, बज्राचार्य भन्छन्, ‘मलाई यसमा कहिल्यै विश्वास लागेन। कहिलेकाहीँ बराबरी खेल्ने अलग कुरा हो।’

यसपाला साफ बाहिरका कुवेत र लेबनानले पनि प्रतिस्पर्धा गर्दैछन्। अर्थात् यसपाला साफ च्याम्पियनसीपमा नेपाल, भारत, भुटान, बंगलादेश, पाकिस्तान, माल्दिभ्स, कुवेत र लेबनानका खेल हेर्न पाइनेछ।

नेपाल अघिल्लो संस्करणको साफ उपविजेता हो भने भारत विजेता। आसन्न साफ च्याम्पियनसिपमा लेबनान सबैभन्दा माथिल्लो वरीयताको टोली हुनेछ।

वरीयतामा नेपालभन्दा अगाडि चार टोली छन्। जसमा ९९औँ वरीयताको लेबनान, १००औँ वरीयताको भारत, १४३औँ वरीयताको कुवेत र १५४ औँ स्थानको माल्दिभ्स। नेपाल १७४औँ स्थानमा रहँदा भुटान १८५औँ, बंगलादेश १९२औँ र पाकिस्तान १९५औँ स्थानमा छ।

यी टोलीमध्ये नेपाल कुन स्तरको?

बज्राचार्य साफमा सहभागी टोलीलाई तीन वर्गमा विभाजन गर्छन्। ‘अहिलेको साफ च्याम्पियनसीपमा सहभागी टिमलाई तीन भाग लगाउने हो भने भारत र आमन्त्रित टोलीको एक तह हुन्छ। दोस्रो तहमा बंगलादेश र माल्दिभ्स हुन्छ। हामी तेस्रो तहमा रहन्छौँ,’ बज्राचार्यले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell