काठमाडौं : भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समिति (विआरआरसी)ले नक्कली भुटानी शरणार्थी प्रकरणको स्वतन्त्र एवं निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरेको छ।
समितिका कार्यबाहक अध्यक्ष तिलक राईले आज प्रेस विज्ञप्ति जारी गर्दै वर्षौंदेखि झापा र मोरङका विभिन्न स्थानमा शरणार्थी शिविरमा कष्टकर जीवन बिताइरहेका भुटानी शरणार्थीलाई हालैका घटनाले गम्भीर असर पुर्याएको भन्दै यसको निष्पक्ष छानबिनको माग गरेका हुन्।
'यस्तो कार्यले गैर भुटानीलाई भुटानी र सक्कली भुटानीलाई गैर भुटानी बनाउनसक्ने गम्भीर आशंका पैदा गरेको छ। गैर भुटानीलाई भुटानी बनाएर पश्चिमा देश खासगरी अमेरिका लैजान ठूलो गिरोह संलग्न भएको र यसमा केही नेपाली नागरिकदेखि उच्च तहका कर्मचारी र पूर्वमन्त्रीसमेत गिरफ्तार भइसकेको घटनाप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको छ', विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा थप भनिएको छ, 'नक्कली भुटानी शरणार्थी प्रकरणले हामी शिविरमा बस्दैआएका सक्कली भुटानी अत्यन्तै दुःखित भएका छौँ।'
स्वदेश फिर्ती र परिवार मिलनको आशामा कष्टपूर्ण जीवन बिताइरहेका करिब ६ हजार ५०० को हाराहारीमा रहेका भुटानी शरणार्थी र पञ्जीकृत हुन बाँकी भुटानीको हितलाई ध्यान दिनसमेत समितिले माग गरेको छ। शरणार्थी परिचयपत्र नवीकरण गरेको आठ महिनाभन्दा बढी भइसक्दा पनि उनीहरूले नयाँ परिचयपत्र पाउन सकेका छैनन्। परिचयपत्र वितरणमा ढिलासुस्ती हुँदा सक्कली भुटानी परिचयविहीन हुने अवस्था सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ। रासस