काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत मंगलवार सम्पन्न खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र थ्री स्टार क्लब बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा आर्मी र थ्री स्टार १-१ गोलको बराबरीमा रोकिएका हुन्।
प्रतिस्पर्धात्मक बनेको पहिलो हाफको सुरुमा आर्मीले दवाब बनाएको थियो। पहिलो हाफमै थ्री स्टारका प्रशिक्षक मेघराज केसीले युवा खेलाडीहरुको स्थानमा अनुभवी खेलाडी पठाएर फर्मेसन परिवर्तन गरेपछि खेल थप प्रतिस्पर्धात्मक बनेको थियो।
खेलको ६८ औँ मिनेटमा आर्मीका गोलकिपर विकेश कुथु अगाडि बढेको मौकामा सेन्टर नजिकबाट प्रहार गर्दै लाकेन लिम्बूले थ्री स्टारलाई अग्रता दिलाएका थिए। त्यसपछि दवाब बढाएको आर्मीले ८६ औँ मिनेटमा दिनेश हेन्जनको हेडरमा गोल गर्दै खेल बराबरीमा ल्यायो।
च्यासल मैदानमा सम्पन्न खेलमा रेलिगेशन क्षेत्रमा लामो समय संघर्ष गरेको नेपाल पुलिसले अर्को विभागीय टोली एपीएफलाई १-० गोलअन्तरले हरायो। विभागीय डर्बीमा पुलिसलाई जित दिलाउन मोसेस ट्वुमले ६१ औँ मिनेटमा निर्णायक गोल गरे।
जितसँगै पुलिसले २२ अंक जोड्दै एपीएफ, हिमालयन शेर्पा र न्युरोड टिम एनआरटीसँग अंक बराबरी गरेको छ। त्यस्तै थ्री स्टारले २६ तथा आर्मीले २५ अंक जोडेका छन्।