
काठमाडौं: नेपाली कांग्रेसका दोस्रो पुस्ताका नेताहरुले कांग्रेस कोरोना संक्रमित बिरामीझैं थलिएकोले रुपान्तरण अभियान सुरु गरिएको बताएका छन्। कांग्रेस संस्थापनइतरका नेताले मंगलबार काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डबाट 'नेपाली कांग्रेसले रुपान्तरण अभियान' घोषणा गरेका हुन्।
उपनिर्वाचनमा हार ब्यहोरे पनि नेतृत्वले निर्वाचनको कुनै समीक्षा नगरेको र केन्द्रीय समिति डाक्नमासमेत अलमल गरिरहेको छ। यस्तो अवस्थामा कांग्रेस कमजोर भएकोले नयाँ कांग्रेस निर्माणका लागि रुपान्तरण अभियान सुरु गरिएको कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यले बताए।
कांग्रेसलाई कोरोनाको डेल्टा भाइरस संक्रमण
नेपाली कांग्रेस अहिले कोरोना संक्रमण भएर थलिएझैं थलिएको कांग्रेसका रुपान्तरण अभियानका नेताहरुले बताएका छन्। अभियानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'हामी राजनीतिमा नैतिक शक्तिलाई जोड्छौं। संक्षिप्तमा भन्नुपर्दा अहिलेको अवस्थामा कोरोनाको डेल्टा भइस झैं संक्रमित भएको कांग्रेसलाई रुपान्तरण गर्छौं।'
कोरोनाले झैं थलिएको कांग्रेसलाई ठिक पार्ने खोप त्यसो भए कहिले तयार हुन्छ त? प्रश्नमा आचार्यले भने, 'सुरु भइसक्यो। प्रयोगशालाबाट ल्याइसक्यो। अब परीक्षणको लागि हामी सातै प्रदेश र विश्वका साथीमाझ पठाउँदैछौं।'
पार्टी सुधारका लागि भन्दै कांग्रेसको संस्थापनइतरको वैशाख २४ गते बसेको भेलाले सातै प्रदेशमा अभियान संयोजकसमेत तोकेको थियो। संस्थापनइतरले कोशीमा गुरु घिमिरे, मधेसमा रञ्जित कर्ण, वाग्मतीमा मधु आचार्य, गण्डकीमा देवराज चालिसे, लुम्बिनीमा प्राडा गोविन्द पोखरेल, कर्णालीमा भुपेन्द्रजंग शाही र सुदूरपश्चिममा भरत खड्कालाई संयोजकको जिम्मा दिएको थियो। डायस्पोरामा सुवास लोहनीलाई संयोजक तोकिएको थियो।
मधेसबाट अभियान सुरु
सातै प्रदेशका संयोजक र नेताहरुको उपस्थितिमा घोषणा गरिएको अभियान जेठ ११ गतेबाट सुरु हुँदैछ। पहिलो कार्यक्रम मधेश प्रदेशको जनकपुरमा आयोजना हुनेछ।
त्यसपछि अभियानको दोस्रो कार्यक्रम वाग्मतीको काठमाडौंमा जेठ १६ गते हुनेछ। त्यस्तै, जेठ २० गते गण्डकीको पोखरा, लुम्बिनीको दाङमा जेठ २२ गते, कर्णालीको सुर्खेतमा जेठ २४ गते, सुदुरपश्चिमको धनगढीमा जेठ २६ गते र कोशीको इटहरीमा जेठ २९ गते आयोजना हुनेछ। विश्वभर छरिएर रहेका 'डायस्पोरा'बिच भने जेठ ३१ जुम मिटिङ हुनेछ।
चाल, चरित्र र चेहरा फेर्न अभियान
दोस्रो पुस्ताका कांग्रेस नेताहरुले पार्टी सभापति शेरबहादुर देउवाबाट अब पार्टी अघि नबढ्ने ठोकुवा गर्दै कांग्रेसको चेहरा नै फेर्नुपर्ने बताएका छन्। दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको असन्तुष्टिबाट यो प्रष्ट भइसकेको नेता गुरुराज घिमिरेले दाबी गरे।
'महामन्त्रीद्वयले जनाएको असन्तुष्टिबाट प्रष्ट हुन्छ पार्टी सुध्रिएन भन्ने,' अभियकाका कोशी संयोजकसमेत रहेका घिमिरेले भने।
देउवाको चालविरुद्ध लाग्ने बताए पनि यो अभियान कुनै व्यक्तिविरुद्ध नभएको गण्डकीका संयोजक देवराज चालिसेको दाबी रह्यो। 'एकै मान्छेका विरुद्धमा होइन यो अभियान। समग्र कांग्रेसको चालविरुद्ध हो,' चालिसेले भने।
देउवाको साथ कि शेखरको?
दोस्रो पुस्ताको नेताहरुले सुरु गरेको अभियानमा न त सभापति देउवा देखिए न त संस्थापनइतरका नेता डा शेखर कोइराला नै। अभियानमा महामन्त्रीद्वय थापा र शर्मा पनि देखिएनन्।
पार्टी रुपान्तरणको नारासहित १४औं महाधिवेशन गरिएको थियो। तर कांग्रेसमा रुपान्तरण त के केन्द्रीय समितिको बैठकसमेत समयमा हुन सकेको छैन। केन्द्रीय समितिलाई फ्रिजमा राखेपछि कांग्रेस नेताहरु असन्तुष्ट छन्। त्यसैले यस्तो अभियानको खाँचो रहेको महामन्त्रीद्वय बताउँथे। तर अभियानमा आकर्षक नेतृत्व नदेखिएपछि सञ्चारकर्मीले प्रश्न गरे - तपाईंहरुलाई कसको साथ हो? जवाफमा घिमिरेले भने, 'यस अभियानमा सभापति देउवाको पनि साथ रहन्छ र डा शेखरको पनि साथ रहन्छ।'
दुई महामन्त्रीको असन्तुष्टिबारे भने आफूहरुले जिम्म लिन नसक्ने कर्णालीमा संयोजक तोकिएका भुपेन्द्रजंग शाहीको भनाई थियो। 'महामन्त्रीका असन्तुष्टिका बारेमा उहाँहरु आफैंले भन्नुहुन्छ,' शाहीले भने।
अभियान कुनै गुटको नभई स्वतस्फुर्त भएको मधेस प्रदेशमा संयोजक तोकिएका कर्णको दाबी रह्यो। 'यो अभियान कुनै गुटको कुरा रहेन। अहिले मन्त्रिपरिषद् गठनमा समावेशी भएन। अनेक कुरा छन्। यसैका विरुद्धमा हो हामी,' कर्णले भने।
छैन घन्टीको डर
अहिले कांग्रेसका धेरैजस्तो नेताहरु राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको चर्चासमेत छ। कतिपयले रास्वपालाई 'घन्टी कांग्रेस'को आरोपसमेत लगाउने गरेको पाइन्छ। कांग्रेस नसुध्रे धेरैजसो कार्यकर्ता रास्वपा जाने चर्चा उत्तिकै छ।
घन्टीको डर कतिको छ? भनी सोध्दा केन्द्रीय सदस्य आचार्यको जवाफ थियो, 'कांग्रेसमा कांग्रेसलाई नै खराब गर्नेबाट हामीलाई डर छ। होइन भने अरु कोहीबाट डर छैन। कन्फिडेन्समाथि उठाउन सक्यौं। सदस्यता वितरण टिकट वितरणमा सुधार गरौं नेता चुन्ने पद्धातिलाई सुधार गरौं। अनुशासनको विषय घातअन्तरघातको सुधार गर्ने उपाय गरे आमजनताको साथ अहिले पनि छ।'
भ्रष्टाचारमै गठबन्धन, सरकारपिच्छे निरन्तरता
केन्द्रीय सदस्य आचार्यले अहिले निर्वाचनमा मात्र नभएर भ्रष्टाचारमा पनि गठबन्धन देखिएको बताए। नेपालीलाई भुटानी शरणार्थी बनाउने प्रकरणमा हाइप्रोफाइलका विषयमा अझ राम्रोसँग हेरिनुपर्ने उनको भनाई रह्यो।
'यो सरकाले खुट्टा नकपाओस्। यो जस्ताको तस्तै छानबिन होस्। दूधको दूध पानीको पानी होस्। साना माछा होलान् ठूला माछा होलान्। अपराधी सबैलाई सजायको दायरामा ल्याइयोस्। हाइप्रोफाइललाई अझ राम्रोसँग हेरियोस्,' आचार्यले भने, 'जिम्मेवारीमा बसेकाहरु जिम्मेवारी पूरा नगर्दा व्यवस्थामाथि दोष आउँछ। व्यवस्था खराब होइन।'
भ्रष्टाचारलाई एकपछि अर्को सरकारले पनि निरन्तरता दिएको खुलासा नक्कली शरणार्थी प्रकरणबाट खुलासा भएकोसमेत उनको दाबी रह्यो।
'धेरै गन्हाएका फाइल छन्। निर्वाचनमा मात्र हैन। सरकार बनाउनमात्र हैन। भ्रष्टाचार गर्न पनि गठबन्धन देखियो। एउटा सरकारमात्र हैन अर्को सरकार पनि मुछिएको देखिएको छ। भ्रष्टाचारको पनि निरन्तरता देखियो। बाँकी फाइल पनि खोलुन्। अपराधी कोही नउम्कुन्,' आचार्यले भने।