PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

शरणार्थी प्रकरणः बालकृष्ण खाणको बयान अन्तिम चरणमा, अब पूर्वसभासद शेर्पाको बाँकी



रासस

शरणार्थी प्रकरणः बालकृष्ण खाणको बयान अन्तिम चरणमा, अब पूर्वसभासद शेर्पाको बाँकी

काठमाडौंः सञ्चो नभएको जनाएपछि सोमबार रोकिएको पूर्वगृहमन्त्री बालकृष्ण खाणसँगको नक्कली भुटानी शरणार्थी प्रकरणका विषयको प्रारम्भिक बयान जारी राखिएको छ।

शरणार्थी प्रकरणमा सोमबार सुरु गरिएको खाणसँगको बयान सञ्चो नभएको जनाएपछि रोकिएको थियो। त्यसपछि सोमबार म्याद थपे लगत्तै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसँग बयान लिइएको थियो।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेका अनुसार अहिलेसम्म १२ जनासँग बयान लिने काम सकिएको र मंगलबार खाणसँगको बयान जारी रहेको छ। उनका अनुसार अब सोमबार पक्राउ परेका पूर्वसभासद आङटावा शेर्पासँग मात्रै बयान लिन बाँकी छ।

यसअघि आइतबार खाणका स्वकीय सचिव नरेन्द्र केसी र पूर्वगृहसचिव टेकनारायण पाण्डेसँग बयान लिएको थियो। उक्त घटनामा अहिलेसम्म खाण रायमाझी, पाण्डे र केसीसहित १४ जना पक्राउ परेका छन्। पक्राउ पुर्जी जारी भएका दुई आरोपी भने फरार छन्।

शरणार्थी प्रकरणमा जोडिएपछि प्रहरीले नेपाली पूर्वगृहमन्त्री खाण र उनका स्वकीय सचिव नरेन्द्र केसी, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई, बहालवाला सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरेको छ।

यस्तै उक्त घटनाका आरोपी काठमाडौँको टोखा बस्ने रामशरण केसी, मोरङ घर भएका गोविन्द चौधरीसहित उक्त प्रकरणका गिरोह मानिएका केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल, सागर थुलुङ पक्राउ परेका छन्। पक्राउ परेका डा राईका छोरा नीरज र शुक्रबार पक्राउ पुर्जी जारी भएका तत्कालीन गृह मन्त्री रामबहादुर थापाका छोरा प्रतीक फरार छन्।

शरणार्थी ठगी प्रकरणमा एक सय छ जना पीडितले उनीहरू विरुद्ध जाहेरी दिएका छन्। उनीहरूले कुल २३ करोड २५ लाख रुपैयाँ ठगी गरेको आरेप लगाएका छन्। घटनामा अझै धेरै पीडित भएको अनुमान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell