PahiloPost

Jan 13, 2025 | २९ पुष २०८१

नोर्बु निर्देशित ‘डाकिनी’ सीमित हलमा मात्र किन हुँदैछ रिलिज?



पहिलोपोस्ट

नोर्बु निर्देशित ‘डाकिनी’ सीमित हलमा मात्र किन हुँदैछ रिलिज?

काठमाडौं : आफूले निर्माण गरेको फिल्म धेरैभन्दा धेरै हलहरुमा रिलिज होस् भन्ने निर्माताको चाहना हुन्छ। तर, षट्कोण आर्टस्ले निर्माण गरेको ‘डाकिनी’ भने जेठ ५ गतेदेखि सीमित हलहरुमा मात्रै प्रदर्शन हुने भएको छ।

पत्रकारसँगको भेटघाट कार्यक्रममा मंगलवार फिल्मका निर्माता म्याक्स दिपेश खत्रीले आर्ट फिल्म मन पराउने दर्शकका लागि भनेर सीमित हलमा मात्र रिलिज गर्न लागेको बताए।

‘हामीले निकै मेहेनत गरेर फिल्म बनाएका छौँ। तर, हामीलाई यस फिल्मबाट कमर्सियल अपेक्षा छैन। आर्ट अनि स्लो फिल्म मन पराउनेले हेर्न पाउन् भन्ने इच्छाले यो रिलिज गर्न लागेको हौँ। आर्टलाई सेलिब्रेसन गर्नका यो फिल्म लगाउँदैछौँ,’ उनले भने।

खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे)को लेखन र निर्देशन रहेको यो फिल्म ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एण्ड मुस्टाच’ नाममा विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलमा प्रदर्शन भइसकेको छ। रिम्पोछे बौद्ध धर्मका गुरु समेत हुन्।

अर्का निर्माता रविन्द्र सिंह बानियाले फिल्म निर्माणमा साढे ९ करोड खर्च भएको बताए। गुरु रिम्पोछेका कारण पहिलोपटक बिना प्रेसर काम गर्न पाएको उनको भनाइ थियो।

‘साढे ९ करोड खर्च गर्ने हाम्रो औकात थिएन। तर, जहिलेपनि पैसाको रिस्क नलिइकन फिल्म बनाउन पाएहुन्थ्यो भन्ने लाग्थ्यो। पैसा कसरी उठाउने भन्ने कुराले धेरै कुरा कम्प्रोमाइज गर्नुपर्छ। गुरुसँग काम गर्दा बिना प्रेसर काम गर्न पायौँ। न पैसा उठाउनु पर्ने तनाव, न सुटिङ लम्बिने डर। यस फिल्ममा यसरी काम गरियो कि जुन हाम्रो लागि सिकाई भयो,’ उनले भने।

उनी यस प्रोजेक्टलाई ठूलो आशिर्वादको रुपमा लिन्छन्। भन्छन्, ‘यो प्रोजेक्टमा जोडिन पाउनु मेरो लागि ठूलो कुरा हो। उहाँ आध्यात्मिकतामा पनि गुरु र यो फिल्मको पनि गुरु हुँदा दुवै हातमा लड्डु पाएको जस्तो भयो। मेरो लागि यो फिल्म ठूलो आर्शिवाद हो। किनकी यसलाई षट्कोण आर्ट्सबाट बनाउन पाएँ।’

आम दर्शकले यो किसिमको फिल्महरु मन नपराउने हुँदा केही हलमा मात्रै फिल्म रिलिज गर्न बाध्य भएको बानियाले सुनाए।

उनले भने, ‘यस फिल्मलाई पाँच/छ हलमा मात्रै रिलिज गर्न लागेका छौँ। किनकी यो फिल्म आम नेपाली दर्शकलाई मनपर्ने टेस्टको छैन। फिल्म हेरेर दर्शक निराश नहोउन् भनेर नेपालभरि रिलिज नगरेका हौँ। तर, जति पनि समीक्षकले यस्तो फिल्म बनाउनुपर्छ भन्नुहुन्छ नि उहाँको लागि यो उत्कृष्ट फिल्म हो।’

बौद्ध धर्म ग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी (डाकिनी)का प्रशस्तै मिथक र दन्त्यकथा छन्। यो फिल्म पनि यस्तै देवीको खोजीको कथा भएको निर्माताहरुको दाबी छ।

निर्देशक रिम्पोछेको यो पाँचौँ फिल्म हो। सन् १९९९ मा उनले निर्देशन गरेको पहिलो फिल्म ‘द कप’ कान्स फिल्म फेस्टिभलमा प्रदर्शन भएको थियो।

यस फिल्मको छायाङ्कन पनौती र पाटनमा गरिएको थियो। फिल्ममा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग गरिएको छ।

फिल्मको मुख्य भूमिकामा भियतनामका छिरिङ तासी र अमेरिकाबाट आएकी तेन्जिङ कुन्सेलले अभिनय गरेका छन्। भारतमा जन्मिएका यी दुवै तिब्बती मूलका हुन्। त्यसैगरि, फिल्ममा कार्म, दिव्यदेव, रविन्द्रसिंह बानियालगायतका नेपाली कलाकारको समेत अभिनय छ।

यस फिल्मलाई ताइवानका चर्चित छायाँकार मार्क लि पिङ बिङले खिँचेका हुन्। मार्कले सन् २००० मा वङ कर वाइको फिल्म ‘इन द मुड फर लभ’का लागि कान्स फिल्म फेस्टिभलको ग्रान्ड टेक्निकल प्राइज पाएका थिए।

एकेडेमी अफ मोसन पिक्चर एन्ड साइन्सेज (ओस्कार अवार्ड)का सदस्यसमेत रहेका मार्क लीले खिचेका फिल्महरु ‘इन द मुड फर लभ’सहित ‘द असासिन’, ‘रेनोयर’, ‘नर्वेजियन उड’, ‘फ्लाइट अफ रेड बेलुन’ चर्चित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell