इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा लखनउ सुपर जायन्टसले मुम्बई इण्डियन्सलाई हराएको छ। लखनउस्थित अटल विहार वाजपेयी स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले मुम्बईमाथि ५ रनको रोमाञ्चक जित निकालेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको लखनउले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको मुम्बई ५ विकेट गुमाएर १७२ रनमा समेटियो।
लखनउका लागि मार्कस स्टोइनिसले सर्वाधिक अविजित ८९ रन बनाउँदा कप्तान क्रुणाल पाण्ड्याले ४९ तथा क्विन्टन डी ककले १६ रन बनाए। बलिङतर्फ मुम्बईका जेसन बेहरेनड्रोफले २ विकेट लिँदा पियुश चावलाले १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको मुम्बईका लागि इशान किशनले सर्वाधिक ५९ रन बनाउँदा कप्तान रोहित शर्माले ३७ रन बनाए। त्यस्तै नेहल वधेराले १६ रन बनाउँदा टिम डेभिड ३२ रनमा अविजित रहे। तर, टोलीलाई लक्ष्यसम्म पुर्याउनबाट भने चुके। बलिङतर्फ लखनउका यस ठाकुर र रवि विश्नोइले समान २ विकेट लिँदा मोसिन खानले १ विकेट लिए।
जितसँगै १३ खेलबाट १५ अंक जोडेको लखनउ तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। दोस्रो स्थानको चेन्नइ सुपर किंग्सको पनि समान १५ अंक नै छ। गुजरात टाइटन्सले भने १८ अंक जोड्दै शीर्षस्थानमा छ। उसले प्लेअफमा पनि स्थान सुरक्षित गरिसकेको छ। चेन्नइ र लखनउ पनि प्लेअफको नजिक छन्। १४ अंक जोडेको मुम्बई भने तालिकाको चौथो स्थानमा छ।