PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

भारतमा हुने साफ फुटबलमा छैन समस्या, पाकिस्तानमा हुने एसिया कप अन्यौलमा नै



पहिलोपोस्ट

भारतमा हुने साफ फुटबलमा छैन समस्या, पाकिस्तानमा हुने एसिया कप अन्यौलमा नै
Photo : Hindustan Times

काठमाडौं : नेपाली खेलकुदको दृष्टीबाट हेर्दा देशका दुई लोकप्रिय खेलका साझा प्रतिस्पर्धी हुन्: भारत र पाकिस्तान। नेपालले आगामी महिना भारतको बेङ्ग्लुरुमा साफ च्याम्पियनसीप खेल्दैछ। नेपाली फुटबल टोलीले हालसम्म उपाधि जित्न नसकेको यो प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, माल्दिभ्स, भुटान, लेबनान र कुवेतको सहभागिता रहने छ।

त्यस्तै, अघिल्लो महिना प्रिमियर कपको च्याम्पिन बन्दै नेपाली क्रिकेट टोलीले विश्व क्रिकेटकै शक्ति राष्ट्र भारत र पाकिस्तानसँग भेट निश्चित गरेको थियो। तर, पाकिस्तानमा हुने भनिएको एसिया कप क्रिकेटलाई लिएर भने खिचातानी त्यतिकै छ।

साफ च्याम्पियनसीप: पाकिस्तान पनि जानेछ भारत

भारत र पाकिस्तानबीचको परम्परागत वैमनस्यताले दक्षिण एसियाली क्षेत्र नै प्रभावित भएको छ। दक्षिण एसियाली सहयोग संगठन (सार्क) पनि यी दुई देशकै कटुतामा पिसिएको छ।

अर्को महिना बेङ्ग्लुरुमा हुने साफ च्याम्पियनसीपमा अरु ६ राष्ट्रसँगै पाकिस्तान पनि भारत जाने तयारीमा छ। भारतीय फुटबल संघ (एआईएफएफ)ले छिमेकी टिम प्रतियोगितामा सहभागी हुन आउनु सामान्य विषय भएको जनाएको छ।

'पाकिस्तान भारतमा आएर साफ च्याम्पियनसीपमा सहभागिता जनाउनुमा हामी केही समस्या देख्दैनौं,' एआईएफएफका महासचिव सहाजी प्रभाकरनले भने

साफका पछिल्ला दुई संस्करणमा फिफाको प्रतिबन्धका कारण पाकिस्तानले सहभागिता जनाएको थिएन। नयाँ दिल्लीमा आज सम्पन्न ड्र अनुसार भारत र पाकिस्तान समूह 'ए' मा छन्। नेपाल र कुवेत पनि यही समूहमा छन्।

क्रिकेटमा चाहिँ किचलो

नेपाल दोस्रो पटक एसिया कपमा छनोट भएको छ। पहिलो पटक छनोट हुँदा पनि भारत पाकिस्तानकै किचलोका कारण सहभागिता जनाउन नपाएको नेपाललाई दोस्रो पटक पनि खेल्न नपाइने हो कि भन्ने स्वभाविक चिन्ता छ।

पाकिस्तानमा क्रिकेट खेल्न आफ्नो टोलीलाई पठाउन नसक्ने हठमा भारत कायम रहँदा प्रतियोगिताको आयोजनामै अन्यौल उत्पन्न भएको छ। पाकिस्तानले प्रतियोगिता संचालनका लागि 'हाइब्रिड मोडल' भनेर छुट्टै प्रस्ताव पनि पठाएको थियो। तर, यसमा पनि भारत सहमत हुन सकेको छैन। पछिल्लो समय पाकिस्तानले दुईवटा प्रस्ताव अघि सारेको छ। पहिलो,  भारतले खेल्ने सबै खेल तटस्थ भूमिमा हुने र बाँकी खेल पाकिस्तानमा हुने। दोस्रो, प्रतियोगितालाई दुई भागमा विभाजन गर्ने। पहिलो चरणका खेलहरु (भारतबाहेकको) पाकिस्तानमा हुने र फाइनल लगायतका खेलहरु पनि तटस्थ भूमिमा नै हुने।

यद्यपि, भारतले सबै खेलहरु तटस्थ भूमिमै गराउने र यूएईमा पनि गराउन नखोजेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। यूएईमा तापक्रम धेरै भएको भन्दै श्रीलंकामा प्रतियोगिता गराउन चाहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell