PahiloPost

Jan 13, 2025 | २९ पुष २०८१

'हाइ प्रोफाइल' जोडिएको शरणार्थी प्रकरण अनुसन्धान अन्तिमतिर, को को समातिए, को को फरार?



पहिलोपोस्ट

'हाइ प्रोफाइल' जोडिएको शरणार्थी प्रकरण अनुसन्धान अन्तिमतिर, को को समातिए, को को फरार?

काठमाडौं : समय घर्किँदै जाँदा नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दा पेचिलो बन्दै गएको छ। अन्तिम समयमा हाइ प्रोफाइल व्यक्तिहरु समातिए। अर्कातिर अनुसन्धान समय कम हुँदा प्रहरीलाई थप समस्या देखिएको छ। जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीलाई फाइल बुझाउन दिएको अनौपचारिक समयको म्याद गुज्रिसकेको छ। प्रहरीले अझै अनुसन्धानको बिट भने मारिसकेको छैन। यद्यपि, अनुसन्धानका लागि समय पनि धेरै बाँकी छैन।

प्रहरीले यस प्रकरणमा समातिएकालाई संगठित अपराधमा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ। अहिलेसम्म प्रहरीले १४ जना पक्राउ गरेको छ। काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले चैत ११ गते पहिलो पटक तीन जनालाई पक्राउ गरेको थियो। संगठित अपराधका मुद्दामा प्रहरीले हिरासतमा राखेर ६० दिनसम्म अनुसन्धान गर्न पाउँछ। ६० दिनको अवधिमा प्रहरीले सरकारी वकिल कार्यालय हुँदै अदालतमा मुद्दा पुर्‍याउनुपर्छ। प्रहरीले बुझाएको राय सहितको प्रतिवेदन सरकारी वकिल कार्यालयले अनुसन्धान गर्छ।

'हाम्रोमा फाइल आएको छैन। आएपछि मात्र थप के गर्ने भन्ने छलफलपछि अगाडि बढ्ने हो, ' जिल्ला सरकारी वकिल कार्यालयमा सह न्यायाधीवक्ता अच्युतमणि न्यौपानेले भने।

प्रहरीले फाइल बुझाएपछि अनुसन्धान गरेर सरकारी वकिलले मुद्दा चल्ने वा नचल्ने भन्ने तय गर्छ। त्यस्तै, प्रहरीको अनुसन्धान चित्त नबुझेमा पुनः अनुसन्धानका लागि पठाउन सक्छ। तर, त्यसको सम्भावना कम हुँदै गएको छ। घटनामा हाइ प्रोफाइल व्यक्ति जोडिएकाले मुद्दा नचलाउँदा उठ्ने प्रश्नको सामना गर्ने अवस्थामा सुरक्षा निकाय छैन। त्यसो त प्रहरीले घटनामा अभियुक्त प्रमाणित गर्ने बलियो प्रमाण फेला पारेको बताउँदै आएको छ। त्यसैले पनि मुद्दा नचल्ने सम्भावनालाई नकार्छ।

प्रहरीले प्रतिवेदन बुझाएपछि सरकारी वकिल कार्यालयले कुन शीर्षकमा मुद्दा चलाउने भन्ने तय गर्छ। अहिलेसम्म प्रहरीको अनुसन्धान हेर्दा ठगी, संगठित अपराध, कीर्ते, राज्य विरुद्दको अपराध, मानव बेचबिखन तथा ओसारपसार, भष्टाचारदेखि सम्पति शुद्धिकरणसम्मका दर्जनौं मुद्दा आकर्षित हुने देखिन्छ। फाइल आइसकेपछि मात्रै त्यसमाथि छलफल हुने सह न्यायाधीवक्ता न्यौपानेले बताए।

'के के मुद्दा लैजाने भन्ने विषय प्रहरीले फाइल पठाएपछि अनुसन्धान गरेर भन्न सकिने अवस्था छ,' सह न्यायाधीवक्ता न्यौपानेले भने।

को को कहिले समातिए?

२०७९ चैत १२ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गर्‍यो। सार्वजनिक हुनेमा ललितपुर घर भएका ५० वर्षीय सानु भण्डारी, मोरङ पथरी शनिश्चरे घर भएका केशव प्रसाद दुलाल र ललितपुरमा बस्दै आएका ४५ वर्षीय टंककुमार गुरुङ रहेका थिए।

तीन दिनपछि अर्का एक अभियुक्तलाई पनि प्रहरीले पक्राउ गरेर सार्वजनिक गर्‍यो। उनी थिए मोरङ पथरी घर भएका ४४ वर्षीय सागर राई। राईलाई चैत १५ गते पक्राउ गरेको थियो। त्यही समूहसँग मिलेर राईले ५० जना भन्दा बढीसँग ३ करोड २४ लाख रुपैयाँ ठगी गरेको उजुरी परेपछि समातिएका थिए।

दाङ घर भएका ३३ वर्षीय सन्देश शर्मा चैत २९ गते समातेको थियो।उनीहरूले झापा, मोरङ, सुनसरी, दाङ, बाग्लुङ लगायतका मानिसलाई अमेरिका पठाउने भन्दै १० देखि ४५ लाख रुपैयाँसम्म लिएको खुलेको थियो। त्यसपछि फाइल जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको थियो।

२० दिनपछि प्रहरीले थप एक जनालाई पक्राउ गर्‍यो। त्यसपछि त यो प्रकरण एकाएक सतहमा आयो। वैशाख १९ गते तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई पक्राउ परे। त्यसपछि थप अभियुक्त खुल्दै गए। त्यसको भोलिपल्ट वैशाख २० गते सरकारका सचिव टेकबहादुर पाण्डे पनि समातिए। उप राष्ट्रपति कार्यालयमा कार्यरत सचिव पक्राउ परेपछि ठूलै तरङ्ग ल्यायो। त्यही दिन एमाले सचिव एवम् पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझी र उनको छोरा सन्दीप विरुद्ध पक्राउ पुर्जी जारी भयो।

वैशाख २० गते साँझ बुटवलबाट टोपबहादुरका छोरा समातिए। छोरा समातिएको खबर पाएका रायमाझी भने फरार रहे। वैशाख २६ गते काठमाडौंको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरी पनि समातिए। उनीहरु बिचौलियाका रुपमा काम गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ।

वैशाख २७ गते बिहानै काठमाडौंको चुच्चेपाटीबाट पूर्वगृहमन्त्री एवम् कांग्रेस नेता बालकृष्ण खाण समातिए। यसले झन् राजनितिक क्षेत्रमा उथलपुथल नै ल्यायो। खाणसँगै उनका स्वकीय सचिव नरेन्द्र केसी पनि समातिए।

११ दिन फरार रहेका टोपबहादु रायमाझी वैशाख ३१ गते काठमाडौंबाट समातिए। उनीहरु अहिले हिरासतमा छन्। कांग्रेसका पूर्वसभासद आङटावा शेर्पाले सोमबार प्रहरीमा आत्मसमर्पक्ष गरे। अहिले यस प्रकरणमा १४ जना हिरासतमा छन्। इन्द्रजित राईका छोरा नीरज र रामबहादुर थापा बालदका छोरा प्रतिक भने फरार रहेका छन् अझै।

प्रहरीले अहिले तीब्र गतिमा अनुसन्धान गरिरहेको छ। प्रहरीले अनुसन्धान टुङ्ग्याएर १/२ दिनमा नै प्रतिवेदन गराउने तयारी गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell