
काठमाडौं : बागलुङको ढोरपाटन नगरपालिका-२ बुर्तिबाङ तारीखेतमा एक व्यक्तिको शव फेला परेको छ। ढोरपाटन-६ मोराङका अन्दाजी ५५ वर्षीय चेबो अदै तारीखेतस्थित बारीमा मृतावस्थामा फेला परेका हुन्।
तारीखेत छोरीको घरमा बस्दै आएका अदै मङ्गलबार साँझ करिब ७ बजेदेखि सम्पर्कविहीन भएका थिए। साँझ नै परिवारले खोजी गरे पनि नभेटिएको तर बिहान करिब ६ बजेको समयमा घर नजिकैको बारीमा फेला पारेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजेश अधिकारीले जानकारी दिए।
अदैको मृत्यु कसरी भयो भन्ने बारेमा अहिलेसम्म यकिन नभएको र अनुसन्धान गरिरहेको अधिकारीले जानकारी दिए। शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ।