PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पर्साको गर्दौलमा अतिक्रमित जग्गा खाली गराउन प्रहरी परिचालन, स्थानीय विरोधमा उत्रिए



राधेश्याम पटेल

पर्साको गर्दौलमा अतिक्रमित जग्गा खाली गराउन प्रहरी परिचालन, स्थानीय विरोधमा उत्रिए

वीरगंज : जग्गाको विषयमा विवाद उत्पन्न भएपछि पर्साको विन्ध्यवासिनी गाउँपालिकाको गर्दौलमा तनावग्रस्त अवस्था सिर्जना भएको छ। गाउँपालिका अध्यक्ष प्रमोद तिवारीको निर्देशनमा विद्यालय र ऐलानी जग्गा खाली गराउने क्रममा तनाव सिर्जना भएको हो।

गर्दौलमा विद्यालयको जग्गा २ विघा १५ धुर र गाउँपालिकाको करिब ६२ कठ्ठा ३ धुर सार्वजनिक जग्गा अतिक्रमणको चपेटामा परेको छ। सोही जग्गा खाली गराउन कार्यपालिकाको बैठकबाट ११ महीनाअघि नै सूचना जारी भएको थियो। तर, अतिक्रमण गरि घर बनाएका गाउँलेहरुले जग्गा खाली गरेनन्।

नयाँ स्थानीय सरकार आएपछि प्रशासनको सहयोग लिएर जग्गा खाली गराउने प्रक्रिया अघि बढाइएको गाउँपालिका अध्यक्ष तिवारीले बताए।

प्रशासनको सहयोगमा डोजर लगाएर जग्गा खाली गराउन खोज्दा स्थानीय विरोधमा उत्रेका छन्।

यस विषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी दीपक गिरीले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म विभिन्न चरणमा छलफल भएको जानकारी दिए। विद्यालयको पौने तीन कट्ठा जग्गा तत्काल खाली गराउने गाउँपालिका र प्रहरी कार्यालयको निर्देशन रहेको उनले बताए।

विद्यालय र ऐलानी जग्गा अतिक्रमण गरेर घर बनाएका गाँउलेहरुले जुनसुकै अवस्थाको सामना गरेर प्रतिवादको तयारीमा रहेको चेतावनी दिएका छन्।

यता, वडा नं. २ का वडाध्यक्ष मुक्तिनारायण राउत कुर्मीले स्थानीयको भावना अनुसार वडा कार्यालयले हाल जग्गा खाली नगराउने निर्णय गरिसकेको बताएका छन्। उनले समस्या समाधान गर्न वार्ताबाट टुंगो लगाउने अडान राखेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell