PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

वीरगंज महानगरका प्रमुखले प्रदेश सरकारसँग मागे विशेष प्याकेज



पहिलोपोस्ट

वीरगंज महानगरका प्रमुखले प्रदेश सरकारसँग मागे विशेष प्याकेज

वीरगंज : वीरगंज महानगरपालिकाका प्रमुअ राजेशमान सिंहले प्रदेश सरकारसँग विशेष प्याकेजको माग गरेका छन्। बुधबार महोत्तरीको बर्दिवासमा आर्थिक मामिला मन्त्रालयले आयोजना गरेको बजेट सम्बन्धि छलफल कार्यक्रममा सिंहले मधेश प्रदेशकै एकमात्र महानगरलाई विशेष प्याकेजको उपलब्ध गराउनुपर्ने बताएका हुन्।

सिंहले नीति तथा कार्यक्रममा पनि वीरगंज महानगरका लागि विशेष प्याकेजको व्यवस्था गर्न अनुरोध गरेका थिए।

प्रदेश सरकारको नीति तथा कार्यक्रम बनाउनु पूर्व प्रदेश सरकारका अर्थमन्त्री, योजना आयोगका उपाध्यक्षका साथै सम्बद्ध मन्त्रालयका सचिवसहितका टोलीलाई वीरगंजमै आएर स्थलगत भ्रमण र अवलोकन गरिदिनका लागि पनि सिंहले निम्तो दिएका छन्।

सिंहले भने,‘एकपटक वीरगंजमै आएर स्थलगत भ्रमणका लागि आइदिन म निमन्त्रणा गर्दछु। तपाईंहरुले स्थलगत भ्रमण गरेपछि मात्रै वीरगंजका आवश्यकता के के हुन् स्पष्ट हुन्छ।  त्यसले बजेट विनियोजनमा अझ सहज हुनेछ।'

संघीय सरकारबाट देशका ६ वटा महानगरमध्ये सबै भन्दा कम बजेट वीरगंज महानगरले पाइरहेको प्रसंग सुनाउँदै सिंहले भने,‘ वीरगंज मधेशकै एकमात्र महानगर हो। त्यसका कारण प्रदेश सरकारले अपनत्व लिएर वीरगंजका लागि विशेष प्याकेजसहितको बजेट विनियोजन गर्नैपर्छ।'

वीरगंजलाई मधेश प्रदेशकै सम्मुनत र समृद्ध शहर बनाउने हो भने त्यसका लागि प्रदेश सरकारले वीरगंजमा आवश्यक पूर्वाधार निर्माणमा विशेष जोडदिनुपर्ने पनि उनले बताएका थिए।

कार्यक्रममा मधेश प्रदेश सरकारका अर्थमन्त्री सन्जय यादव, प्रदेशको योजना आयोगका उपाध्यक्ष नाथु प्रसाद चौधरी, प्रदेशसभा सदस्यहरु, विभिन्न पालिकाका प्रमुख लगायतको उपस्थिति थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell