PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

लुम्बिनीका सभामुखले चलाइरहेको गाडी दुर्घटना, सिक्ने क्रममा निवासकै पर्खालमा ठोकियो



रमेश पराजुली

लुम्बिनीका सभामुखले चलाइरहेको गाडी दुर्घटना, सिक्ने क्रममा निवासकै पर्खालमा ठोकियो

बुटवल : लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती सरकारी गाडी सिक्ने क्रममा दुर्घटनामा परेको छन्। बुटवलको रामनगरस्थित सभामुख निवासमा राखिएको लु १ झ ४५२ नम्बरको स्कर्पियो पिकअप जिप सिक्ने क्रममा निवासकै कम्पाउण्ड भित्र दुर्घटनामा परेको हो।

सभामुख निवास परिसरमै पाँच दिन पहिले भएको उक्त घटना सभामुखको सचिवालय र प्रहरीले समेत गुपचुप राखेको थियो। सभामुखको सचिवालयका एक कर्मचारीका अनुसार सभामुख आफैले सिक्ने क्रममा निवासको कम्पाउण्डको पर्खालमा गाडी ठोक्किएको थियो।

दुर्घटनाका कारण गाडीको सिसा र अगाडिको भाग क्षतिग्रस्त भएको छ।

‘सर आफैले सिक्नुभएको थियो अचानक नियन्त्रण गर्न सक्नुभएन। पर्खालमा ठोक्किँदा गाडीको अगाडिको सिसा फुटेको छ भने अगाडिको केही भाग क्षतिग्रस्त भएको छ,’ ती कर्मचारीले भने।

दुर्घटनामा परेपछि उक्त गाडीलाई मर्मतका लागि गोप्य रुपमा इटाभट्टीको एउटा ग्यारेजमा लगिएको थियो। त्यहाँबाट बुटवलकै मैनाबगरस्थित ग्यारेजमा लगिएको थियो। त्यहाँ पनि गोप्य नहुने भन्दै अहिले गाडीलाई अन्यत्रै सारिएको छ।

अहिले उक्त गाडीलाई बुटवलकै बेलवासमा रहेको भैरव अटोवर्कसपमा लगिएको प्रदेश सभा सचिवालयका मेकानिकल इन्जिजियर (प्राविधिक) सुरज ढकालले बताए।

‘घटना कसरी भयो भन्ने विषय म बाहिर भएकाले थाहा भएन। गाडीमा क्षति भएर मर्मतका लागि लगिएको छ’ उनले भने।

सभामुखको सचिवालयमा भएको गाडी दुरुपयोगको यो दोस्रो घटना हो। यसअघि पनि सभामुख सचिवालयका एकजना कर्मचारीले गाडी सिक्ने क्रममा गाडी दुर्घटनामा परेको थियो। गत वैशाख १ गते सभामुखको सचिवालयका एक कर्मचारीले सिक्दै गर्दा लु १ झ ४४७ नम्बरको टाटा स्ट्रोम जिप दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा विद्युतको एउटा पोल ढल्नुका साथै स्थानीय डिल्लीराज अर्यालको घरमा क्षति पुगेको थियो।

घरधनी अर्यालले घरमर्मतका लागि २० लाख रुपैयाँ दाबी गरेपछि विवाद उत्पन्न भएको थियो। सोही विवादका कारण हालसम्म पनि उक्त गाडी मर्मत हुन सकेको छैन। उक्त गाडीलाई वडा प्रहरी कार्यालय बुटवल रामनगरमा राखिएको छ।

* हेडलाइनमा त्रुटिबस् लुम्बिनीका सभामुख हुनुपर्नेमा मुख्यमन्त्री भएकाले गल्ती सच्याइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell