PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

करोडौंको सुन भेपमा बोकेर चिनियाँ नागरिकको भन्सार जाँचपास, डेढ महिनामा सामान फेरिएपछि समातिए नासु



सविन ढकाल

करोडौंको सुन भेपमा बोकेर चिनियाँ नागरिकको भन्सार जाँचपास, डेढ महिनामा सामान फेरिएपछि समातिए नासु
फाइल फोटो

काठमाडौंः भन्सार कार्यालयका कर्मचारीको संलग्नतामा विदेशबाट नेपालभित्र सुन तस्करी भइरहेको घटना बाहिरिएको छ। त्रिभुवन भन्सार कार्यालयका एक कर्मचारी समातिएपछि घटनाको पर्दाफास भएको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको (सिआइबी) टोलीले भन्सारका नासु रेवन्त खड्कालाई नियन्त्रणमा लिएपछि घटना बाहिरिएको थियो। त्यस्तै यस घटनामा जोडिएका अन्य तीन जनालाई पनि प्रहरीले पक्राउ गरेको सिआइबीका प्रवक्ता एसपी सञ्जयसिंह थापाले बताए।

२६ वर्षीय नासु खड्का ४ वर्ष अगाडि मात्र सेवा प्रवेश गरेका थिए। एक वर्ष अगाडि उनी भन्सार कार्यालयमा पुगेका थिए।

'घटना अनुसन्धानको क्रममा नै छ। अहिलेसम्म चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं,' एसपी थापाले भने।

पुस १० गते भन्सार कार्यालयले विदेशबाट आएको आधुनिक चुरोट (भेप) बरामद गरेको थियो। सात सय ३० पिस बरामद गरेर राखेको थियो।

'चिनियाँ नागरिकले भेप बोकेर आएपछि हामीले जफत गर्‍यो। तर त्यसपछि सामान छुटाउन असामान्य मानिसको आवतजावत देखेर शङ्का लागेको थियो,' भन्सारका एक कर्मचारीले भने।

सुन, मोबाइल लगायत जफत गरेमा त्यस्तो सामान सरकारको हुन्छ। तर धूमपानजन्य बस्तु बरामद भएको खण्डमा निश्चित प्रक्रिया पूरा गरेर नस्ट गर्नुपर्ने हुन्छ। बरामद गरेको भेपको मूल्य ७ लाखभन्दा कम नै रहेको थियो। डेढ महिनापछि स्टोरमा गएर हेर्दा सामान नै साटिएको थियो।

'हामीलाई स्टोरका कर्मचारीमाथि शङ्का लागेपछि प्रहरीलाई जानकारी दिएका हौँ,' त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण पोखरेलले भने।

तर एकाएक स्टोरमा थन्किएको भेप नै गायब भएको थियो। त्यही सामानमा अर्को उस्तै प्रकृतिको भेप ल्याएर राखिएको थियो। भेप बरामद भएदेखि नै मानिसको आवतजावतले थप शङ्का भइरहेको समयमा सामान नै परिवर्तन भएपछि घटना अनुसन्धानमा तानिएको थियो। भन्सार कार्यालयको अनुसन्धान गरेपछि घटनाको अनुसन्धान गर्ने सिआइबीलाई पत्राचार गरिएको थियो।

सिआइबीले अनुसन्धान गर्दा स्टोरमा रहेको भेप नासु खड्काले साटफेर गरेको खुलेको थियो। भेपमा सुन राखेर विदेशबाट ल्याएको खुलेको छ। सुन बजारमा लगेर बेचिएको छ। करोड रुपैयाँभन्दा बढीमा सुन बिक्री गरेको खुलेको छ।

'अहिलेसम्म न सुन न पैसा केही फेला परेको छैन। हामी थप अनुसन्धान गरिरहेका छौं,' एसपी थापाले भने।

घटनामा अरू मानिसको पनि संलग्नता हुने आशङ्कामा प्रहरीले अनुसन्धान गरिरहेको छ। सरकारले अवैध रूपमा सुन ल्याउन कडाइ गरे पनि तस्करले विभिन्न तरिकाबाट विदेशबाट विमानस्थल हुँदै नेपालमा सुन ल्याइरहेको खुलेको छ। जसमा फेरि विमानस्थलका कर्मचारीकै संलग्नता भएको खुलेको छ।

भेप लिए आउने चिनियाँ नागरिक भने कहाँ छन्? भन्ने खुलेको छैन। त्यतिखेर भेप मात्र लिएर आएकाले जफत गरेपछि भन्सार कार्यालयले उनको बारेमा खासै जानकारी राखेन। तर त्यहाँ करौडौंको सुन थियो।

विदेशबाट आएको सुन नेपाल हुँदै भारत पुग्ने गरेका छन्। पछिल्ला महिनामा भारतमा पनि यसरी अवैध तरिकाबाट आएका सुनको परिमाण बढ्दै गएको छ। गत फागुनमा भारतको राजस्व अनुसन्धान निर्देशनालय टोली (डीआरआई)ले ‘गोल्डेन डन अपरेसन’ नेपालसँग जोडेर गरेको थियो। निर्देशनालयले अप्रेसनमा १ सय १ किलो सुन बरामद गरेको थियो। जसमा ७ जना सुडानी नागरिकसहित ३ जना भारतीय नागरिक पनि पक्राउ परेका छन्। नेपालको सीमा नजिकै समातिएका उनीहरूको कनेक्सन नेपालसँग पनि देखिएको थियो।

नेपाल प्रहरीले पनि दुई सुडानी नागरिकलाई पुस ८ गते सुन सहित समातेको थियो। दुबईबाट सुन बोकेर ल्याएका मोहम्मद अहमद डाफल्ला सराफललाई पक्राउ गरेको थियो। उनी १५ दिनको पर्यटक भिसामा नेपाल आएका थिए। उनी फ्लाइ दुबई (फ्लाइट नम्बर एफ जेड ५३५) हुँदै त्रिभुवन विमानस्थल आएका थिए। उनीहरूले दुबईबाट सुन ल्याएर नेपालको विराटनगर हुँदै भारत सुन लग्ने गरेको सिआइबीको अनुसन्धानमा खुलेको थियो। पक्राउ पर्नुभन्दा अगाडि उनले विदेशबाट आएका सुडानी नागरिकलाई सुनसहित १८ पटक विमानबाट सुन लिएर गएको देखिएको छ। त्यस्तै छोटो समयमा नै उनले भारत, इजिप्ट, नेपाल र युएईलगायतका देशमा ३ सय पटकभन्दा बढी आगमन र प्रस्थान गरेको उनको राहदानीबाट खुलेको थियो।

घटनामा प्रहरीले सुडानीसँगै भारतीय नागरिकको संलग्नता भएको खुलेको थियो। तर नेपालीहरूको भने संलग्नता देखिएको थिएन।  

नासु समातिएको प्रकरण भने दुई महिना अगाडिको हो। सुडानी नेपालमा समातिनु, भारतमा १ सय किलो सुन बरामद हुनुको कनेक्सन देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell