काठमाडौं : नेपाली कांग्रेसको संस्थापनइतरका नेताहरुले मंगलबार पार्टी रुपान्तरण अभियानको सुरुवात गरे। पार्टी सुधारका लागि भन्दै संस्थापनइतरको वैशाख २४ गते बसेको भेलाले सातै प्रदेशमा अभियान संयोजकसमेत तोकेको थियो।
संस्थापनइतरले कोशीमा गुरु घिमिरे, मधेसमा रञ्जित कर्ण, वाग्मतीमा मधु आचार्य, गण्डकीमा देवराज चालिसे, लुम्बिनीमा गोविन्द पोखरेल, कर्णालीमा भुपेन्द्रजंग शाही र सुदूरपश्चिममा भरत खड्कलाई संयोजकको जिम्मा दिएको थियो।
मंगलबार यिनै नेताहरुको सहभागितामा बत्तीसपुतलीमा रहेको अनुपम फुडल्यान्डबाट रुपान्तरण अभियान घोषणा भयो। अभियान जेठ ११ गतेबाट सुरु हुँदैछ। पहिलो कार्यक्रम मधेश प्रदेशको जनकपुरमा आयोजना हुनेछ।
त्यसपछि अभियानको दोस्रो कार्यक्रम वाग्मतीको काठमाडौंमा जेठ १६ गते हुनेछ। त्यस्तै, जेठ २० गते गण्डकीको पोखरा, लुम्बिनीको दाङमा जेठ २२ गते, कर्णालीको सुर्खेतमा जेठ २४ गते, सुदुरपश्चिमको धनगढीमा जेठ २६ गते र कोशीको इटहरीमा जेठ २९ गते आयोजना हुनेछ। विश्वभर छरिएर रहेका 'डायस्पोरा'बीच भने जेठ ३१ जुम मिटिङ हुनेछ।
साथ शेखरको कि गगनको?
अभियान घोषणामा संस्थापन पक्षका नेताहरु कोही देखिएनन्। संस्थापनइतरका नेताहरु सहभागी भए पनि न त नेता डा शेखर कोइराला देखिए न त महामन्त्री गगन थापा नै। यद्यपि कार्यक्रममा शेखर र गगन निकट नेताहरु उपस्थित थिए।
घोषणा कार्यक्रममा केन्द्रीय कार्यसमितिमा भएका एकजना मात्र उपस्थित थिए। अर्का अभियानकर्ता पोखरेल देखिएनन्। गुटको नेतृत्व गर्ने नेता नदेखिएपछि अभियानमा सञ्चारकर्मीमले कसको साथ छ? भन्दै र्याखर्याख पारे।
'इस्यु र एजेन्डामा हुनुपर्छ। चुनावमा लडेपछि स्थायी गुट भइसक्यो। त्यो पछि गएर फ्युजन हुन्छ। जे हामीसँग छ त्यसैको आधारमा हामी अघि बढ्ने हो। शक्तिशाली कांग्रेस निर्माण गर्ने हो। त्योभित्र महामन्त्री पनि पर्नुहुन्छ। उपसभापति पनि पर्नुहुन्छ। यो कसको आन्दोलन हैन। सबैको आन्दोलन हो,' पहिलो डिफेन्समा उत्रिए देवराज चालिसे।
चालिसे अभियानका लागि गण्डकी संयोजक तोकिएका छन्।
गुटभन्दा पनि मित्रताको हिसाबले पार्टीलाई विधिसम्मत परिवर्तनमा लागेको भन्दै डिफेन्समा उत्रिए डायस्पोराका लागि संयोजक तोकिएका सुवास लोहनी। 'विधानमा कार्यकर्ता भनेको छ। तर हामी साथी हो। सभापति पनि साथी नै हो। हामी पेड कार्यकर्ता हैन। मित्रताको आधारमा हामी अघि बढ्ने हो,' लोहनीले भने।
यतिले पनि साथ कसको भन्ने प्रष्ट हुन नसकेपछि तपाईंहरुलाई कसको साथ हो त? सञ्चारकर्मीले पुनः प्रश्न गरे।
अभियानमा सहभागी नेताहरु साथ कसको भन्ने विषयमा खुल्नै चाहेनन्। त्यसपछि पुन प्रश्न तेर्सियो - तपाईंहरुलाई शेखर र गगनले अघोषित रुपमा परिचालन गर्नुभएको हो कि?
'भ्यालु बेस राजनीति गर्ने हो। यो कसैको समर्थन हैन। हिजो हामी अर्कै गुटमा भएकोले तपाईहरुलाई प्रश्न आउन सक्छ। पहिले अर्को गुटमा भएको भएर पार्टी बलियो बनाउने अभियानमा लाग्नै नपाउने? अर्को गुटमा भएकोलाई पनि ल्याउँछौ,' कर्णालीका संयोजक भुपेन्द्रजंग शाहीले जवाफ फर्काए।
अभियानमा सहभागी नेताहरुले रुपान्तरको नेता डा शेखर कोइरालालाई मान्दै १४औं महाधिवेशनमा सघाएका थिए। यो अभियानमा डा शेखरको समर्थन छ कि उहाँको विरोध रहन्छ? जवाफमा कोसीका संयोजक घिमिरेले भने, 'यस अभियानमा सभापति देउवाको पनि साथ रहन्छ र डा शेखरको पनि साथ रहन्छ।'
पछिल्लोपटक महामन्त्री थापा डा शेखरकै समूहको चेपुवामा परेका छन्। शेखर समूहको कार्यक्रममा थापा देखिएका पनि छैनन्। गगनले पार्टीको पछिल्लो निर्णयप्रति असन्तुष्टिसमेत जनाएका छन्। मन्त्रिपरिषद्मा आफ्नो मागको कुनै सुनुवाई नभएको भन्दै गगन डा शेखरसँगसमेत असन्तुष्ट रहेको बताइएको छ।
कांग्रेस रुपान्तरको यस अभियानमा पनि गगनको साथ नरहेको अभियानका एक नेताले बताए। 'अभियान डा शेखरकै नेतृत्वमा शुरु हुने हो,' अनौपचारिक कुराकानीका क्रममा अभियानका ती नेताले भने।
अभियानको उद्देश्य के?
अभियानले नीति/नीतिअनुरुप रणनीति, संरचनागत सुधार, चुस्तदुरुस्त संगठन, भ्रातृ संस्थाहरुको पुनर्जीवन, अवसरमा समानता, निर्वाचन प्रणालीमा परिवर्तन, भ्रष्टाचारमुक्त राजनीति, सन्तुलित विदेश नीति, अध्यात्मिक चेतसहित राजनीतिजस्तो विषय समेटिएको छ। गुटले सञ्चालन गरे पनि अभियानले गुट केन्द्रित राजनीतिको अन्त्य गर्ने विषयलाई समेत अभियानको उद्देश्यमा अटाएको छ।