इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा पञ्जाब किंग्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ। हिमाचल प्रदेश क्रिकेट स्टेडियममा सम्पन्न खेलमा दिल्लीले पञ्जावमाथि १५ रनको जित निकालेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २१३ रन बनाएको थियो। दिल्लीका लागि रिली रोसोउले सर्वाधिक अविजित ८२ रन बनाउँदा फिल साल्ट पनि २६ रनमा अविजित रहेका थिए। त्यसअघि ओपनर द्वय पृथ्बी श र डेभिड वार्नरले टोलीलाई राम्रो सुरुवात दिलाउँदै क्रमश ५४ र ४६ रन बनाएका थिए। बलिङतर्फ पञ्जावका साम करनले दुई विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको पञ्जाव ८ विकेट गुमाएर १९८ रनमा समेटियो। जसका लागि लिआम लिभिङस्टोनले सर्वाधिक ९४ रन बनाउँदा अथर्ब टाइडेले ५५ तथा प्रभशिमरन सिंहले २२ रन बनाए। बलिङतर्फ दिल्लीका इशान्त शर्मा र एनरिच नोर्कियाले समान २ विकेट लिँदा खलील अहमेद र अक्षर पटेलले समान १ विकेट लिए।
दिल्लीसँगको पराजयसँगै १३ खेलबाट १२ अंक जोडेको पञ्जावको प्लेअफको होड थप कमजोर बन्दै गएको छ। समान खेलबाट १० अंक जोडेको दिल्ली र ८ अंक जोडेको हैदराबाद भने यसअघि नै प्लेअफको सम्भावनाबाट पछि परिसकेका छन्।