PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

साफ फुटबलको अधुरो सपना : तयारीमा जुटेका बलिया प्रतिस्पर्धी छँदैछन् ‘घाइते’ नेपालीसामु चुनौती नै चुनौती



मुकुन्द घिमिरे

साफ फुटबलको अधुरो सपना : तयारीमा जुटेका बलिया प्रतिस्पर्धी छँदैछन् ‘घाइते’ नेपालीसामु चुनौती नै चुनौती

काठमाडौं : व्यवहारिक भएर हेर्दा नेपाली पुरुष फुटबलले देखेको र पुग्न चाहेको सबैभन्दा माथिल्लो स्टेज कुन हो? यसको इमान्दार जवाफ हुनसक्छ- साफ च्याम्पियनसीप।

अघिल्लो संस्करणमा फाइनल पुग्नु नै साफमा नेपालले हात पारेको माथिल्लो उपलब्धि हो। च्याम्पियन बन्न नसके पनि नेपालले दाबी गर्ने एउटा ट्याग हो :  सदाबहार दावेदार। भलै यसमा पनि सहमत या असहमत हुने प्रशस्त ठाउँ छन्।

खेलकुद पत्रकार हिमेश रत्न बज्रचार्य ‘नेपाल साफको सदबहार दावेदार हो’ भन्ने भाष्यलाई स्वीकार्न तयार छैनन्।

‘यो सुन्दामात्र राम्रो लाग्छ’, उनले भने, ‘मलाई कहिल्यै विश्वास लागेन। कहिलेकाही बराबरी खेल्ने अलग कुरा हो।’

खैर, साफ च्याम्पियनसीप सुरु हुन एक महिना चानचुन बाँकी छ। लिग चलिरहँदा साफको तयारी भने यसपटक एकदमै फित्तलो छ। अघिल्लो संस्करणमा लामै प्रशिक्षण गरेको नेपालले फाइनलको यात्रा तय गर्दै उपविजेता बन्न सकेको थियो।

साफ च्याम्पियनसीप जुन २१ देखि जुलाई ३ सम्म भारतको बेङ्ग्लुरुमा हुँदैछ। नेपालले यसपाला अघिल्लो संस्करणमा भन्दा धेरै चुनौती व्यहोर्नुपर्ने देखिन्छ।

तर किन?

यसका पछाडि नेपालको आन्तरिक र बाह्य दुई कारणलाई मुख्य मानेर विश्लेषण गर्न सकिन्छ।

बाह्य कारण

बुधवार सम्पन्न साफको ‘ड्र’ अन्तर्गत नेपाल समूह ‘ए’मा छ। यस समूहमा नेपालसहित भारत, पाकिस्तान र कुवेत छन्।

समूह ‘बी’मा लेबनान, माल्दिभ्स, बंगलादेश र भुटान छन्। यसरी हेर्दा नेपालको पहिलो खुड्किलोमा भारत, पाकिस्तान र कुवेत छन्।

समग्र साफ च्याम्पियनसीपमा ब्यहोर्ने ठूलो चुनौती भारत नै हो। अझ बंगलादेश, माल्दिभ्स थप चुनौती छँदैछन्। प्रतिबन्धबाट फर्किएको पाकिस्तानले विदेशी लिगमा खेलिरहेका बलिया खेलाडी फिर्ता बोलाउँदै टोली बलियो बनाउँदा नेपालको तयारी भने फितलो हुने देखिन्छ।

लिग सकिएर दुई हप्ता नबित्दै साफ खेल्नुपर्ने र बिचमा एउटा मैत्रीपूर्ण खेलसमेत हुँदा ‘टिम गेम’ कतिको जम्छ, त्यो हेर्न बाँकी रहनेछ।

अघिल्लो संस्करणमा साफमा किरण लिम्बू, दीप कार्की, विशाल श्रेष्ठ, दिनेश राजवंशी, सुरजज्यू ठकुरी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, नितिन थापा, विशाल राई, सुनील बल, आशिष लामा, पूजन उपरकोटी, सुमन लामा, तेज तामाङ, अन्जन विष्ट, सुजल श्रेष्ठ, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुष घलान, मनीष डाँगी, कमल थापा र रोहित चन्द नेपाली टोलीमा थिए।

यसमध्ये प्रशिक्षकले ट्याक्टिकल ट्रेनिङमा बोलाएका खेलाडीमा किरण, दीप, अनन्त, पूजन, अञ्जन, नवयुग, आयुष, मनीष र रोहितमात्र छन्। अर्थात् २३ मध्ये ९ खेलाडीमात्र टिममा छन्। बाँकी १४ खेलाडी पलायन भइसकेका छन्।

त्यसमाथि साफ क्षेत्र भन्दा बाहिर एसियाका शक्तिराष्ट्र पनि यसपाला साफ रिजन खेल्न आउँदैछन्। आसन्न साफ च्याम्पियनसीपमा लेबनान सबैभन्दा माथिल्लो वरीयताको टोली हुनेछ।

वरीयतामा नेपालभन्दा अगाडि चार टोली छन्। जसमा ९९औँ वरीयताको लेबनान, १००औँ वरीयताको भारत, १४३औँ वरीयताको कुवेत र १५४औँ स्थानको माल्दिभ्स। नेपाल १७४औँ स्थानमा रहँदा भुटान १८५औँ, बंगलादेश १९२औँ र पाकिस्तान १९५औँ स्थानमा छ।

‘बंगलादेश ४०/५० वर्षपछिको भिजन बनाएर अघि बढिसकेको छ। भारत त हामीभन्दा माथि नै भइहाल्यो। भुटानले पनि वर्कआउट गरेको छ,’ नेपालका पूर्व अन्तर्राष्ट्रिय खेलाडी राजेश शाहीले भने।

साफ च्याम्पियनसीपअघि कम्तिमा ४ हप्ताको तयारी चाहिने भारतका प्रशिक्षक इगोर इस्टिमाकले बताएका छन्। भारतले हिरो इन्टरकन्टिनेन्ट कप खेल्दैछ साफ अगाडि। मे १५ बाट भारतले ४१ जना खेलाडीलाई राखेर बन्द प्रशिक्षण सुरु गर्दैछ।

जुन ९ देखि १८ सम्म उडिसामा हुने प्रतियोगितामा ९९औँ वरीयताको लेबनान, १६४औँ स्थानको भानुआतु र १८३औँ स्थानको मंगोलियाले खेल्दैछन्। नेपालमा थ्री नेशन्स कप चल्दा भारतमा पनि थ्री नेशन्स कप चलेको थियो।

बंगलादेशले साफ च्याम्पियनसीप अगाडि जुन १५ मा कम्बोडियाको सामना गर्दैछ। जुन ३ मा लिग सकिनेछ र जुन ४ बाट क्याम्प सुरु हुनेछ। कुवेतको आगमनले थप प्रतिस्पर्धा हुने बंगलादेशको आँकलन गरेको छ। बंगलादेश कम्बोडिया जानेछ र त्यहाँबाट लगत्तै भारत पुग्ने छ।

त्यस्तै, पछिल्लो पटक माल्दिभ्स र पाकिस्तान मैत्रीपूर्ण खेल खेलेका थिए। साफलाई लक्षित गरेर यी टोलीले पनि तयारीलाई अघि बढाइसकेका छन्। पाकिस्तानले मे १३ बाट चलिरहेको राष्ट्रिय खेलकुदबाट थप खेलाडी निकाल्ने प्रयत्न गरिरहेको छ।

साथै महत्वपूर्ण पक्ष भनेको दक्षिण एसियाली अन्य टोलीले विदेशमा ठूला लिग खेलिरहेका आफ्नो देश मुल भएका उत्कृष्ट खेलाडीलाई फर्काउन हरसम्भव प्रयास गरिरहेका छन्। नेपालमा यसको अवस्था ठीक उल्टो छ।

नेपालकै प्रतिभावान खेलाडी विदेशिरहँदा विदेशमा भएका नेपाली मुलका खेलाडी सोधीखोजी गर्ने कुरा त टाढाको भइसक्यो। त्यसमाथि कानुनी रुपमा पनि नेपालमा यो जटिल छ। अब्दुल्लाह अमुताइरी प्रशिक्षक छँदा यो विषयलाई बहसमा उठाएका थिए।

साफमा केही कमजोर आँक्न सकिने भुटान अर्को समूहमा पर्दा नेपालले सँधै संघर्ष गर्दै आएको भारत र कुवेत नेपालको समूहमा छन्। पाकिस्तानलाई पछिल्लो खेलमा नेपालले घरेलु मैदानमा हराएको भए पनि साफमा पाकिस्तानसँगको इतिहास पनि नेपालको राम्रो छैन। अत: नेपालको ठूलो चुनौती पहिलो चरणमै हुने देखिन्छ।

आन्तरिक कारण

नेपालको फुटबलमा पछिल्लो समय देखिएको सबैभन्दा डरलाग्दो पक्ष हो : निराशा। सँधैजसो पहिलो रोजाइमा खेल्ने खेलाडी भटाभट विदेश पलायन भइरहँदा लिगको स्तर त खस्किएको छ नै राष्ट्रिय टोलीको सन्तुलन पनि त्यतिकै खलबलिएको छ।

त्यसैले त केही महिनाअघि नेपालले कमजोर वरीयताका भुटान र लाओसलाई बोलाएर थ्री नेशन्स कप खेल्दा स्तर छरपस्ट भएको थियो। अघिल्लो वर्षमात्र ४५ खेलाडी प्रतिबन्धमा परेपछि बामे सर्दै गरेको लाओसलाई हराउन नेपालले निक्कै संघर्ष गर्न पर्‍यो। अझ, नेपालले सदाबहार ‘डोमिनेट’ गर्ने टोली भुटानसँग समेत हार टार्न नेपालका लागि धौ धौ परेको थियो।

‘भुटान र लाओससँगका पछिल्ला खेलमा खेलाडीहरुको प्रदर्शन निकै झुर थियो’, पत्रकार बज्राचार्य भन्छन्, ‘राष्ट्रिय टोलीले गरेको खराब प्रदर्शन मध्येमा पर्छ होला। रोहितकै प्रदर्शन पनि कमजोर थियो। समस्या धेरै थियो।’

पूर्व अन्तर्राष्ट्रिय खेलाडी शाही नेपालमा भएको थ्री नेशन्स कपले नेपालको स्तर सुध्रिएको नदेखिएको तर्क गर्छन्।

‘हामीले खेलेको २/३ वटा मैत्रीपूर्ण खेल र थ्री नेशन्स कपमा हाम्रो स्तर देखिरहेको छौँ। हामीले जुन टिमसँग खेल्यौँ, त्यो स्तरमा खेलेर हाम्रो स्तरको जाँच पनि हुँदैन’, शाहीले भने, ‘प्लेइङको खेलाडी विदेशिँदा असर परेको छ। लिग सेड्युलले गर्दा महत्वपूर्ण खेलाडी घाइते भइरहेका छन्।’

त्यसमाथि यसपाला साफ क्षेत्रका मात्र नभएर दुई बलिया आमन्त्रित टोलीको चुनौती पनि थपिएको छ। तर, यो चुनौतीलाई सकारात्मक रुपले लिनुपर्ने प्रशिक्षक मिलन हाडाको बुझाइ छ।

‘आफूभन्दा माथिल्लो स्तरको टिम आउनु राम्रो हो। आफूभन्दा राम्रो आयो भनेर पछाडि हट्न त मिल्दैन’, हाडाले पहिलोपोस्टसँग भने, ‘सक्यो भने त खाडीमात्र किन युरोप तिरकै टिम ल्याए भविष्य राम्रो हुन्छ।’

बलियो टोलीसँगको प्रतिस्पर्धामा तुरुन्त उपलब्धि हात नलागे पनि दीर्घकालीन फाइदा हुने उनको तर्क छ।

‘नेपालले आफ्नो स्तर बढाउने हो भने आफूभन्दा बलियो टोलीसँग प्रतिस्पर्धा गर्नैपर्छ। आठ पास गर्ने खेलाडीले सँधै ७ कक्षासँग प्रतिस्पर्धा गरेर ९ कक्षा पढ्न सक्दैन,’ उनले प्रष्ट्याए।

खेलकुद भनेको सिकाइ भएकाले दक्षिण एसियाली प्रतिस्पर्धामा बाहिरका टोली ल्याउँदा प्रतिस्पर्धा बढ्ने र स्तर सुधार हुने उनको बुझाइ छ।

‘खेलकुद भनेको कतिपय कुरा सिक्नु पनि हो। सिक्यो भने यो पुस्ताले नसके अर्को पुस्ताले सक्छ। सधैँ एउटै स्तरमा खेलेर माथि गइँदैन,’ हाडाले भने।

+++

गत आइतवार नेपाली फुटबल टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बेर्टो एनिसले तेस्रो चरणको ट्याक्टिकल ट्रेनिङका लागि ३१ खेलाडीको नाम सार्वजनिक गरे। उनले साफ च्याम्पियनसीपका लागि बोलाएका खेलाडीमा कतिपय लिगका क्रममा चोटसँग गुज्रिरहेका छन्।

अर्कातर्फ दिन बिराएर लिग खेल्नुपर्ने चापाचापमा रहेका खेलाडीले कति कुरा ट्याक्टिकल ट्रेनिङबाट ग्रहण गर्लान्? शंका गर्नसक्ने ठाउँ प्रशस्त छन्।

उनले मछिन्द्र क्लबबाट लिग खेलिरहेका ३, सातदोबाटो युथ क्लबका २, त्रिभुवन आर्मी फुटबल क्लबका ४, थ्री स्टारका ३, जावलाखेल युथका २, मनाङ मर्स्याङदी क्लबका २, चर्च ब्वाइज क्लबका ५, संकटा क्लबका ३, फ्रेन्ड्स क्लबका १, एपीएफका ४ र नेपाल बाहिर खेलिरहेका दुई खेलाडी छानेका छन्।

उनको सूचीमा रहेका विमल घर्ती मगर, अनन्त तामाङ, देवेन्द्र तामाङ, एरिक बिस्ट, मणिकुमार लामा लगायतका खेलाडी लिगमै संघर्ष गरिरहेका छन् भने सूचीमा रहेका थप अन्य केही खेलाडी पनि चोटसँग जुद्धै लिग खेलिरहेका छन्।

‘मेरो विचारमा साफमा जानुभन्दा अघि फिट खेलाडी पाउन नै कठिन छ। भएको खेलाडी पनि माथिल्लो स्तरका नहुन सक्छन्’, बज्राचार्यले भने, ‘कोच पनि बेचैन छ भन्छन्, धेरै गुनासो छ रे! बिचमा लिग रोकौं भन्ने पनि थियो, तर सफल भएनन्।’

यसले पहिलो खेलाडी, दोस्रो लिग र तेस्रो राष्ट्रिय टोलीको तयारीमा प्रत्यक्ष प्रभाव पारिरहेको छ।

‘आजको भोलि नै खेल्नुपर्ने अवस्था छ। एकदिन बिराएर रेस्ट बिनै यसरी खेलाउँदा उनीहरुले आफूले खेल्नुपर्ने स्तरको खेल खेल्न नसक्दा राष्ट्रिय टोलीको छनोटसमेत प्रभावित हुन पुग्छ’, पूर्व अन्तर्राष्ट्रिय खेलाडी शाहीले भने, ‘अर्को मुख्य कुरा भनेको साफ च्याम्पियनसीपबिचमा पर्ने हुँदा एकदमै ठूलो असर पर्छ। किन? यसपटक तयारी राम्रो हुँदैन।’

प्रशिक्षक एनेसले नेपाल आएर लिगमा तीन कमजोरी औल्याएका थिए। जसमा लिगको चापाचाप तालिकालाई पनि उल्लेख गरेका थिए।

‘नेपालले फिजिकल कन्डिसनसँग काम गर्नुपर्ने देखिन्छ। खासगरी क्यालेन्डरमा पनि काम गर्नुपर्ने देखिन्छ’, एनेसले भनेका थिए, ‘यसमा नयाँ टिमसँग खेल्नका लागि खेलाडीलाई पर्याप्त रिकभरीको समय छैन।’

त्यसपछि प्रशिक्षक एनेसको प्रशिक्षणमा नेपालले कम वरीयताका भुटान र लाओससँग प्रधानमन्त्री कप थ्री नेशन्स कप खेल्यो। जसमा नेपाल च्याम्पियन बने पनि प्रदर्शन भने राम्रो रहन सकेन।

‘संसारमा फुटबल भइरहेको पनि हुन्छ। कोचले आफ्नो हिसाबले काम पनि गरिरहेको हुन्छ’, हाडाले भने, ‘यस्तोमा कोच कसरी अघि बढ्छन् त्यसमै भर पर्छ। यसमा कोचले अरुको सहयोग लिन सक्छ नेपालमै फुटबलमा काम गरिरहेको मानिससँग।’

भारतमा काम गरिसकेको कोच भएको हुँदा नेपालमा काम गर्न कठिन नहुने हाडाको बुझाइ छ।

शाही एन्फाले पनि बोल्ड डिसिजन गर्न नसक्दा तयारीमा प्रत्यक्ष प्रभाव परेको बताउँछन्। सबै खेलाडीको चाहना राष्ट्रिय टिमबाट खेल्नु नै हुने हुँदा राष्ट्रिय टोली प्राथमिकतामा हुनुपर्ने उनी बताउँछन्।

‘पहिलाको विदेशी कोचले बोलेपछि पूरा गराउँथ्यो। ऊसँग त्यो क्षमता थियो। अहिले चाहिँ क्लब हाबी भयो’, शाहीले भने, ‘क्लबले लिग पनि खेल्ने। खेलाडीलाई रेस्ट पनि नदिने। राष्ट्रिय टोलीको छनोटमा समेत जान नदिनेगरी हाबी भएपछि कमजोर भएको छ।’

राष्ट्रिय टोलीको तयारी नै लिगले प्रभावित गराएको सन्दर्भ राम्रो नभएको शाहीले बताए।

‘राष्ट्रिय टिमबाट खेल्न कसैले रोक्छ भने त्यो टिमको भागिदार चाहिँ गलत हो। यो त देशलाई असहयोग गरेको भयो’, शाहीले भने, ‘साफ च्याम्पियनसीप खेल्न जाँदा त यो मनाङको, थ्री स्टारको, मछिन्द्रको या चर्च ब्वाइजको भन्ने हुँदैन नि। अहिले लिगको १५/२० दिन स्टप गरेर साफको तयारी गरेको भए हुने थियो। तर, उनीहरुले आफ्नो खर्चमात्र हेरे।’

शाही क्लबले अहिले देशलाई सहयोग गर्नतिर लागेको भए साफ च्याम्पियनसीपमा पनि राम्रो नतिजा आउन सक्ने बताउँछन्। भन्छन्, ‘अब कम्बिनेसन बनाउन ठूलो चुनौती छ कोचलाई।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell