PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

‘विशेष प्रहरी’ भन्दै व्यवसायीलाई धम्क्याउने चारजना पक्राउ



रासस

‘विशेष प्रहरी’ भन्दै व्यवसायीलाई धम्क्याउने चारजना पक्राउ
प्रतीकात्मक फाइल फोटो।

चितवन : चितवनमा आफूलाई ‘विशेष प्रहरी’ भनेर परिचय पत्र देखाउँदै हिँड्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-५ का २२ वर्षीय खुमबहादुर थापा, राप्ती नगरपालिका-८ का १९ वर्षीय सच्चीन ज्ञवाली, रत्ननगर नगरपालिका-५ का २३ वर्षीय सञ्जीव कुमार मिश्र र खैरहनी नगरपालिका-१३ का २४ वर्षीय सुजन सिलवाल रहेका छन्। उनीहरुलाई खैरहनी नगरपालिका र भरतपुर महानगरपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

आफू विशेष प्रहरी भन्दै सामाजिक सञ्जालमा कुरा गर्ने तथा व्यवसायीलाई धम्क्याउने गरेको पाइएको उनले बताए। भरतपुर महानगरपालिका-१२ मालपोत चोकको प्रिन्टिङ प्रेसमा कार्यरत थापाले नक्कली विशेष प्रहरीको परिचय पत्र बनाउने गरेको खुलेको छ। उनीहरुले केन्द्रीय अनुसन्धान ब्यूरोको परिचयपत्र समेत बनाएको कार्यालयले जनाएको छ।

पक्राउ परेका चारैजनालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको एसपी कार्कीले बताए। उनीहरुलाई मुलुकी अपराध संहिताको लिखदसम्बन्धी कसुरमा म्याद थप गरिएको छ। सो मुद्दामा सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिबानाको व्यवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell